भक्तपुरमा प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको केन्द्रीय सिकाइ तथा अनुभव आदानप्रदान गोष्ठी सुरु

जनतापत्र, भक्तपुर ।
प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल (NRCTCN) को आयोजनामा केन्द्रीय स्तरको सिकाइ तथा अनुभव आदानप्रदान गोष्ठी भक्तपुरको वोडेमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीको उद्घाटन बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री थापामगरले प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई मेलमिलापसम्बन्धी तालिम आवश्यक रहेको बताउँदै, “स्वास्थ्यकर्मीहरूकै मानसिक स्वास्थ्य सुदृढ राख्न यस्ता तालिमहरू महत्वपूर्ण छन्,” भन्नुभयो । साथै, उहाँले प्रदेशभर स्वास्थ्य क्षेत्रमा भइरहेका कामबारे जानकारी दिनुभयो । उहाँले यश केन्द्रले सञ्चालन गर्दै आएको कार्यक्रम लोभलाग्दो र प्रभावकारी रहेको प्रशंसा गर्नुभयो ।

वन अभियन्ता तथा कप्सन नेपालका पूर्व अध्यक्ष भोला खतिवडाले सामुदायिक वनभित्रका समस्या समाधानका लागि केन्द्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शान्ति क्षेत्रमा केन्द्रले गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाले संस्थाको स्थापना कालदेखिको संघर्ष, विकास यात्रा र वर्तमान उपलब्धि प्रस्तुत गर्नुभयो । उहाँले सकारात्मक सोचको विकास, फाटेका मन सिउने अभियान र दिगो शान्तिको लागि संस्था निरन्तर रुपमा लागिरहेको जानकारी दिनुभयो । साथै, बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरलाई उत्कृष्ट नेतृत्वको उदाहरणका रूपमा प्रशंसा गर्दै स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै आगामी दिनमा कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो ।

संस्थाका अध्यक्ष रामेश्वर वोहराले संस्थाको सफलता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै पदाधिकारी र कर्मचारीबीचको घनिष्ठतालाई केन्द्रको विशेषता बताउनुभयो ।

भदौ १७ देखि १९ गतेसम्म सञ्चालन हुने यस गोष्ठीमा क्षेत्रगत रिपोर्टिङ, कार्यक्रमको लक्ष्य तथा वर्तमान अवस्थाको विश्लेषण, क्षमता विकासका लागि प्राविधिक अन्तरक्रिया, हाजिरी-जवाफ, फुटसल लगायतका अतिरिक्त गतिविधिहरू समावेश गरिएको वरिष्ठ कार्यक्रम अधिकृत दिपकराज भट्टले जानकारी दिनुभयो ।

१८ भाद्र २०८२, बुधबार ०४:४५