/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक ।
लिसंखुपाखर गाउँपालिकाको बुलबुले पाखा क्षेत्रमा विभिन्न उमेर समूहका मानिसहरूको चहलपहल देख्न सकिन्छ। उनीहरू न त गोठालो गर्न आएका हुन्, न घाँसदाउरा संकलनका लागि, न त रमाइलोका लागि नै। उनीहरूको उपस्थितिको एउटै उद्देश्य छ—बुलबुले चिया बगानको संरक्षण र व्यवस्थापन। गाउँपालिकाको पहलमा सुरु गरिएको यस श्रम अभियानमा गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा, वडाध्यक्षहरू, कर्मचारी तथा स्थानीय बासिन्दाहरू सक्रिय रूपमा सहभागी भएका छन्। गाउँ कार्यपालिकाले २०८२ असोज २९ गते गरेको निर्णयअनुसार चिया बगानको गोडमेल तथा संरक्षणका लागि दुई चरणमा श्रमदान गर्ने कार्यक्रम तय गरिएको थियो।

सोहीअनुसार पहिलो चरणको काम कात्तिक १३ गते र दोस्रो चरणको काम पुस ८ गते सम्पन्न गरिएको हो। यस अभियानमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका सदस्य र स्थानीय समुदायले उत्साहपूर्वक सहभागिता जनाएका छन्। गाउँपालिका अध्यक्ष राजु लामाका अनुसार यस्ता श्रम अभियानले केवल काम सम्पन्न मात्र गर्दैन, समाजमा श्रमप्रतिको सम्मान र सामूहिक भावना पनि विकास गराउँछ। उनले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अन्य क्षेत्रमा पनि निरन्तरता दिने योजना रहेको बताए। श्रम अभियान सुरु भएपछि स्थानीयवासीहरूको समेत उल्लेखनीय सहभागिता देखिएको गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामाले जानकारी दिइन्।
११ पुष २०८२, शुक्रबार ०९:३७