बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा छात्रवृत्ति वितरण

जनतापत्र,सिन्धुपाल्चोक ।
स्वर्गीय सिभिल इञ्जिनियर बिनोद नेपालको स्मृतिमा स्थापना गरिएको बिनोद नेपाल स्मृति फाउन्डेसनले सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। फाउन्डेसनले विगत पाँच वर्षदेखि शिक्षा, सामाजिक सहयोग र उत्थानका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। यसै क्रममा फाउन्डेसनले यस वर्षका लागि आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रम आज मेलम्ची नगरपालिका अन्तर्गतको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रम फाउन्डेसनका अध्यक्ष डा. गङ्गादत्त नेपालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन फाउन्डेसनका आजीवन सदस्यले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य र महत्वबारे फाउन्डेसनका सचिव रोहिणीराज नेपालले जानकारी गराउनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ, शिक्षक–शिक्षिका, अभिभावक तथा छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। आर्थिक रूपमा कमजोर तर पढाइमा अब्बल विद्यार्थीहरूलाई सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ। शिक्षा र समाज विकासमा योगदान दिने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने संस्थाले स्पष्ट पारेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, सहभागी अतिथि तथा सहयोगी सबैप्रति फाउन्डेसनले धन्यवाद व्यक्त गरेको छ।

२३ माघ २०८२, बिहीबार १८:२९