/*php the_title();*/?>
बालेन आफैँमा अनुचित लाभ नलिने भ्रष्टाचार विरोधी इमानदार पात्रका रूपमा देखिएका छन् । तर, राजनीतिमा ‘जे देखिन्छ, त्यो हुँदैन र जे हुन्छ, त्यो देखिँदैन ।’ रवि लामिछानेको महत्वाकांक्षाले उनलाई यहाँसम्म त पुर्यायो, तर सहकारी मामिलाका कानुनी झमेलाहरूले उनलाई अहिले केही असहज बनाएको छ ।

अर्जुनमोहन भट्टराई
नेपालको राजनीतिक इतिहासलाई गहिरिएर हेर्दा हरेक १०–१५ वर्षको अन्तरालमा एउटा ठुलो राजनीतिक आँधीबेहरी आउने गरेको देखिन्छ । २००७ सालको राणाशासन विरोधी आन्दोलन, २०१७ सालको प्रतिगमन, २०३६ सालको जनमत संग्रहको जग, २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना र २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनदेखि २०८२ सालको जेनजी विद्रोह यसका ज्वलन्त उदाहरणहरू हुन् । यी हरेक आन्दोलन र परिवर्तनका आफ्नै विशिष्ट आयाम, विशेषता र उपलब्धिहरू छन् । तर, विगतका परिवर्तनहरू सडक आन्दोलन र रगतको बलमा भएका थिए भने यसपटकको परिवर्तन ‘ब्यालेट’ अर्थात् मतपत्रमार्फत आएको एउटा मौन तर शक्तिशाली आँधी हो ।
यसपटकको राजनीतिक हुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य भूमिका खेलेको छ । रास्वपाको ब्यानर र युवा लहरको जगमा उदाएका नेता बालेन्द्र शाह (बालेन) आकस्मिक रूपमा आएका पात्र होइनन् । उनी निकै गहिरो तयारी, अध्ययन र उच्च आत्मबलका साथ राजनीतिक मैदानमा उत्रिएका हुन् । भलै उनीसँग देशको समग्र शासन सत्ता चलाएको दशकौँ लामो राजनीतिक अनुभव नहोला, तर स्थानीय निकायको सफल सञ्चालन र देशको एउटा ठुलो बजेटलाई सही सदुपयोग गर्ने प्रशासनिक कौशल उनीसँग छ ।
कतिपय अवस्थामा सुधारका कार्यहरू अगाडि बढाउँदा उनी ‘एक्लो बृहस्पति’ बनेका दर्जनौँ उदाहरणहरू पनि हाम्रासामु छन्, जसले उनको अडान र कार्यक्षमतालाई पुष्टि गर्दछ । बालेनसँग एउटा यस्तो समूह छ, जसमा जीवनका विभिन्न क्षेत्रमा ‘हन्डर’ खाएका, पढे–गुनेका, योजना बनाउन जान्ने र दूरगामी ‘मेनुफेस्टो’ लेख्न सक्ने विज्ञहरू छन् । यद्यपि, एउटा उखान छ – ‘धेरै सिकारी भए चरा मर्दैन ।’ सिकारीको अधिक संख्याले गर्दा कहिलेकाहीँ मुख्य लक्ष्य ओझेलमा पर्न सक्छ । यो कुरालाई बालेनले कसरी व्यवस्थापन गर्लान् र उनका आगामी प्राथमिकताहरू के होलान् ? यो अहिले निकै कुतूहलको विषय बनेको छ ।
संघीयता, संविधान र वर्तमान संकट
देश अहिले संघीयताको अभ्यासमा छ, तर यसकै कारण खर्च बढेर देश आर्थिक संकटमा परेको भन्ने तर्क गर्नेहरूको संख्या सानो छैन । अर्कोतर्फ, विद्यमान संविधान नै विकासको बाधक भएको र यसलाई परिवर्तन गर्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् । सुरुका दिनहरूमा प्रदेश संरचनालाई अस्वीकार गर्ने र प्रदेशमा उम्मेदवार समेत नउठाउने रास्वपा जस्तो पार्टीमा वरिष्ठ नेताको छवि बनाएका बालेनका लागि अबको यात्रा चुनौतीपूर्ण छ ।
युवाहरूको प्राथमिकता स्पष्ट छ, उनीहरू सुशासन चाहन्छन् । नयाँ सरकार बनेपछि कम्तीमा भ्रष्टाचार अन्त्य हुने, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार हुने र रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने आशामा युवा पुस्ता छ । तर, बाटोमा एमसीसी, एसपीपी, इन्डो–प्यासिफिक रणनीति जस्ता भू–राजनीतिक तगाराहरू छन्, जसलाई विपक्षीले हतियार बनाएर प्रहार गरिरहेका छन् ।
भू–राजनीति र वैदेशिक रणनीतिको जाल
विकासे बुद्धिजीवीहरूको एउटा तप्का एमसिसीलाई केवल एउटा वैदेशिक लगानी र साझेदारीको निरन्तरता मात्र मान्दछ । उनीहरूको तर्कमा अमेरिकाको नेपालसँगको लगानी सम्बन्ध दशकौँ पुरानो हो र बजारमा व्याप्त आशंकाहरू केवल राजनीतिक हल्ला मात्र हुन् । तर, नेपाल दुई ठुला उदीयमान शक्ति राष्ट्रहरू, चीन र भारतको बीचमा अवस्थित हुनुले यहाँ विश्वशक्ति केन्द्रहरूको चासो स्वाभाविक रूपमा बढेको छ । रणनीतिक हिसाबले नेपालको भूगोललाई चीनविरुद्ध प्रयोग गर्न वैदेशिक शक्ति केन्द्रहरू सक्रिय रहेको चर्चा बारम्बार उठ्ने गरेको छ, जसले नेपालको कूटनीतिक सन्तुलनलाई चुनौतीपूर्ण बनाएको छ ।
नेपाली राजनीतिको अर्को विडम्बना के छ भने, विशेषगरी कम्युनिस्ट विचारधारा बोक्नेहरूले जनतामा विभिन्न काल्पनिक त्रास र भ्रम सिर्जना गरेर सत्ता हत्याउने गरेको आरोप लाग्ने गर्दछ । राजनीतिमा आंशिक झूटलाई कतिपयले स्वभाव नै मान्ने गरे तापनि वामपन्थी होस् या दक्षिणपन्थी, सबै पक्षबाट हुने झूटको खेतीले अन्ततः नागरिकलाई नै भ्रमित तुल्याउँछ । यस्तो धमिलो परिवेशमा बालेनको उदयले एउटा नयाँ आशा जगाएको छ ।
नेतृत्वको द्वन्द्व र व्यक्तित्वको प्रभाव
बालेनका लागि यो बाटो सहज छैन । एकातिर रवि लामिछानेको राजनीतिक महत्वाकांक्षा र अर्कोतिर डा.स्वर्णिम वाग्ले जस्ता बौद्धिक एवं अनुभवी व्यक्तित्वहरूको योग्यतालाई सञ्चालन गरेर अगाडि बढ्नु कठिन कार्य हो । बालेन आफैँमा अनुचित लाभ नलिने भ्रष्टाचार विरोधी एक इमानदार पात्रका रूपमा देखिएका छन् । तर, राजनीतिमा ‘जे देखिन्छ, त्यो हुँदैन र जे हुन्छ, त्यो देखिँदैन ।’ रवि लामिछानेको महत्वाकांक्षाले उनलाई यहाँसम्म त पुर्यायो, तर सहकारी मामिलाका कानुनी झमेलाहरूले उनलाई अहिले केही असहज बनाएको छ ।
बालेन एक कुशल इन्जिनियर हुन् । योजना निर्माण र सहरीकरणमा उनी अब्बल छन् । तर, देश चलाउनु भनेको केवल भौतिक निर्माण मात्र होइन; यहाँ शक्ति पृथकीकरण, अदालतको मर्यादा, संसदको गरिमा र परराष्ट्र नीतिको सन्तुलन मिलाउनु पर्छ । बालेनको विशेष स्वभाव – कम बोल्ने, समयको सही प्रयोग गर्ने र इमानदार छवि नै उनको मुख्य ताकत हो । उनले हर्क साम्पाङको श्रम संस्कृति, कुलमान घिसिङको व्यवस्थापन कला, रविको साहस, ओलीको अध्ययनशीलता, प्रचण्डको नेतृत्व क्षमता, पूर्वराजा ज्ञानेन्द्रको सहनशीलता र गगन थापाको आँटबाट सकारात्मक पाठ सिकेर आफूलाई खार्न जरुरी छ ।
रणनीति, सुशासन र जनअपेक्षा
बालेनमा एउटा विशेष रणनीतिक जोश छ । उनी सम्भवतः युवा उद्यमशीलतामा बढी जोड दिनेछन् । जनताले अहिले ठुला भ्रष्टाचार काण्डहरूको छिनोफानो चाहेका छन् । यसमा बालेन अल्झिनु हुँदैन, किनकि लक्ष्यमा हिँडेको मानिसले बाटोमा भुक्ने कुकुरहरूलाई ढुंगा हानेर समय खेर फाल्दैन । धेरैले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरेर देश चलाउने तर्क गरे तापनि सक्षम नेताले प्रतिशोधभन्दा पनि प्रणाली सुधारमा ध्यान दिनुपर्छ ।
देशमा स्वास्थ्य र शिक्षाको अवस्था दयनीय छ । रास्वपाका मन्त्रीहरूको कार्यशैलीले पुराना तरिकाबाट अब काम चल्दैन भन्ने प्रष्ट पारेको छ । बालेनको प्राथमिकता सायद कुनै पुराना नेता वा समाजका दिग्गजहरूले अझै बुझ्न सकेका छैनन्, त्यसैले त उनी ‘बालेन’ बनेका हुन् । सुशासनको अर्थ जनताको कामबिना घुस र समयमै हुनु हो । तर, यो कार्यमा पुराना दलका जरा गाडिएका स्थानीय निकाय र प्रदेश संरचनाहरू बाधक बन्न सक्छन् । कतिपयले संविधान संशोधनको कुरा पनि उठाउँछन्, तर बालेन यस्ता राजनीतिक दाउपेचमा नअल्झिएर नतिजामुखी काममा लाग्नुपर्छ ।
पुस्तान्तरण र नेतृत्वको रूपान्तरण
युवा लहरको नाममा अनुभवी र ज्येष्ठ पुस्तालाई अपमान गर्नु वा गाली गर्नु घातक हुन सक्छ । ज्येष्ठ नागरिकको अनुभव र युवाको ऊर्जाको संयोजन नै सफल राष्ट्र निर्माणको आधार हो । सबै कुरा युवाको तागतले मात्र सम्भव हुँदैन, कतिपय जटिल समस्याहरू सुल्झाउन पाका पुस्ताको विवेक र धैर्य अपरिहार्य हुन्छ ।
जनताको अपेक्षा निकै उच्च भएकाले यो सरकारको आलोचना पनि तीव्र हुनेछ । विरासत गुमेका दलहरूले बालेनविरुद्ध भ्रम फैलाउन सक्छन्, तर बालेनले आफ्नो कार्यशैलीलाई अझै परिपक्व बनाउनुपर्छ । महानगर चलाउनु र देश चलाउनु फरक कुरा हो । बालेनले विज्ञ सल्लाहकारहरू त राख्लान्, तर सल्लाहकारले धोका दिन सक्ने जोखिमलाई बुझेर उनी आफैँ पनि सच्चिन र सुध्रिन तयार हुनुपर्छ ।
अग्निपरीक्षाको घडी
अन्ततः यो सरकारको वास्तविक परीक्षा सहकारी समस्याको समाधानबाट सुरु हुनेछ । यसले एकातिर रवि लामिछानेलाई सहज बनाउनेछ भने अर्कोतिर लाखौँ पीडित बचतकर्तालाई न्याय दिनेछ । यसका लागि अदालत, कर्मचारी र प्रहरीलाई विश्वासमा लिनुपर्छ, जो कतिपय अवस्थामा व्यक्तिगत स्वार्थमा लिप्त देखिन्छन् ।
सरकारको अर्को ठुलो परीक्षा बजार भाउ नियन्त्रण हो । नुनदेखि सुनसम्म आयात हुने देशमा महँगी घटाउनु कठिन छ, तर नीतिगत छिद्रहरू टाल्न सकेमा केही राहत मिल्न सक्छ । व्यापारी र चन्दादाताको दबाबलाई पन्छाएर बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ । युवाको सरकार मुखले भनेर मात्र हुँदैन, व्यवहारमा देखिनु पर्छ । भड्किलो र विलासी जीवनशैली त्यागेर जनताको दुःखमा सारथि बन्नु नै आजको मुख्य आवश्यकता हो । बालेनको नवीन सोच र प्रविधिको प्रयोगले यदि स्वास्थ्य, शिक्षा र रोजगारीमा सुधार ल्याउन सक्यो भने मात्र यो परिवर्तनको अर्थ रहनेछ । (सौर्यअनलाइनबाट साभार)
९ चैत्र २०८२, सोमबार १०:१७