/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
बालबालिकाको संरक्षण र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले दुई दिने तालिम सम्पन्न गरेको छ। समापन कार्यक्रममा उपप्रमुख उमा प्रधानले विद्यालयमा गुनासो पेटिका राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार बालबालिकाले आफ्ना कुरा सहज ढंगले राख्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ। साथै गुनासोलाई समयमै सम्बोधन गर्ने प्रक्रियामा विद्यालय सक्रिय हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। सहभागी शिक्षकहरूले तालिम छोटो भए पनि सिकाइ उपयोगी भएको बताएका छन्। उनीहरूले सिकेका विषयलाई विद्यालय तहमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले अघिल्ला तालिमहरूको प्रभाव मूल्याङ्कनसमेत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयमा बाल संरक्षणसम्बन्धी नीति र त्यसको कार्यान्वयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने कुरामा छलफल गरिएको थियो।
तालिममा मेलम्चीका १८ जना शिक्षक सहभागी थिए। कार्यक्रमको सहजीकरण संस्थाकी सेफगर्ड अफिसर लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो भने शिक्षा शाखाका श्रोत विज्ञ योगबहादुर थापा लगायत सरोकारवाला उपस्थित थिए।
५ भाद्र २०८२, बिहीबार १३:२९