/*php the_title();*/?>

जनतापत्र, भोटेकोशी ।
गत असार २४ र साउन १४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। सडक विभाग र रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त पहलमा मर्मत कार्य सम्पन्न गरेका हुन्। टिमुरेभन्दा माथि पहरो काट्न नसकिएकाले भोटेकोसी किनार हुँदै अस्थायी रूपमा सवारीसाधन चलाइने व्यवस्था मिलाइएको छ। पानीको बहाव नबढेसम्म हिउँदयामभर यातायात सहज हुने जनाइएको छ।
यसैबीच गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङमा रहेको पक्की पुलको पर्खाल निरन्तर वर्षाका कारण जोखिममा परेको छ। पुलको जग सुरक्षित राख्न संरक्षण कार्य अघि बढाइएको गल्छी–मैलुङ–रसुवागढी सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिएका छन्। उता, असार २४ को बाढीले बगाएको नेपाल–चीन मितेरी पुल पुनःनिर्माणका लागि चिनियाँ पक्षले बेलीब्रिज जडानको काम गरिरहेको छ। सो पुल बगाउँदा रसुवा भन्सारमा साढे सात अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सानी भइसकेको भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले बताएका छन्। सडक सञ्चालनमा आए पनि पुल तथा संरचना जोखिमपूर्ण भएकाले बाढीग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनःनिर्माणमा अन्योल देखिएको छ।
५ आश्विन २०८२, आईतवार ११:४७