बलेफी गाउँपालिकाद्वारा भूमिकर दरमा ठूलो कटौती

जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले किसान तथा आम नागरिकको गुनासोलाई मध्यनजर गर्दै भूमिकर दर उल्लेख्य रूपमा घटाएको छ । गाउँकार्यपालिकाको १८औँ अधिवेशनबाट पारित निर्णयअनुसार अब बलेफी गाउँपालिकाभित्रका किसानले प्रति रोपनी २० रुपैयाँ मात्र भूमिकर तिर्नुपर्नेछ। यसअघि प्रति रोपनी १०० रुपैयाँ असुलिँदै आएको थियो, जुन नागरिकले अत्यधिक र व्यवहारिक नभएको भन्दै निरन्तर असन्तुष्टि जनाउँदै आएका थिए ।


गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङका अनुसार नागरिकबाट आएका सुझाव र गुनासोका आधारमा कर दर पुनरावलोकन गरिएको हो। उनले स्थानीय तह जनताको नजिकको सरकार भएकाले कर प्रणाली नागरिकमैत्री, न्यायोचित र व्यवहारिक हुनुपर्ने धारणा राखे।
भूमिकर घटाउने निर्णय गाउँसभाको १७औँ अधिवेशनमा प्रस्तुत विनियोजन विधेयक २०८२ माथि छलफलका क्रममा आएको संशोधन प्रस्तावमार्फत अघि बढाइएको थियो। छलफलमा उठेका सुझाव, प्रतिवेदन र प्रस्तावहरूमाथि व्यापक बहसपछि सर्वसम्मत रूपमा कर घटाउने निर्णय गरिएको जनाइएको छ।


अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका तथा गाउँसभा सदस्यहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा भूमि कर दर अव्यवहारिक भएको विषयमा जनप्रतिनिधिहरूबीच साझा बुझाइ बनेको सहभागीहरूले बताएका छन्।

गाउँपालिकाले आगामी दिनमा स्थानीय कर संरचनाको समग्र समीक्षा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ संविधानपछि दोस्रो पटक निर्वाचित स्थानीय तहको यो कार्यकालमा अझै एकपटक बजेट प्रस्तुत हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

१ माघ २०८२, बुधबार १९:२२