बलेफि माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव तथा अभिभावक भेला

जनतापत्र , सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष यादव ठकुरीको विशेष आतिथ्यमा श्री बलेफी माध्यमिक विद्यालय, बलेफी–५, बलेफीको ७७औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा बलेफी–५ का वडा सदस्य नारायण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, विद्यालयका जग्गादाताहरू, अभिभावक र स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तामाङले विद्यालयको शैक्षिक उन्नयनमा स्थानीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। विशेष अतिथि वडा अध्यक्ष ठकुरीले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा वडा कार्यालयले सक्दो सहयोग गर्ने धारणा राखे।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत, नाटक तथा सिर्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले उपस्थित अतिथिहरू र अभिभावकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। साथै, विद्यालयको शैक्षिक प्रगति, उपलब्धि र आगामी योजनाबारे जानकारी गराइएको थियो।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो। समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रम २ पुस २०८२ मा सम्पन्न भएको हो।

२ पुष २०८२, बुधबार १६:०६