प्रेस सेन्टर सिन्धुपाल्चोकद्वारा १० बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

जनतापत्र,चौतारा  ।

प्रेस सेन्टर सिन्धुपाल्चोकले पत्रकारका हकहितका लागि १० बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
आईतबार मध्यान्ह केन्द्रको कार्यक्रमअनुसार बुझाइएको ज्ञापनपत्रमा पत्रकार सुरक्षादेखि न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्मका विषय उठाइएका छन्।
प्रेस सेन्टरका प्रतिनिधिमण्डलले सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकार कृष्ण सेन ’इच्छुक’ लगायतको हत्या र बेपत्ता प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो।
एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न पनि जोडदार आग्रह गरिएको छ।
सञ्चारमैत्री कानुन निर्माण, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक लागू, पत्रकार प्रशिक्षण प्रतिष्ठान गठन र पत्रकार वृत्ति कोषको पहुँच सहज बनाउन समेत ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ। कार्यक्रममा पत्रकार महासंघ सिन्धुपाल्चोकका पदाधिकारी, प्रेस सेन्टरका प्रतिनिधिहरू र सञ्चारकर्मीको उपस्थिति थियो।

२८ बैशाख २०८२, आईतवार १७:४९