/*php the_title();*/?>


जनतापत्र, काठमाडौ – प्रेस चौतारी नेपालका पदाधिकारीहरू तथा नेताहरूको टोलीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त भेटमा संगठनका गतिविधि, आगामी योजना, राष्ट्रिय राजनीति र सामाजिक कार्यबारे गहन छलफल गरिएको थियो।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा गएको टोलीले संगठनको वर्तमान अवस्था, सञ्चारकर्मीहरूको क्षमता विकास तथा प्रशिक्षण कार्यक्रमबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। अध्यक्ष पाण्डेका अनुसार, “हामी निर्वाचित भएर आएपछि २०८२ साललाई प्रशिक्षण वर्षको रूपमा मनाउने निर्णय गरेका छौं र जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौं। यसबाट व्यवसायिक र प्रतिबद्ध सदस्य उत्पादन गर्ने लक्ष्य राखिएको छ।”
भेटका क्रममा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जेठ १५ लाई सरकारी मात्र नभई जनस्तरसम्म भव्यरूपमा मनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चारको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रेस चौतारी नेपाललाई डिजिटल मिडियादेखि आम सञ्चारमाध्यमहरूमा गणतन्त्रका मूल्य र मान्यताहरू प्रचारप्रसार गर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्रीले राष्ट्र र जनताप्रति उत्तरदायी पत्रकारिता विकास गर्न संगठनले थप योगदान दिनुपर्नेमा पनि जोड दिनुभयो। उहाँले देशभक्तिपूर्ण, वस्तुनिष्ठ र पेशागत पत्रकारिता आवश्यक रहेको बताए।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेले प्रथम महिला राधिका शाक्यलाई संगठनको तर्फबाट सम्मानस्वरूप फ्रेम गरिएको फोटो प्रदान गर्नुभयो।
यस भेटवार्तालाई संगठन र सरकारबीचको सकारात्मक समन्वयका रूपमा लिइएको छ ।
१३ जेष्ठ २०८२, सोमबार ०७:३३