प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको गोष्ठीमा दुई मन्त्रीको सम्बोधन

टीका सुवेदी, भक्तपुर-

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले आयोजना गरेको केन्द्रीय स्तरको सिकाइ तथा अनुभव आदानप्रदान गोष्ठी भक्तपुरमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको यो गोष्ठीमा बागमती प्रदेशका दुई मन्त्रीले सम्बोधन गरेका छन्। गोष्ठीको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले गरे भने समापन वन तथा वातावरण मन्त्री भरत केसीले गरे ।


उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री थापामगरले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालसँग सहकार्य गर्न आफू र आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य सुदृढ राख्न मेलमिलापसम्बन्धी तालिमको आवश्यकता रहेको उल्लेख गरे। “स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य बलियो बनाउन यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्छन्,” उनले भने। साथै, उनले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा भइरहेका सुधार र गतिविधिबारे जानकारी दिए। केन्द्रले सञ्चालन गर्दै आएका कार्यक्रमहरू प्रभावकारी र प्रेरणादायी रहेको भन्दै उनले प्रशंसा गरे। उनले भने, “यो केन्द्रको कार्यशैली र दृष्टिकोण लोभलाग्दो छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याएको छ।”

त्यसैगरी, समापन समारोहमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले वन क्षेत्रमा देखिएका विवाद समाधानका लागि केन्द्रसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले वन क्षेत्रको दिगो उपयोग र संरक्षणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताए। “सरकार वन तथा वातावरण क्षेत्रमा सुधार गर्न चाहन्छ, र यसका लागि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको विशेषज्ञता र भिजनको आवश्यकता छ,” उनले भने। उनले वन क्षेत्रको विकास र संरक्षणमा सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। साथै, उनले प्राकृतिक स्रोतको उपयोग र संरक्षणमा स्थानीय समुदायको सहभागिता र सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले संस्थाको स्थापनाकालदेखिको यात्रा, चुनौती, उपलब्धि र भावी योजनाबारे प्रस्तुति दिए। उनले सकारात्मक सोचको विकास, सामाजिक मेलमिलाप र दिगो शान्तिका लागि केन्द्रले निरन्तर काम गरिरहेको बताए। “हामी फाटेका मनहरू जोड्ने र शान्तिको आधार तयार गर्ने अभियानमा छौँ,” उनले भने। उनले दुवै मन्त्रीहरूको सकारात्मक पहल र सहयोगप्रति धन्यवाद व्यक्त गरे। थापाले केन्द्रले विभिन्न समुदाय र सरकारी निकायसँग सहकार्य गर्दै सामाजिक सद्भाव सहितको मेलमिलाप र दिगो विकासका लागि काम गरिरहेको उल्लेख गरे।


गोष्ठीको अन्त्यमा केन्द्रको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। नारायण खपाङ्गीको अध्यक्षतामा गठित कार्यसमितिमा उपाध्यक्षमा सरस्वती जोशी, सचिवमा गीता बिसुन्खे, कोषाध्यक्षमा कमला पोख्रेल र सदस्यमा नरेन्द्र तामाङ थिङ्गलगायत चुनिएका छन्। यो नयाँ कार्यसमितिले केन्द्रको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

२१ भाद्र २०८२, शनिबार ०८:०८