/*php the_title();*/?>
टीका सुवेदी, सिन्धुपाल्चोक ।
चुनावी प्रचार–प्रसारको समयसीमा सकिन लाग्दा सिन्धुपाल्चोकका दुवै प्रतिनिधि सभा क्षेत्रमा राजनीतिक गतिविधि उल्लेखनीय रूपमा बढेको छ। बजार क्षेत्र, राजमार्ग आसपासका बस्ती तथा ग्रामीण इलाकामा उम्मेदवारहरू घरदैलो, मोटरसाइकल ¥याली र भेटघाट कार्यक्रममा सक्रिय देखिएका छन्। अन्तिम दिन नजिकिँदै जाँदा मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न दलहरूले विशेष जोड दिएका छन्।
प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा आइतबार विभिन्न दलले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुकुटेबाट सुरु गरेको मोटरसाइकल ¥याली बलेफी, खाडिचौर र लामोसाँघु हुँदै बाह्रबिसेसम्म पुगेको थियो। ¥यालीमा सहभागी नेता–कार्यकर्ताले नाराबाजीसहित बजार क्षेत्रमा उपस्थिति जनाएका थिए। त्यसक्रममा उम्मेदवारले स्थानीय व्यापारी, सर्वसाधारण र युवासँग संवाद गर्दै मत मागेका थिए।




उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारले बाह्रबिसेबाट ¥याली सुरु गरी सुकुटेसम्म घरदैलो अभियान सञ्चालन गरे। समर्थकहरूको सहभागितामा भएको कार्यक्रममा मतदातासँग सुझाव संकलन तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। बाह्रबिसे बजार दुवै पक्षका लागि रणनीतिक महत्व राख्ने क्षेत्रका रूपमा देखिएको छ, जहाँ विगतका निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदै आएको छ।
केही समय मुख्य सडक क्षेत्रमा ¥याली केन्द्रित गतिविधिका कारण यातायातमा सामान्य प्रभाव परेको स्थानीयले बताएका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही क्षेत्रमा कार्यक्रम गर्दै चुनावी माहोल तताएको थियो। यसले क्षेत्र नम्बर–१ मा बहुपक्षीय प्रतिस्पर्धा हुने संकेत दिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका थिए। यसपटक भने गठबन्धनको स्वरूप फेरिएको र विभिन्न दलले आ–आफ्नो बलियो उपस्थितिको दाबी गरिरहेकाले प्रतिस्पर्धा अझ रोचक बनेको विश्लेषकहरूको भनाइ छ। उम्मेदवारहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र सडक विस्तारलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्।
यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा पनि चुनावी गतिविधि तीव्र बनेको छ। सदरमुकाम चौतारामा आइतबार विभिन्न दलले ¥याली र भेटघाट कार्यक्रम आयोजना गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारले सयौँ सवारी साधनसहित वृहत् ¥याली निकाल्दै समर्थकहरूलाई सम्बोधन गरेका थिए। कार्यक्रममा विकास, सुशासन र सेवा प्रवाह सुधारका प्रतिबद्धता व्यक्त गरिएको थियो।



त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले चौतारामा मतदातासँग भेटघाट गर्दै घरदैलो अभियान सञ्चालन गरेका छन्। स्थानीय तह, किसान, महिला समूह र युवासँग प्रत्यक्ष संवाद गरी सुझाव लिने क्रम जारी रहेको बताइएको छ। अन्य दलका उम्मेदवारहरू पनि आ–आफ्ना कार्यक्रममार्फत मतदातासम्म पुगिरहेका छन्।
चौतारामा आयोजित कार्यक्रमका क्रममा बजार क्षेत्र केही समय व्यस्त देखिएको थियो। चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा राजनीतिक छलफल, चिया पसलमा बहस र सामाजिक सञ्जालमा प्रचार सामग्रीको आदान–प्रदान बढेको छ। मतदाताहरूले विकासका एजेन्डा, उम्मेदवारको व्यक्तिगत छवि र विगतका कामलाई आधार मानेर निर्णय गर्ने बताएका छन्।
सिन्धुपाल्चोक भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्ला भएकाले सडक, पुल, स्वास्थ्य संस्था र रोजगारीका अवसरलाई मुख्य मुद्दाका रूपमा उठाइएको छ। विशेषगरी युवाहरू रोजगारी र सीप विकासका कार्यक्रममा चासो देखाइरहेका छन् भने किसान समुदायले कृषि बजार, सिँचाइ र अनुदान नीतिलाई प्राथमिकतामा राखेका छन्।
चुनावी प्रचारको अन्तिम चरणमा सबै दलले आ–आफ्नो शक्ति र संगठनात्मक क्षमता प्रदर्शन गर्दै मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेका छन्। क्षेत्र नम्बर–१ र २ दुवैमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको छ। अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहने भए पनि अहिलेको सक्रियताले चुनावी माहोल उत्साहपूर्ण र प्रतिस्पर्धात्मक बनेको देखिन्छ।
१८ फाल्गुन २०८२, सोमबार ०७:४७