
जनतापत्र,सिन्धुपाल्चोक ।
पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सभा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा समग्र पोषण सुधारमा स्थानीय तहको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। कार्यक्रमको गाउँपालिकाका अध्यक्षता वडा नं। ७ का वडा अध्यक्ष ईश्वर तिमिल्सिनाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना रहनुभएको थियो भने गाउँपालिका उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यसैगरी कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पोषणमैत्री स्वास्थ्य सेवा विस्तार, सुरक्षित तथा संस्थागत सुत्केरीको सुनिश्चितता, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, पोषण सुधार तथा जनचेतना अभिवृद्धिका विषयमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो। साथै स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सबै सरोकारवालाहरूबीच सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइयो। कार्यक्रममा गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै पोषणमैत्री अभ्यासलाई दिगो रूपमा अघि बढाउन महत्वपूर्ण प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।
१६ चैत्र २०८२, सोमबार २१:२८