/*php the_title();*/?>
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि पोखरामा अब देखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु २४ सैं घण्टा खुल्ने भएका छन् ।
पोखरालाई आइतबार नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने जानकारी दिए ।
उनले राउन्ड फेवा, भ्यु फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । मुख्यमन्त्री पाण्डेले बेगनास तालमा ‘क्रुज सिप’ सञ्चालनको घोषणासमेत गरे । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत् ध्यान केन्द्रका रुपमा एउटा ध्यान केन्द्र निर्माणको घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म ‘सटल बस’ सेवा सञ्चालन गर्ने पनि उनको भनाइ छ ।
‘आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुनेछन् । साथै डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘राउन्ड फेवा, भ्यु फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौं ।’
उनले पोखरामा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको औंल्याए ।
४ चैत्र २०८०, आईतवार १५:३०