/*php the_title();*/?>
रेणु सिंह
“नारी“ शब्द आफैमा अहम् छ भने पाठेघरले अझ विशेष किसिमको कार्याभार अँगालेको छ। जस्ले गर्दा सृष्टि चलेको छ। मैले सहर देखि गाउँ सम्म स्वास्थ्य सेवा प्रवाह गर्दै गर्दा हरेक नारीका पीडा बुझ्ने अवसर पाएँ। यो सेवा प्रवाहको क्रममा कति पय दिदीबहिनीहरु तथा आमाहरुको समस्या खोतल्दै जादा यस्तो लाग्छ हैन हामी अझै कुन युगमा छौं ? कतिपयले त आफ्नो समस्या सके सम्म लुकाउन खोज्नु हुन्छ भने केही दिदीबहिनीले भने आफ्नो यौन तथा प्रजनन स्वास्थ्य प्रती चासो देखाएको देख्दा खुशी पनि लाग्छ।
हाम्रो जस्तो बिकासोन्मुख देशमा धेरै कुराहरू मात्र भाषणमै सिमित छन् भने केही कार्यहरु काठ्माण्डौ जस्ता ठूला सहरहरुमा तिन देखी पाँच तारे होटेलहरुमा गोष्ठी र अभिमुखिकरण भन्दै अगुवा भनाउदाहरुले आ–आफ्नो जिबिकोपार्जन गरेर बसेका छन् तर सेवा वास्तविक पुग्नु पर्ने ठाउँमा, वास्तवमै खाँचो परेको महिलाहरुमा पुग्न सकेको छैन। मैले दुर्गम क्षेत्रमा सेवा प्रबाह गर्दै गर्दा केही अविस्मरणीय क्षणहरु छन् जुन जस्ताको तस्तै राख्न खोजेकी छु।
धेरै जसो महिला दिदिबहिनी तथा आमाहरूको गुनासो मध्य एक जना आमाले गरेको गुनासो जस्ताको तस्तैः
मलाई एकजना आमाले मलिन अनुहार लगाउँदै भन्नू भयो, म्याडम एक्छिन यता आउनुहोस् न मेरो समस्या थियो कसरी भनु तपाईंलाई। मैले आमालाइ सहज गर्दै भने
आमा म हजुरहरुकै समस्या सुन्न भनेर आएको हो। यस्मा कुनै संका छैन कि तपाइको समस्या म भन्दा बाहिर जाने छ।
बल्ल उहाँले भन्नु भयो मेरो बच्चादानी (पाठेघर) बेला बेलामा बाहिर आएको महसुस हुन्छ नानी, यो हुन लागेको धेरै बर्ष भैसक्यो, मैले कसैलाई पनि भन्न सकेको छैन। तर तपाइँ संग भन्न खासै गारो हुन्छ जस्तो लागेन त्यसैले भनेको नानी।
मेरो प्रश्न– आमा हजुरले कति जना बाच्चा जन्माउनु भयो?
आमाले हत्तपत्त भन्नू भयो, उतिबेलामा बा –आमाले १२ बर्षको उमेरमा बिहे गरेर पठाइ दिनुभएको अहिले म उमेरले तीन बिसै १२ बर्षकि भैसके नानी। जम्मा १० जना बच्चा जन्मेका हुन् अहिले ६ जना मात्र छन् अरु ४ जना जन्मे पछि मरे। उतिबेला पेट भरी टन्नै खान पाइएन, बच्चा जन्मेको ६ दिन पछि त काम गर्न जान्थे। खेत, मेला पाखा जाँदा समेत रगत बगिराक्थ्यो, ६ जना बच्चा जन्मे पछि आङ खसेको महसुस गरेको हो। अझ बच्चा जन्मिन नपाउदै पनि ३ वटा त खेर गए , आखिरमा अहिले एक्लै बस्न परेको छ नानी सानो धोका पाइएन ( आमाले आँसु टिल्पिल गर्दै भन्नू भयो)
जाँच गरेपछि मैले भने आमा हजुरको पाठेघर खसेको छ। अब उपचार गर्न पर्छ।
उपचार त गर्न हुन्थ्यो नानी अरुले थाहा पाएपछि घृणा गर्लान्। कसरी मुख देखाउनु लाज लाग्छ।
लगत्तै मैले भने आमा सबैभन्दा ठुलो स्वस्थ स्वास्थ्य हो हामी आफू स्वस्थ हुनुपर्छ। अरुले केहि भन्लान् कि भनेर डराएर कदापी बस्न हुदैन। गाउँघरमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यको महत्त्व र यसको स्याहारको जानकारीको खाचो छ। त्यसैले यो आर्टिकलले समेत पाठेघरको समस्याको जानकारी लिन सहज हुने ध्ययले यो सम्बन्धी सत्य घटनालाई प्रस्तुत गरेकि हुँ।
पाठेघर खस्ने ( आङ झर्ने) कस्तो समस्या हो?
पाठेघर अगाडिबाट पिसाब थैली र पछाडिबाट दिसा थैलीको बीचमा रहेको हुन्छ। यो अंग कुनै कारणले आफ्नो ठाउँबाट तल झर्यो भने पाठेघर खसेको भनिन्छ।
पाठेघर खस्नुलाई आङ खस्ने वा आङ झर्ने भनेर पनि बुझिन्छ। धेरै महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुदाँ आङ खस्ने समस्या देखिन सक्छ।
नेपालको पहाडी, हिमाली भेगका महिलामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या पाइन्छ।
पाठेघर खस्ने समस्या कुनै पनि सङ्क्रमणले, बच्चाको जन्मको समयमा अत्यधिक बलको प्रयोगले, बच्चाको जन्मको समयमा मांसपेशी माथि परेको जोरको प्रभाव कम हुन नपाउँदै घरेलु वा अन्य खालका जोर पर्ने काम गर्दा, धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुदाँ, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्स तथा मिड्वाइफ को रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ।
यति मात्र होइन धेरैजसो महिलाहरूमा गर्भधारण र प्रसूतिले समेत पाठेघरलाई आफ्नो ठाउँमा अड्याइराख्ने डोरीजस्ता तन्तुको क्षमतामा प्रतिकूल प्रभाव पर्न गइ खुकुलो भएको पाठेघर आफ्नो ठाउँबाट तल झर्दछ र कहिलेकाहीँ योनिमार्गबाट बाहिर निस्कने वा स्थायी रूपमा बाहिर निस्किइराख्ने हुन सक्छ ।
समग्रमा भन्नू पर्दा अझै पनि नेपालमा ७९ प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन्। बाकी महिलाहरु घरमै अथवा बाटोमा सुत्केरी हुने गरेका छन्। घरमा सुत्केरी गराउँदा तालिम प्राप्त नर्स नहुने हुदाँ छर छिमेकको सहयोगले जवर्जस्ती पेटमा थिच्ने, बल गर्न लगाउने गर्दा पेटमै गम्भीर असर पर्छ। जसले पाठेघरमा असर गर्दछ।
कारणहरु के–के हुन् ?
👉️महिलाले सुत्केरी भएको अवस्थामा पौष्टिक तत्वको कमी भएमा,
👉️बच्चा जन्माउँदा सुरक्षित जन्मिएन या हस्पिटलमा जन्माइएन भने
👉️यौनीको सरसफाइ , फिजियोथेरापी, स्थिर गर्ने माङसपेसीको सर्पोट भएन भने,
👉️बच्चा पाउँदा साल निकाल्न पनि धेरै बल गरियो भने,
👉️सामान्यतया बच्चा पाउँदा पाठेघरको मुख खुला नभइकन धेरै बल गर्यो भने,
👉️कुपोषण भएका महिलामा,
👉️ धूम्रपान गर्ने महिला हो भने,
👉️खोक्दा पेट भित्र धेरै बल परेमा अथवा कब्जिएत भएमा
👉️महिनावारी बन्द भएका महिलामा हर्मोनको कमी भइ माङसपेसीमा असर परेमा।
पाठेघर खस्दा के कस्ता समस्या बाट गुज्रिन पर्छ?
👉️ पाठेघरको ठ्याक्कै अगाडि बसेको पिसाबको थैली र मूत्रनलीमा पनि दबाब पर्छ ।
👉️ मूत्रप्रणालीमा सङ्क्रमणको विकास हुन सक्छ
👉️ छिटोछिटो पिसाब लाग्ने अथवा पिसाब पोल्ने हुन सक्छ ।
👉️ सङ्क्रमणका कारणले पनि पाठेघर खस्न सक्छ।
👉️ महिलामा तल्लो पेट दुख्ने,
👉️ योनिमार्गबाट सेतो बाक्लो अथवा अन्य रङको पातलो दूधजस्तो पदार्थ निस्कने,
👉️ योनिमार्ग वा योनिमुख चिलाउने,
👉️ केही कुरो निस्किन लागेजस्तो गरी अप्ठ्यारो हुने,
👉️ महिनावारीमा गडबडीका लक्षण देखिने,
👉️ तल्लो ढाड दुख्ने र यौनसम्पर्कको समयमा योनिमार्ग पोल्ने,
👉️ दुख्ने वा अप्ठ्यारो महसुस हुने।
👉️ सङ्क्रमणका कारणबाट योनिमार्गबाट प्रवेश गर्ने शुक्रकीटहरू योनिमार्गमै नष्ट भएर महिलाले गर्भधारणसमेत गर्न सक्दिनन् ।
👉️ अर्कातिर यौन समागम वा सम्भोगको समयमा योनि पोल्ने, दुख्ने वा अप्ठ्यारो हुने कारणले महिलामा यौन सम्पर्क अघि उत्पन्न हुने एक किसिमको मानसिक त्रासले प्राकृतिक यौनेच्छा घट्न सक्छ ।
उपचार कसरी गर्न सकिन्छ ?
पाठेघर खस्ने समस्याको उपचार अप्रेशन हो। अप्रेशन गर्दा पाठेघरसँगै पिसाब थैली र दिसा थैलीको पनि अप्रेशन गर्नुपर्ने हुन्छ।
कुनै महिलाहरू लाई चुरा जस्तो कुरा योनीमा राखेर पाठेघर अड्काइन्छ तर यो स्थायी उपचार भने होइन। पाठेघर खस्ने समस्याको स्थायी उपचार भनेकै अप्रेशन हो।
समयमै उपचार गरिएन भने के कस्ता?
जोखिम खेप्न पर्छ?
समयमै उपचार गरिएन भने पाठेघरमा घाउ हुन्छ। धेरै महिलाहरुले लामो समयसम्म उपचार नगरी सहेर बस्नु हुन्छ पछि रगत बग्न थाल्छ, तब मात्र उपचारको लागि गुहार्नु हुन्छ। पाठेघर खस्दाको पहिलो र दोस्रो चरणसम्म त्यति गाह्रो हुँदैन त्यसैले यो अवस्था लाई सामान्य रुपमा लिइ हेलचक्र्याइ गरेको पाइन्छ तर, जब पाठेघर बाहिर निस्किएपछि गाह्रो हुन थाल्छ त्यसपछि समस्या बताउनु हुन्छ। यदि समयमै उपचार भएन र सरसफाइको अभाव भयो भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
समस्या आउन नदिन के गर्ने ?
👉️ पाठेघरको माङसपेसी बलियो बनाउन पेल्भिक फ्लोर एक्ससाइज (प्रजनन अंगको ब्यायाम ) गर्ने।
👉️ पाठेघर खस्ने समस्याबाट बच्न पोषणयुक्त खाना खाने।
👉️ गर्भवती हुदाँ स्वास्थ्य जांच गराउने र सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने,
👉️ गह्रौ भारी नबोक्ने,
👉️ भारी बोक्दा अथवा सामान उचाल्दा आसन मिलाएर काम गर्ने।
👉️ बच्चा छिटो छिटो नजन्माउने,
👉️ धेरै बच्चा नजन्माउने।
👉️ किशोरीहरुलाई पोषिलो खाना खुवाउने, 👉️ बच्चा जन्माउदाँ सुरक्षित तरिकाले वा स्वास्थ्य संस्थामा गएर जन्माउने।
👉️ महिलाको उमेर कम्तिमा २० बर्ष पुगेपछि मात्र बिवाह गर्ने,
👉️ २० बर्षको उमेर पछी मात्र बच्चा जन्माउने।
(स्वास्थ्य खवरबाट साभार)
३ आश्विन २०८१, बिहीबार ०५:४५