पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

जनतापत्र,सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि भोताङदेवी माध्यमिक विद्यालय, भोताङले हात पारेको छ। भोताङदेवीले ६ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। यो उपाधि विद्यालयका लागि ऐतिहासिक र उत्साहजनक उपलब्धि भएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो। भोटेनाम्लाङ माध्यमिक विद्यालय ४ स्वर्ण, ८ रजत र ४ कास्य सहित कुल १६ पदकसहित दोस्रो स्थानमा रह्यो भने थाङपालभ्याली माध्यमिक विद्यालय ४ स्वर्ण, २ रजत र ७ कास्यसहित तेस्रो स्थानमा रहन सफल भएको गाउँपालिका खेलकुद विकास समिति संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो। गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता थाङपालधाप माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो। प्रतियोगिताको समापन गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।


समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लामाले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरमै प्रतिभा पहिचान र विकासमा योगदान गरेको बताउँदै खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी सभाध्यक्ष तथा वडा नं ५ का अध्यक्ष काले गोलेले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै खेलकुदलाई अध्ययनसँगै जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडा अध्यक्षहरू, जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।

२८ पुष २०८२, सोमबार २१:०५