पाँचपोखरी थाङपाल गाउँपालिकाको खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

जनतापत्र,सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण तपोभूमि खड्कुले झरना परिसरमा आज राष्ट्रिय झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्य, उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्य र वडा अध्यक्ष बाबुलाल स्याङ्बोको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा खड्कुले झरना गाउँपालिकाको पहिचान, गौरव र पर्यटन सम्भावनाको केन्द्रका रूपमा उदाउँदै गएको उल्लेख गर्दै यसको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सबै सरोकारवालाबीच सहकार्य र एकता आवश्यक रहेको छ ।

“राम्रो खड्कुले झरना, सुन्दर खड्कुले झरना” अभियानलाई सफल बनाउन सामूहिक प्रयास अनिवार्य रहेको वक्ताहरूले जोड दिए। छोटो अवधिमा उपभोक्ता समितिको नेतृत्व सम्हालेका मिङमार गोले र टोलीले गरेको काम प्रशंसनीय रहेको भन्दै अध्यक्ष लामाले समितिप्रति आभार प्रकट गरे। यसै क्रममा वडा र गाउँपालिकाको साझेदारीमा खड्कुले झरनालाई आकर्षक र अभिवृद्धियुक्त पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरियो। अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन सहयोग र सहभागिता जनाउने सबैप्रति आयोजकका तर्फबाट धन्यवाद व्यक्त गरे।

२७ पुष २०८२, आईतवार २१:०८