पाँचपोखरी थाङपालमा लाँगर्चे–भोटेनाम्लाङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास

जनतापत्र,पाँचपोखरी सिन्धुपा्रल्चोक ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८ लाई जोड्ने लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ खण्डमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। करिब ११० मिटर लम्बाइको उक्त पुल निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो। पुल निर्माण करिब एक करोड २४ लाख रुपैयाँ को लागतमा सम्पन्न हुने अनुमान गरिएको छ। यस आयोजनाका लागि कादुरी एग्रिकल्चर ब्रिटिश गोर्खा वेल्फेयर, पोखरा ले आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ।

स्थानीय तहको पहलमा अगाडि बढाइएको पुल निर्माणका लागि वडा नम्बर ३ का अध्यक्ष निमाछिरिङ तामाङ, वडा नम्बर ८ का अध्यक्ष विष्णुबहादुर खड्का र वडा नम्बर ७ का अध्यक्ष सुके तामाङ ले समन्वय र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। शिलान्यास कार्यक्रममा सक्रिय युवा राजन भुजेल, निवर्तमान वडा नम्बर २ का अध्यक्ष पासाङ स्याङबो, तथा गाउँपालिकाकी कार्यपालिका सदस्य गीता धिताल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामा ले आफ्नो दोस्रो कार्यकालभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै चार महिनाभित्र पुल निर्माण पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो।
पुल निर्माण सम्पन्न भएसँगै वडा नम्बर ७ भोटेनाम्लाङ र वडा नम्बर ८ लाँगर्चेबीचको आवतजावत सहज र सुरक्षित हुने स्थानीयको अपेक्षा छ। लामो समयदेखि पुलको अभाव झेल्दै आएका स्थानीयवासीका लागि यो आयोजना दिगो र अत्यन्त आवश्यक पूर्वाधार बन्ने विश्वास गरिएको छ।

८ पुष २०८२, मंगलवार १८:१९