पाँचपोखरीमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि २ दिने कार्यशाला


जनतापत्र, पाँचपोखरी ।
जिल्लाको पाँचपोखरी गाउँपालिकामा विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नको लागि पालिकाले २ दिने कार्यशालाको सुरु गरेको छ ।
संविधान दिवसको अवसरमा गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि,क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी गाउँपालिका सभाहलमा सो कार्यशाला सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष टासी लामाले बिहीबार औपचारकि कार्यक्रम सहित उद्घाटन गर्दै शिक्षकहरुको उर्जा,उत्सुकता,गतिशीलताले कार्यक्रम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । संविधानको सार्वभौमसत्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै यो संविधान पनि पुर्ण नरहेको टिप्पणी भइरहेको उल्लेख गर्दै बनेको संविधानको पुर्ण रुपमा अक्षरंश लागु गर्नुपर्ने अध्ययक्ष लामाले बताउनुभायो ।
अध्यक्ष लामाका अनुसार, पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धि गर्दै यहाँको समृद्धिमा टेवा पुर्याउन शिक्षकहरुको भुमिका महत्त्वपूर्ण हुने भएको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरु असाधारण क्षमताको हुने भन्दै अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धिका लागी अहोरात्र खट्ने शिक्षक हरुको प्रशंसा गर्दै शिक्षामा जिल्लामै उत्कृष्ट बनाउने गरी लाग्न आह्वान गर्नुभयो ।
अध्यक्ष लामाले सरकारले गरेको काम बारे चित्त बुझ्दैन भनेपनि सामाजिक संजालमा नलेख्न शिक्षकहरुलाई निर्देशन दिनुभयो । उहाँले नारायण गोपालको “मुटुमाथी ढुंगा राखि हास्नुपर्या छ” भने गितको स्मरण गर्दै चित्त नबुझेपनि राष्ट्र सेवक कर्मचारीले सरकारको विरुद्ध सामाजिक संजालमा लेख्न र विरोध गर्न नपाइने विषयको बारेमा स्मरण गराउनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको शैक्षिक क्षेत्रमा विगत देखीनै सहयोग गरेको स्मरण गर्दै यो महत्त्वपूर्ण कार्यक्रमको सहजीकरण गर्ने मौका पाएकोमा हेल्पका अध्यक्ष जिमि लामाले बताउनुभयो । सिक्न पाउने र सिकाउन पाउने यस्तो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने गाउँपालिकाले विश्वास लिएको छ । सिङ्गो पालिकाको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा गाउँपालिका लागेको जनाउँदै त्यसमा शिक्षक,अविभावक,विद्यालय ब्यबस्थापन समितिको भूमिका महत्वपुर्ण हुने गाउँपालिकाले जनाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र हेल्पको सह आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका २४ वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ ।

३ आश्विन २०८१, बिहीबार १२:१९