पाँचपोखरीमा रहेको कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण गरिएको छ । बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालले एक कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्नु भएको हो । दुर्गम क्षेत्रमा पढ्दै आएका बालबालिकाको आवश्यकता बुझेर गरिएको सहयोग प्रेरणादायी भएको दुलालले बताउनु भएको छ ।

सांसद दुलालले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै स्थानीय सरकारले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा सांसद दुलालले महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता र धर्मसागर ढकालप्रति सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ । पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका दुलालले आफ्नो कार्यकालमा गाउँपालिकाका नमुना विद्यालयका लागि जग्गा व्यवस्थापन, पूर्वाधार निर्माण, बजेट व्यवस्था तथा विद्यालय बसको प्रबन्ध गरिएको स्मरण गराउँदै शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढ बनाउन निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन ।
विद्यालय प्रशासनका अनुसार न्यानो कपडा सहयोगले विद्यार्थीको नियमित उपस्थिति र सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष काले गोले, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । जाडोको कठ्यांग्रिने चिसोबीच प्राप्त यो न्यानो सहयोगले गुन्साका बालबालिकाको जीवनमा मात्र होइन, भविष्यप्रतिको आशामा पनि उज्यालो थपेको छ ।

१६ पुष २०८२, बुधबार २०:२२