पर्यटकीय क्षेत्र सुकुटेमा सरसफाइ तथा पर्यटन संरक्षण अभियान सञ्चालन

सुनिता रखाल सुकुटे ।
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा सरसफाइ तथा पर्यटन संरक्षण अभियान सञ्चालन गरिएको छ। सिन्धु सुकुटे पर्यटन व्यवसाय संघको संयुक्त नेतृत्वमा आयोजित “सुन्दर सुकुटे, शान्त सुकुटे” अभियान अन्तर्गत सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, जनपथ प्रहरी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

शनिबार बिहान बन्देउ चेकपोस्टबाट सुरु गरिएको सरसफाइ कार्यक्रम पर्यटन नगरी सुकुटे, बन्देउदेखि बलेफीसम्म फैलिएको थियो। अभियानका क्रममा सडक किनार, नदी आसपासका क्षेत्र तथा पर्यटकहरूको आवागमन हुने स्थानहरूमा विशेष सरसफाइ गरिएको छ। साथै, झाडी सफा गर्ने, वातावरण व्यवस्थित बनाउने र फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने काम पनि गरिएको आयोजकले जनाएका छन्।

यस अभियानले सुकुटे क्षेत्रलाई अझ आकर्षक, स्वच्छ र सुरक्षित पर्यटकीय गन्तव्य बनाउने उद्देश्य राखेको छ। सरसफाइ मात्र नभई पर्यटन संरक्षण र प्रवर्द्धनका लागि दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रको विकासका लागि वातावरणीय स्वच्छता अत्यन्त आवश्यक रहेको बताएका छन्। स्थानीय युवाहरूको उत्साहजनक सहभागिताले समुदायस्तरमै सकारात्मक सन्देश प्रवाह गरेको छ।

आयोजकका अनुसार यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ, जसले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

२९ चैत्र २०८२, आईतवार १४:३६