न्यायिक सेवा सहज बनाउन चौतारा साँगाचोकगढीको पहल


जनतापत्र, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय तहमा न्यायिक प्रक्रिया अझ प्रभावकारी र सरल बनाउने उद्देश्यका साथ वडा नं। १ र ५ मा न्यायिक समिति, न्यायिक शाखा र मेलमिलापकर्ताबीच समन्वयात्मक बैठक सम्पन्न गरेको छ।

वडास्तरमै न्यायिक पहुँच विस्तार गरी नागरिकलाई छिटो, सहज र मानवीय न्याय प्रदान गर्ने विषय बैठकको मुख्य केन्द्रविन्दु रहेको थियो।
बैठकमा नगर उप–प्रमुख तथा न्यायिक समिति संयोजक सिता थापा, वडा नं १ का अध्यक्ष युवलाल श्रेष्ठ, वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठ, न्यायिक समिति सदस्य रवि खत्री र रामशरण अधिकारीसहित मेलमिलापकर्ताहरूको सक्रिय सहभागिता थियो।
छलफलका क्रममा सम्बन्धविच्छेदजस्ता संवेदनशील विवादको समाधान, मेलमिलाप प्रक्रियाको प्रभावकारिता, वडामै उजुरी दर्ता गर्ने अभ्यास, मेलमिलापकर्ता व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, साथै वडाका कुन–कुन क्षेत्रमा न्यायिक सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा विस्तृत विमर्श भएको उप–प्रमुख थापाले जानकारी दिइन्।
बैठकले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालन गर्ने र विवादका विषयहरूलाई कानुनी विधि अनुसार अभिलेखीकरण गर्दै दर्ता गर्ने निर्णय गरेको छ। यसले न्यायिक प्रक्रियामा पारदर्शिता बढाउने र सर्वसाधारणले आफ्नै वडाबाट न्याय प्राप्त गर्न सक्ने वातावरण बनाउने अपेक्षा गरिएको छ।
स्थानीय तहमै संवाद, समझदारी र मेलमिलापलाई प्राथमिकता दिँदै विवाद समाधान गर्ने यो पहलले नगरपालिकामा सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने सहभागीहरूको विश्वास रहेको छ।

१५ माघ २०८२, बुधबार १२:४४