नेपाली बजारमा सुनको मूल्य एकैदिन १० हजार ४०० ले बढ्यो, तोलाको ३ लाख नजिक

जनतापत्र,सिन्धुपाल्चोक ।
नेपालको सुन बजारमा आज पुनः अभूतपूर्व उछाल देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढ्दै गएको प्रभावसहित नेपालमा पनि एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँ माथि वृद्धि भएको छ। यही वृद्धिसँगै सुनको मूल्य ३ लाख रुपैयाँ नजिक, अर्थात् २ लाख ९५ हजार १ सय रुपैयाँ प्रति तोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्लो दिन मंगलबार जारी मूल्य २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो। आजकै मूल्य अद्यावधिकसँगै सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको महासंघले पुष्टि गरेको छ। विगत केही महिनादेखि सुनको मूल्यले निरन्तर वृद्धि गर्ने प्रवृत्ति देखाउँदै आएको छ, तर आजको उछाल ऐतिहासिक मानिएको छ।

सुनको मूल्य वृद्धिका पछाडि मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र लगानीकर्ताको सुरक्षित बजारप्रतिको आकर्षण रहेको विश्लेषकहरूले बताएका छन्। विश्व बजारमा राजनीतिक तनाव, आर्थिक पूर्वानुमानको कमजोरी तथा केन्द्रीय बैंकहरूको नीतिको प्रभावसँगै सुन अझै सुरक्षित विकल्पका रूपमा हेरिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको तीव्र मूल्य वृद्धिले नेपाली बजारमा पनि प्रत्यक्ष असर पारिरहेको व्यवसायीहरूको भनाइ छ। नेपालमा सुनको मूल्य निर्धारण नियमित रूपमा अन्तर्राष्ट्रिय बजारकै आधारमा हुने भएकाले उतार–चढावको प्रभाव छिट्टै परिरहेको देखिन्छ।

८ माघ २०८२, बुधबार ११:२७