नेकपा एमाले पाँचपोखरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना


जनतापत्र, सिन्धुपाल्चोक

संविधान दिवस र दशैं तिहार जस्ता राष्ट्रिय चाडहरूको उपलक्ष्यमा नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य माधब प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पाण्डेले पार्टीको आगामी दृष्टिकोण र योजनाबारे बोल्दै नेकपा एमालेलाई एक दृढ र अग्रगामी शक्ति बनाउनको लागि शुद्धीकरण र वैचारिक परिमार्जनको आवश्यकता औंल्याउनुभयो। उहाँले कार्यकर्तामा नयाँ ऊर्जा र सन्देश प्रवाहित गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य टासी लामाले संविधानसभाद्वारा निर्मित नेपालको संविधानलाई संसारकै उत्कृष्ट संविधान भन्दै यसले सार्वभौम सत्ता जनतामा निहित रहेको बताएका थिए। उहाँले संविधानको महत्व र यसको परिपालनले नेपाललाई प्रगतिको बाटोमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।

सो कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सुनिता अधिकारी, जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जारा, जिल्ला कमिटी सदस्य पासाङ लामा र नारायण भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता पालिका कमिटी उपाध्यक्ष दोकदोक तामाङले गर्नुभएको थियो, जबकि सञ्चालन पालिका कमिटी सचिव सुशन बोम्जनले गरेका थिए।

कार्यक्रमको शुभारम्भमा स्वागत मन्तब्य जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले राख्नुभयो। यसपछि, नेकपा माओवादी केन्द्र पालिका कमिटी अध्यक्ष दिल बहादुर वाईबा, प्रदेश कमिटी सदस्य टासी लामा र केन्द्रीय सल्लाहकार परिषद सदस्य माधब प्रसाद पाण्डेले महत्त्वपूर्ण विचार राख्दै शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो।

निर्मल बन्जाराले पार्टीको गतिविधिहरूलाई निरंतरता दिने र हालको देशमा बिकसित घटनाक्रमलाई ध्यानमा राखेर नयाँ रणनीति र योजनाहरू तय गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले एकतासँगै समाजमा राजनीतिक संवेदनशीलता र सामाजिक जिम्मेवारीको महत्त्वलाई उजागर गरेको छ। नेकपा एमाले पाँचपोखरी कमिटीको आगामी योजनाहरू र पार्टीको निरंतरता पनि यस कार्यक्रममा चर्चा गरिएका मुख्य विषयहरू थिए।

३ आश्विन २०८२, शुक्रबार १९:५३