नेकपा एमाले जनताको विश्वास जित्न सफल पार्टी

उमा प्रधान
वाग्मति प्रदेश कमिटी, सदस्य
नेकपा एमाले

नेकपा एमाले कस्तो पार्टी हो ?
नेकपा एमाले नेपालकै पुरानो ठूलो वामपन्थी विचारधारा बोकेको संगठन हो। २०४७ सालमा नेकपा (मार्क्सवादी) र नेकपा (माले) एकीकरण भएर बनेको यो पार्टीमा आम नेपाली जनताको विश्वास र भरोसा रहेको छ। यसले समाजवाद उन्मुख लोकतन्त्र, समावेशीता र सामाजिक न्यायलाई आफ्नो मूल एजेन्डा बनाएको छ। राष्ट्रियता र जनताको चाहना अनुसार नीति–कार्यक्रम ल्याई शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चिततामा जोड दिने यस पार्टीलाई नेपालकै ठूलो र प्रभावशाली राजनीतिक शक्ति मानिन्छ।
यो पार्टीलाई के कस्तो अवसर छ ?
नेकपा एमाले जनताको विश्वास जित्न सफल पार्टी भएकाले यससँग धेरै अवसरहरू छन्। पछाडि परेका वर्ग, विशेष गरी महिला, दलित, जनजाति, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई राज्यका हरेक क्षेत्रमा समावेश गर्ने आवाज उठाउने पहिलो पार्टी भएकाले यसको प्रभाव अझै बलियो छ। गाउँदेखि केन्द्रसम्मको संगठनात्मक संरचना समावेशी ढंगले बनेको हुँदा जनताको विश्वास कायम गर्न सहज भएको छ। साथै राष्ट्रिय स्वाभिमान र विकासलाई प्राथमिकतामा राख्ने भएकाले आगामी दिनमा अझ ठूलो अवसर लिन सक्ने स्थिति रहेको छ।

यो पार्टीलाई कस्तो चुनौती छ ?
नेकपा एमालेले पाएको अवसरसँगै केही गम्भीर चुनौतीहरू पनि छन्। युवाहरूमा राजनीति प्रतिको वितृष्णा बढ्दै गएको छ भने पार्टीभित्र आन्तरिक गुटबन्दी, सत्ता–केन्द्रित राजनीति र स्वार्थका कारण कमजोरी देखिन्छ। नेतामुखी कार्यकर्ताको प्रवृत्तिले पनि संगठनलाई कमजोर बनाएको छ। महिला, दलित, आदिवासी, जनजाति, अपांगता भएका व्यक्तिहरू सबैको समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न नसक्दा चुनौती अझ बढेको छ। गुटगत राजनीति हटाई संस्थामुखी नेतृत्व र व्यवहारमा आदर्श उतार्न सक्ने क्षमता देखाउनै पर्ने अवस्था आएको छ।

तपाईंको विचारमा कस्तो एमाले देख्न चाहनुहुन्छ ?
मेरो विचारमा हामीले चाहेको एमाले शिक्षा र रोजगारलाई पहिलो प्राथमिकतामा राख्ने, युवामैत्री र भविष्यमुखी पार्टी हुनुपर्छ। यसले सबै वर्ग, समुदाय र क्षेत्रलाई समेट्दै देश विकासमा योगदान गर्ने वातावरण बनाउनुपर्ने हुन्छ। आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक नेतृत्वमा आधारित भएर जनता केन्द्रित कार्यक्रम ल्याउने एमाले नै देशको आवश्यकता हो।

५ भाद्र २०८२, बिहीबार ०४:५४