निर्वाचन सुरक्षा सुदृढ गर्न जिल्ला प्रहरी सञ्चारकर्मीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनतापत्र,सिनधुपाल्चोक ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चारकर्मीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने तयारीबारे जानकारी दिन कार्यक्रम गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी काजी कुमार आचार्य, प्रहरी निरीक्षक जेसी शाह, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुव दङ्गाललगायत विभिन्न अनलाइन तथा प्रिन्ट मिडियामा आबद्ध सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

अन्तरक्रियामा बोल्दै एसपी आचार्यले प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार जिल्लाभर ९६६ जना नेपाल प्रहरी परिचालनका लागि तयारी अवस्थामा छन् भने १,७०८ जना म्यादी प्रहरीसमेत खटाउने तयारी पूरा भइसकेको छ। आवश्यकता अनुसार थप सुरक्षाकर्मीसमेत जिल्लामा ल्याइने र केही दिनभित्रै आइपुग्ने उनले बताए। संवेदनशील तथा जोखिमयुक्त स्थानहरूमा विशेष निगरानी बढाइएको छ। सुरक्षा विश्लेषणका आधारमा चिनिएका क्षेत्रहरूमा थप गस्ती, चेकजाँच र सूचना संकलन कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ। दुर्गम तथा पहुँच कठिन स्थानहरूमा आवश्यक परे हेलिकप्टर प्रयोग गरी सुरक्षाकर्मी र मतदान सामग्री व्यवस्थापन गरिने योजना समेत सार्वजनिक गरिएको छ।

कार्यक्रममा सञ्चारकर्मीहरूले निर्वाचन अवधिमा सूचनाको सत्यता, अफवाह नियन्त्रण तथा सहकार्यको विषयमा जिज्ञासा राखेका थिए। प्रहरीले मिडियासँग समन्वय गरेर पारदर्शी सूचना प्रवाह गर्ने र कुनै पनि गतिविधिलाई नजिकबाट निगरानीमा राख्ने प्रतिबद्धता जनाएको छ। जिल्ला प्रहरी कार्यालयले आम मतदातालाई ढुक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ। निर्वाचनलाई भव्य, शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासको नमूना बनाउने लक्ष्यका साथ सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको प्रहरीले जनाएको छ।

४ फाल्गुन २०८२, सोमबार १८:४०