निर्वाचन सफल बनाउन भूमिका खेलेका सिन्धुपाल्चोकका सञ्चारकर्मीहरुलाई सम्मान

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन योगदान दिएका सञ्चारकर्मीहरूलाई चौतारामा सम्मान तथा धन्यवाद व्यक्त गरिएको छ। जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचनका क्रममा सक्रिय रूपमा काम गरेका पत्रकारहरूलाई कदर गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रिता बख्रेल, निर्वाचन आचारसंहितासँग सम्बन्धित प्रतिनिधिहरू तथा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचन अवधिभर सञ्चारकर्मीहरूले जिम्मेवार र निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्दै जनतालाई सही जानकारी दिन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। संवेदनशील समयका बाबजुद पत्रकारहरूले विभिन्न चुनौती र दबाब सामना गर्दै पनि आफ्नो पेशागत दायित्व पूरा गरेको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो।कार्यक्रमका क्रममा पत्रकारहरूले पनि निर्वाचनको समयमा आफूहरूले भोगेका अनुभव साझा गरेका थिए। उनीहरूले कहिलेकाहीँ राजनीतिक दल, स्थानीय समुदाय तथा अन्य पक्षबाट दबाब र अवरोधको सामना गर्नुपरे पनि पेशागत मर्यादा कायम राख्दै समाचार सम्प्रेषण गरेको बताएका थिए।मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचन व्यवस्थापनमा संलग्न सबै पक्षको सहकार्यका कारण जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार विभिन्न चुनौतीका बीच पनि जिल्लामा कुनै अप्रिय घटना नघटी निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको हो।कार्यक्रममा सञ्चारकर्मी, सुरक्षा निकाय, राजनीतिक दल तथा आम नागरिकले निर्वाह गरेको जिम्मेवार भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सबैको सहकार्य आवश्यक रहने धारणा व्यक्त गरिएको थियो।

२७ फाल्गुन २०८२, बुधबार १९:२१