निर्वाचन क्षेत्रको सिमांकन के कति वैज्ञानिक ?

संघन जनसंख्या भएका जिल्ला तथा सहरी भूगोलमा निर्वाचन क्षेत्रको हतारहतार रेखांकन गरिँदा भएका त्रुटी सच्याउन खासै असहज छैन । खासगरी देशको राजधानीसमेत रहेको काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्रको भूगोल निर्धारण गर्ने क्रममा भएको त्रुटीतर्फ दलहरूको ध्यान नजानु दुर्भाग्य हो ।

अञ्जु कार्की
आसन्न आमनिर्वाचनका क्रममा आफ्नो घोषणापत्रमा के के एजेन्डा समावेश गर्ने ? भन्ने सन्दर्भमा यसपटक प्रमुख राजनीतिक दलहरूले गरेको गृहकार्य निश्चय नै सराहानीय छ । विगतका निर्वाचनका तुलनामा यसपटक दलहरूले घोषणापत्र निर्माणमा बढी गृहकार्य गरेको देखिनु सकरात्मक पक्ष हो । त्यसमा पनि यसपटक दलहरूका तर्फबाट असंभव र चरम महŒवाकांक्षी योजना नसमेटिने संकेत देखिएको छ । ‘यो यो काम गर्छौं’ भन्ने भन्दा पनि ‘यसरी यसरी काम गर्छौं’ भन्ने प्रतिवद्धता राजनीतिकदलका तर्फबाट आओस् भन्ने जनचाहनाप्रति दलहरू यसपटक सचेत देखिएका छन् ।

घोषणापत्रमा समावेश गर्नुपर्ने एजेन्डाहरू समाजभित्रै गहिराइमा पुगेर उत्खनन् गर्नेभन्दा पनि सतहमा बसेर खोजी गर्ने प्रवृत्तिले निकास दिँदैन । जतिसुकै छलफल र गृहकार्य गरेको समाचार आए पनि संसदीय निर्वाचन क्षेत्रहरूको निर्धारणमा के कस्तो भुलचुक भएको छ ? भन्नेतर्फ न त उमेदवारहरूको ध्यान पुगेको देखिन्छ न त दलहरूको । संविधान निर्माण गर्ने क्रममा हतार हतार १६५ निर्वाचन क्षेत्र बनाइएको हो । निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत आधार बनाइनु एक हिसाबले गलत होइन ।

एउटा जिल्लामा कम्तिमा एउटा निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्दा जनसंख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत आधार मान्ने मापदण्ड बिथोलिएको पनि देखिन्छ । ७ हजार ८८९ वर्गकिलोमिटर क्षेत्रफलसहित मुलुकको ५ प्रतिशतभन्दा बढी भूभाग ओगटेको डोल्पा जिल्लाबाट र करिब ४ वर्ग किलोमटिर क्षेत्रफल ओगटेको काठमाडौँको बानेश्वर क्षेत्रबाट बराबर प्रतिनिधि संसद्मा पुग्नु के कति उचित ? भन्ने बहस यतिबेला नगरे कति बेला गर्ने ? काठमाडौँ क्षेत्र नं १ का ४८ हजार मतदाताले १ जना प्रतिनिधि छान्दै गर्दा रामेछापका करिब १ लाख ८८ हजार मतदाताले पनि १ जना मात्रै जनप्रतिनिधि छान्ने अवस्थाको विषयमा पनि खासै बहस भएको देखिँदैन ।

जनसंख्या र भूगोलका कुरा र मुद्दा अलग छन् । यो मुद्दा राजनीतिक पनि हो । मधेसीदलहरूले लामो समयदेखि उठाउँदै आएको मुद्दा भएका कारण समाधान सहज छैन । तर संघन जनसंख्या भएका जिल्ला तथा सहरी भूगोलमा निर्वाचन क्षेत्रको हतारहतार रेखांकन गरिँदा भएका त्रुटी सच्याउन खासै असहज छैन । खासगरी देशको राजधानीसमेत रहेको काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्रको भूगोल निर्धारण गर्ने क्रममा भएको त्रुटीतर्फ दलहरूको ध्यान नजानु दुर्भाग्य हो ।

समाज शास्त्रको विद्यार्थी तथा शिक्षक भएको नाताले केही दिनअघि काठमाडौँ क्षेत्र नं.२ का १ जना युवा उम्मेदवारले यस क्षेत्रको बारेमा केही अनुभव तथा सुझावहरू मसँग माग्नुभएको थियो । यस सन्दर्भमा आफू मतदाता भएका कारण काठमाडौँ क्षेत्र नं २ का विषयमा केही उल्लेख गर्नु सान्दर्भीक ठानेकी छु ।

काठमाडौँ क्षेत्र नं. २

४ वर्षअघि गरिएको राष्ट्रिय जनगणनाअनुसार काठमाडौँ क्षेत्र नं. २ देशकै सबैभन्दा धेरै जनसंख्या भएको निर्वाचन क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा २ लाख ६८ हजार १६९ जनसंख्या छ । यो संख्या देशको कुल जनसंख्याको ०.९ प्रतिशत हो । यस निर्वाचन क्षेत्रमा जुन अनुपातमा जनसंख्या वृद्धि भइरहेको छ, त्यसलाई आधार मान्ने हो भने यो ४ वर्षको अवधिमा यस क्षेत्रमा देशको कुल जनसंख्याको करिब १ प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास छ ।

राजधानी काठमाडौँ उपत्यकामा सहरीकरणका लागि खाली ठाउँ सबैभन्दा बढी बाँकी रहेको क्षेत्रमध्ये पनि काठमाडौँ क्षेत्र नं. २ नै हो । त्यसकारण एक–डेढ दशकभित्र यस क्षेत्रमा देशको कुल जनसंख्याको करिब २ प्रतिशत हिस्सा पुग्न सक्छ ।

पुरुषको भन्दा महिलाको जनसंख्या निकै बढी भएका निर्वाचन क्षेत्रहरूमध्ये यो क्षेत्र पनि हो । यस क्षेत्रमा पुरुषको भन्दा महिलाको जनसंख्या करिब ४२ हजार बढी छ । आमनिर्वाचनमा प्रमुख दलहरूले सकेसम्म महिलालाई यस क्षेत्रमा उम्मेदवार बनाउनुको एउटा कारण महिलाको जनसंख्या निकै बढी भएको कारण पनि हुन सक्छ ।४ वर्षअघि गरिएको राष्ट्रिय जनगणनाअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको जनसंख्या सबैभन्दा बढी प्रतिशत भएको निर्वाचन क्षेत्र पनि यो नै हो । यस हिसाबले १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै युवा जनसंख्या यही क्षेत्रमा छ । गत आमनिर्वाचनमा युवा उम्मेदवारहरूले धेरै मत प्राप्त गर्नुको एउटा कारण यो पनि हुन सक्छ ।

माथि उल्लेख गरिएका यी ३ वटा तथ्य र तथ्यांकलाई विश्लेषण गरी युवा र महिला लक्षित अभियान केन्द्रित गर्नु वाञ्छनीय हुने देखिन्छ । (क) गृहणी लक्षित खानेपानी तथा तरकारी बजारको सहजलाई एक सूत्रीय अभियान बनाउँ । (ख) काठमाडौँ महानगरपालिकाले ल्याएको एग्रोपुलिङ कार्यविधि, २०८१’ कार्यान्वयनका लागि यो निर्वाचन क्षेत्र उपयुक्त छ । ग्रामीण क्षेत्रमा तरकारी उत्पादन गर्ने किसान र सहरी क्षेत्रका उपभोक्तालाई सिधै जोडौँ । साँखुका किसानले पाउने तरकारीको मूल्य र कोटेश्वरका उपभोक्ताले खरिद गर्ने तरकारीको मूल्यमा हुने गरेको ४ गुणा मूल्य अन्तर हटाउने योजना ल्याऔँ ।

काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता रहेको क्षेत्र पनि यही हो । यस क्षेत्रमा करिब ९० हजार मतदाता छन् । तर २ लाख ६८ हजार जनसंख्याका तुलनामा ९० हजार मतदाता भनेको न्यून हो । सामान्यतया जनसंख्याको अनुपातमा करिब ७० प्रतिशत मतदाता हुने राष्ट्रिय तथ्यांकले देखाउँछ । यस हिसाबले यो क्षेत्रमा १ लाख ८० हजार मतदाताको बसोबास रहेको अनुमान लगाउन सकिन्छ । यसको अर्थ हो यस क्षेत्रमा बसोबास गर्ने करिव ९० हजार मतदाता अन्य १६४ निर्वाचन क्षेत्रका हुन्, उनीहरू भोट हाल्न बाहिर जान्छन् ।

यो तथ्यांकबाट के अनुमान लगाउन सकिन्छ भने यस क्षेत्रमा बन्ने निर्वाचनको माहौलले देशका सबै निर्वाचन क्षेत्रलाई प्रभावित बनाउँछ । साथै देशका अन्य निर्वाचन क्षेत्रमा बन्ने माहौलले पनि यस क्षेत्रलाई प्रभावित बनाउँछ । गत आमनिर्वाचनले पनि यो अनुभवलाई प्रमाणित गरेको छ । त्यसैगरी यस क्षेत्रका ९० हजार मतदातामध्ये कति स्थानीय (रैथाने) हुन् ? कति अन्यत्रबाट बसाइँसराइ गरेर आएका हुन् ? कति मतदाता यहीँ जन्मे हुर्केका हुन् ? लगायतको विश्लेषण गरी उनीहरूको आकांक्षा सम्बोधनका लागि छुट्टाछुट्टै रणनीति बनाउनु वाञ्छनीय देखिन्छ ।

निर्वाचन क्षेत्र भनेको प्रशासनिक या विकासको भूगोल नभएर देशको विधि निर्माण गर्ने प्रतिनिधि छनौट गर्ने इकाई मात्रै हो । तै पनि देशका धेरैजसो निर्वाचन क्षेत्र प्रशासनिक या विकासको भूगोलजस्ता छन् । तर यो क्षेत्र प्रशासनिक या विकासको भूगोल बन्ने कुनै पनि आधार देखिँदैन । उत्तर–दक्षिण करिब २० किलोमिटर तथा पूर्व–पश्चिम बढीमा २ किलोमिटर र कम्तिमा ५०० मिटर फैलिएको यस निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित गरी राष्ट्रिय आयोजनाहरू सञ्चालन गर्न सकिने संभावना कम छ । यसका लागि आसपासका निर्वाचन क्षेत्रसँग सहकार्य गर्नै पर्ने हुन्छ ।

त्यसैले यस क्षेत्रका जनतासँग मत माग्न जाँदा विकासका ठुला आयोजनाको कुरा नगरौँ । तथापि तीनकुने र पेप्सीकोला जोड्ने गरी विमानस्थल मुनि सुरुङ मार्ग । शंखरापुर र मध्यपहाडी लोकमार्गको विन्दु सिन्धुपाल्चोकको मेलम्ची जोड्ने सुरुङमार्गको निर्माण अघि बढाउन कुनै कसर नराख्ने प्रतिवद्धता जाहेर गरौँ ।

काठमाडौँ क्षेत्र नं २ त उदाहरण मात्रै हो । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका समस्या उस्तै उस्तै छन् । निर्वाचन क्षेत्रको सीमांकन पुनरवलोकनलाई काठमाडौँ जिल्लाका सबै उम्मेदवारहरूले एजेन्डा बनाउनु वाञ्छनीय देखिन्छ ।

(समाजशास्त्री कार्की नेपाली कांग्रेस काठमाडौँ महानगर कार्यसमिति सदस्य हुन् ।)

(सौर्यअनलाइनबाट साभार)

३ फाल्गुन २०८२, आईतवार ०६:५६