/*php the_title();*/?>

उपेन्द्र प्रेमी
नेपालमा वि.सं. १९०३ देखि २००७ सम्म दुई धार, दुई सरकार र दुई दरबारको शासन यात्रा थियो । अहिले बालेन र रविको मान, शान र आसनलाई पनि कताकता त्यसै गरी मापन गरिन्छ । ‘कम बोल्ने बालेन’ र ‘धेरै बोल्ने रवि’ बीचको यो नयाँ राजनीतिक शक्ति कति सन्तुलित तवरले चल्ने हो ? प्रतीक्षा आगामी घडीकै छ ।
हाम्रो केन्द्रीय सरकार भनेको सिंहदरबारको सरकार हो । श्री ३ का पालामा बनेको सिंहदरबार ७५ वर्ष यतादेखि नेपालको राजकाज, शासन र प्रशासनको मुख्यालय एवं आधार स्थल हो । यहाँका सयौँ चोटा, कोठा, हल, बरन्डा र कौसी–मझेरीको अवस्था अहिले के छ कुन्नि ! जे भए पनि नेपाल सरकारको प्रकारान्तर रूप सिंहदरबारको सरकार नै हो ।
जो–जुन सरकार आए पनि, बने पनि, घोर वनको राजा मानिने सिंहको निसानी बोकेको सिंहदरबार हाम्रो शासन संयन्त्रको मूल धरोहर हो । अब सिंहदरबारको राजकाज भर्खरै सम्पन्न चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको विराट आकारयुक्त शक्तिको हातमा आइपुगेको छ ।

विगतको पौने सय वर्षदेखि यो दरबारमा धेरैको सवारी भयो, धेरै थरी हातगोडा चले अनि धेरै प्रकारले फाइल, फैसला, तोक, आदेश, नीति, निर्णय एवं भाग्य भविष्यका नाना योजना र तानाबाना बुनिए । अब घण्टी चिह्नबाट चिनिएको र चुनिएको रास्वपा सरकारको शासन भारमा खडा भएको छ, सिंहदरबार ।अतीत इतिहासप्रति कति प्रजातन्त्रवादी र कति प्रगतिशील जनवादीहरूको अतिविधि आस्था छैन, अनि दहन, जलन, जीर्ण, विदीर्ण यसको आकारउपर धेरैको कहर भाव पनि नहुन सक्छ । तैपनि शान्ति स्वस्ति गरेर, आधुनिकताको साजसज्जामा सजाएर सिंहदरबार हाम्रो केन्द्रीय सरकारको प्रथम द्वार र आधारका रूपमा स्वीकार हुनेछ ।
सिंहदरबार, सिंहाकृतिको एउटा भवन मात्र होइन, यसको क्षेत्र, पाटो र समग्र परिसरको अझ ठुलो महŒव छ । अधिकतर केन्द्रीय सचिवालयीय काम कारबाही र गतिविधि यही प्रमुख परिसरभित्र पर्दछन् । अब एउटा जब्बर आकारको सरकार सिंहदरबारको त्यही शासन सत्ताको सुरक्षामा छ, सुशासन प्रदान गर्न आतुर छ । अनि नेपालभरिका र बाहिरी देशमा रहेबसेका नेपाली जनताका घरआँगन र घरघरमा यो सरकारउपर अनेकथरी आशा, अपेक्षा, भर र भरोसाका धेरै प्रकारका सरोकारहरू पनि खडा भएर आइरहेका छन् ।
घरघरमा सिंहदरबार
‘घरघरमा सिंहदरबार’ यो सुन्दर सूक्ति विगत एक दशकयता चर्चित रह्यो । गाउँ–गाउँ, बस्ती–बस्ती, डाँडा–पाखा, फाँट र मैदान सबैतिर तल्ला–तल्ला र कोठै–कोठाका दरबार खडा हुने भए ? के अब झुप्रा–झुप्री, छाप्रो, कुटी, खर–पराल र पात–पतिंगरका मुडुलीहरू विस्थापित भएर सबै–सबै महलवासी हुने भए ? कुरा त्यो थिएन । कुरा थियो, सेवा र अधिकारको ।
अब गाउँबेसी सबैतिरकाले अधिकार उपभोग गर्न, सेवा लिन र सहज शासन–प्रशासन पाउन सिंहदरबार एवं सदरमुकाम धाइरहनु नपर्ने भन्ने नै त्यो सूक्तिको सार थियो । हो, रूपरंग र आकृति–प्रकृति केही हेरफेर गरेर पालिका, वडा र प्रदेशहरू आए । प्रदेश र पालिकाभित्रका छानिएका प्रतिनिधि एवं खटाइएका राष्ट्रसेवकहरूबाट अब सारा सरोकारी वा दरबारी सेवा पाइने जस्तो झल्को पनि देखियो । तर हेर्दै–बुझ्दै जाँदा घरघरको त्यो दरबार, त्यो हेरफेरको कारोबार मूलतः केही हजार दरबारियाहरूलाई मात्र पो भएजस्तो देखियो ।
सिंहदरबार र अन्य दलीय दरबारले पद र जिम्मेवारी तोक्ने, त्यहीँबाट ‘हुकुम’ पठाउने, अनि प्रदेश सरकार, पालिका सरकार एवं वडा सरकारले भागबन्डा गरी प्रायः आफैँ सुविधा भोग गर्ने, कताकति मात्रै धुलो–पिठो छर्ने काम मात्र भएजस्तो भयो । गाउँ–ठाउँ र प्रदेशका ती दरबार अन्ततः मूल दरबारकै अन्तःकक्ष जस्ता भएर गुज्रिए । दरबार पुग्यो, कारोबार र सुविधा भागबन्डा एवं भ्रष्टाचारको पनि फैलावट भयो । दरबारिया नयाँ प्रतिनिधि पात्रको शान–शौकत त बढ्यो, तर जनताको सेवा सुविधा सहजताचाहिँ उस्तैको उस्तै रह्यो ।
‘सिंहदरबार आउला, ग्रामीण स्रोत साधनको प्रयोग उपयोग बढ्ला, खेतीपाती राम्रो होला, उद्योगधन्दा, व्यापार, व्यवसाय र रोजगारी बढ्ला’ भनेको त भएका घर पनि थोत्रिँदै भत्किँदै गए, बासिन्दा रित्तिँदै गए । दरबार साँच्चै गाउँतिर झर्यो भनेको त केही नेता उपनेताको भागशान्ति जय नेपाल र लालसलामको चक्करमा हाम्रा गाउँबस्तीको दुरावस्था पो दृश्यमा आयो । यही यस्तै पृष्ठभूमिमा अहिले मूल ऐतिहासिक दरबारमा नयाँ सरकार नयाँ कलेवरमा आउने सन्निकट तरखर छ । तर पुरानो पाराको प्रादेशिक तथा स्थानीय सरकार उसैगरी सिंहदरबारतर्फ आँखा लगाइरहेछ ।
पुरानैमा नयाँ सरकार
नयाँ सरकारको आगमन भन्नुको अर्थ यतिखेर छ नै, अनि छैन पनि । एउटै दलबाट आएका मानिएकाहरूको पूर्णतया एकमना, अझ दुईतिहाइ स्तरको यो सरकार स्वतः नयाँ सरकार हो । लामो इतिहासमा विरलैको यो सरकार नयाँ नै हो । तर पनि केही आकार प्रकारले नयाँ भए पनि उही उस्तै ढंगले चलिआएको राज्य व्यवस्था तथा संविधान कानुनका उनै परम्परागत प्रावधान बमोजिम उस्तै प्रमाण, शपथ, नियुक्ति, सिफारिस र मनोनयनबाट आएको नवाकृति साथै सिंहदरबार पस्न आउँदै गरेको यो सरकार वस्तुतः पुरानै पाराको हो ।
भर्खरै अन्तिमतिर नेपाली नव पुस्ताको मुद्दामा आएको भनिए पनि कतिपय अर्थमा हेर्दा नेपालको विद्यमान आउँदो शासन प्रशासन त्यसै तवरले भन्दा बेग्लै फेरबदलका साथ आउनुपथ्र्यो । फागुन २१ को निर्वाचन र त्यसमा प्रकट जनताको मतलाई दृष्टिपात गर्दा अबको सरकार, भारी मतको सरकार ! २०४८ साल पछिको यो नै यस्तो सरकार हो जहाँ कुनै मिलिजुली, कुनै गठबन्धन, कुनै मलाइभ्यारी (स्वार्थको मेलमिलाप), कुनै देख–छन्द (बाहिरी ढोंग)को जरुरी छैन । एक घण्टी, एकमना स्वर, एक लहरभित्रको पंक्तिबद्ध यो अपूर्व सरकार !
नेपाली मतदाताहरूको तथापि अर्को सुकिलो स्वर, राय वा सुझाव छ – यसमा मतको मात नलागोस्, उन्माद नआओस् । यदाकदा त्यस्तो आकारमा अहंकार पैदा हुँदा मत भार बेकार बनेको र मताधिकारीको आशा–आग्रह टुटफुट भएको पनि इतिहास छ । मूल कुरा अबको सरकारले पाएको मतको भारी त राम्ररी जोगिएर बोक्नै पर्छ, साथसाथै मत दिनेहरूको मनलाई गहिरिएर बुझेर तदनुरूप कार्यभार पूरा गर्दै जानुपर्छ । व्यक्तिभन्दा समाज, समूह र दल माथिल्लो हो, अनि त्योभन्दा पनि ठुलो विषय विशेष आफ्नो देश हो । देशले खोजेको देशीय परिवेश हो ।
आफन्त होइन, पात्र र पारखको प्रश्न
सरकार चुनाव जित्नेको मात्र होइन, हार्नेको पनि हो । व्यक्ति, दल वा विचार–सिद्धान्त र आदर्श जसका जे–जे भए पनि जित देशको हुनुपर्छ, हित देशवासीको हुनुपर्छ । ‘नेपालको जय होस्, नेपाली मात्रको भलो होस्’ भन्ने नै सरकारको ध्येय हुनुपर्छ । यसका निम्ति आफन्त भाव, परिवारवाद, दलगत परिधिभित्रको स्वार्थ, मोह तथा लोभानी–पापानीको स्थितिबाट उठेर सरकारका काम कारबाही र सही कारोबार अघि बढ्नुपर्छ ।
आफन्तभन्दा पात्रत्व विशिष्ट विषय हो । यथास्थानमा यथायोग्य पात्रको छनोट नगरी ‘राम्रो’ लाई भन्दा ‘मेरो’ लाई अंगाल्ने शैलीले नै हाम्रो राजनीति, राज्य व्यवस्था र देशको अवस्था बिग्रेको हो । त्यसैले असल व्यक्तिको चयन र सही पात्रको पारखउपर सरकारको चनाखो नजर रहनुपर्छ । घुमिफिरी उही र उस्तै वरिपरि चल्ने हो भने त्यसले नतिजा राम्रो निकाल्दैन ।
स्वत्वमै हाम्रो अस्तित्व
आफू जे हो, जस्तो हो र आफूसँग भएको आफ्नो जे–जे हो, त्यो नै त्यसको अस्तित्व हो । कसैको पनि प्रभुत्व भनेको उसभित्र निहित उसको त्यही प्राकृत विषयवस्तु, साधन र सीप नै हो । साम्राज्यवाद र सामन्तवाद अब छैन भनिए पनि प्रकारान्तरको प्रभुत्ववादको फणा अहिलेको विश्वमा उठेकै छ । त्यस्तो प्रभुतावादभित्र परेर लम्पसारवादमा उभिनु लज्जास्पद हुन्छ । हरेकले आफू र आफ्नोलाई प्रभु ठान्नु मात्र अन्ध राष्ट्रवाद होइन, त्यो त अस्तित्ववादको जडीतŒव हो । त्यसैले स्वत्व परित्यक्त होइन, परिभाषित हुँदै जानुपर्छ । नयाँ सरकारसँग राष्ट्रिय सरोकारको यो सन्दर्भ पनि जनजनको मनभित्र मडारिएको छ ।
काग होइन, कान छाम्ने
कागले कान लग्यो भन्दैमा कागतिर दौडिने होइन, पहिले विचार गर्ने । आफैँसित भएको हातले कान छाम्यौँ भने त त्यो अफवाह थाहा भइहाल्छ । राजनीति र राजकाजी गतिविधिमा पनि कानको होस् नगरी कागतिर दौडिने–दौडाउने प्रवृत्ति व्याप्त छ । यसउपर अबको नेपाल सरकार सावधान रहनुपर्छ । गएको चुनावमा घण्टी चिह्न जसप्रकार चर्चित र गुञ्जित भयो, त्यसमा पनि कतिलाई यस्तै ‘कागदौड’ को अनुभूति भयो । रास्वपाका विजयी नव–सांसद कतिले त आफैँ उद्घोष भावमा भनेका छन् – ‘यत्रो विधि तालले घण्टी घन्केला भन्ने कहाँ थियो र ?’ निश्चय नै सञ्जाल, सञ्चार र जोदाहा लहरको तालले यति विघ्न उपलब्धि प्रस्तुत भएर आयो ।
भन्यो, सुन्यो, गयो, सिद्धियो
हाम्रो राजनीति भन्ने र सुन्नेमा ज्यादा केन्द्रित छ । भाषण छाँटेर भोट हासिल गर्ने अनि मिठा भाषणको पर्रा छोडेर संसदीय हल थर्काउने कुरामै हाम्रो राजनीति बढी उद्यत छ । लोकप्रिय भाका भट्याएर भोटको पोको भर्ने अनि माननीय बनेर दुनो सोझ्याउने हाम्रो राजनीतिको चलनचल्ती हो । लोकतन्त्रमा प्रत्येक ५ वर्षमा हुने चुनावी चक्करमा हुने नव–प्रवर्तन र परावर्तन प्रायः यही हो । भन्नेले भन्छ, सुन्नेले पनि ‘हो क्यारे’ भनी मोहर खसाल्छ, चुनिएर गयो, सबैथोक भयो, सिद्धियो ।
यही रीतिको पुनरावृत्ति नै हाम्रो राजनीतिको नियति हो । त्यसैले घण्टी बजाएर मैदानमा भन्दै कराइएका कुरा कति पूरा हुने हुन्, सिंहदरबारको नयाँ सरकारसँग सधैँझैँ घरघरको सरोकार रहनु स्वाभाविकै हो ।
जोश र रोषभन्दा होस आवश्यक
राजनीतिमा जोश चाहिन्छ, ओज चाहिन्छ । तर अस्वाभाविक जोश निकालेर विपक्षीप्रति ‘निषेधात्मक’ तौरतरिका अंगाल्नुभन्दा सोच–समझका साथ होसपूर्वक अघि बढ्नाले नै राजनीतिले गति लिन्छ । ‘घण्टी राजनीति’ का विजयी हस्तीहरू अधिकतर जोसिला त छन् नै, साथसाथै पढेलेखेका, देश–परदेश देखेका डाक्टर, इन्जिनियर, वकील, पत्रकार, पूर्व प्रहरी–प्रशासक छन् । त्यसैले जोशका साथ जनआकांक्षा परिपूर्तिको काम गर्ने हो र होसका साथ अघि बढ्ने हो ।
कार्यभारको आधार आमसरोकार
नेपाल देशको शासनाधिकार अर्थात् कार्यभार घण्टीघरको रास्वपा दलका जिम्मेवारहरूलाई प्राप्त भएको छ । ५० वर्ष उमेर पार नगरेका उनीहरूको यो जाँगर र जोश लहरउपर घरघरको भर–भरोसा भरपूर पाइन्छ । कतिपयले निश्चित नीति–सिद्धान्त र कार्यकारी कौशल नभएका यी आलाकाँचाबाट मुलुक कता जाला ? भन्ने संशय पनि राख्दछन् । चुनाव हुनुअघि रास्वपाले १०० दिन, ६ महिना, १ देखि ५ वर्ष र १० वर्षसम्मको अवधि तोकेर कार्ययात्रा, घोषणा तथा प्रतिबद्धता पनि औँल्याएको छ । उसले ‘करारनामा पत्र’ नै भनेर ठिकठाकको ठोकुवा रूपरेखा पनि मतदातासमक्ष प्रस्तुत गरेको हो ।
भक्ति, ज्ञान र विवेक
आगतका प्रत्येक सरकारसँग नागरिकहरूको सदा भइरहने आग्रह मूलतः देशभक्ति नै हो । राजनीति कुनै पेसा–व्यवसाय होइन, यो ‘सेवा क्षेत्र’ हो । प्रधानमन्त्रीका रूपमा घोषित भएर केन्द्रीय राजनीतिमा उत्रिएका बालेन शाहले ‘हामीलाई काम दिनुस्, हामी काम गर्न आएका हौँ’ भनेर भन्नुभएको कुरा ठिकै हो । धेरै नबोल्ने र ‘कामले नै देखाउन खोज्ने’ बालेनको बानी अब कसरी व्यवहारमा उत्रिने हो, त्यो परीक्षा हुँदै जाने कुरा हो ।
ज्ञान, विवेक र भक्तिका साथ कामको गति बढ्यो भने नै यो गहन जिम्मेवारी सार्थक हुने हो । धेरै ज्ञानी, गुणी र सुशिक्षित पात्र दिग्गज अभियन्ता नेता भएर सेवा क्षेत्रमा उत्रिएकाहरूले अब सुमति कर्म व्यवहारमै उतार्नुपर्छ । अन्यथा महाकवि देवकोटाले भनेझैँ, ‘न भक्ति भो, न ज्ञान न भो विवेक, आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने उद्गार निस्कन सक्छ ।
कामलाई पूजा मानौँ, सत्यको भक्ति गरौँ, राष्ट्र र राष्ट्रवासीको सेवालाई धर्म ठानेर ज्ञान–विवेक लगाएर उन्मुक्तिको मार्गतर्फ अग्रसर रहौँ । उत्पादन, उद्योगधन्दा, आत्मनिर्भरता, सुलभ शिक्षा, स्वास्थ्य र सुशासन – यिनै हुन् घरघरका सरोकारका कुरा । फजुल खर्च घटाएर आफ्नै श्रम, सीप र स्रोतबाट अघि बढ्ने आँट गरियो भने नहुने कुरा छैन । सहकारीका बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाऊन्, ठगी गर्नेहरू नउम्किऊन् । न्याय र प्रशासनिक सेवा झन्झटिलो नहोस्, यही हो घरघरको अपेक्षा ।
सिंहदरबारको सिँढी चढ्दै गरेको सरकार ‘बेकार’ को होइन ‘जिम्मेवार’ बनोस् । धमिलो र कुटिल विश्वमा नेपाललाई बचाएर ‘शान्ति क्षेत्र’ भएर उन्नतितर्फ अघि बढोस् । पृथ्वीनारायण शाहले जोडेको र पुर्खाहरूले जोगाएको हाम्रो देश उज्यालो दिशातर्फ बढ्दै जाओस् ।
निष्कर्ष
नेपालमा वि.सं. १९०३ देखि २००७ सम्म दुई धार, दुई सरकार र दुई दरबारको शासन यात्रा थियो । अहिले बालेन र रविको मान–शान र आसनलाई पनि कताकता त्यसै गरी मापन गरिन्छ । ‘कम बोल्ने बालेन’ र ‘धेरै बोल्ने रवि’ बीचको यो नयाँ राजनीतिक शक्ति कति सन्तुलित तवरले चल्ने हो ? प्रतीक्षा आगामी घडीकै छ ।
पार्टी सभापति रविले घण्टी चिह्नबाट चुनिएका सांसदहरूसँग बोल्दा नरम र गरम दुवै धारमा गहन निर्देशन दिएका छन् । संविधान, संसदीय परिपाटी र विधानप्रतिको मान्यता तथा जनअपेक्षा पूर्तिको आतुरता उनको सम्बोधनमा अभिव्यक्त भएको छ । हेरौँ – सिंहदरबार चढ्दै गरेको सरकार र घण्टीघरको राजनीतिले घरघरको सरोकारलाई कसरी साक्षात्कार गर्दै जाने हो ! (सौर्य अनलाइनबाट साभार)
८ चैत्र २०८२, आईतवार १०:४५