नताशाहरूले जिउँदै मर्नु नपरोस् !

रविन्द्र केसी

लेखकले हाइटीमा बिताएका पलहरू सम्झिएका छन्, जहाँ उनले नताशा नाम गरेकी एक युवतीलाई भेटेका थिए।
हाइटीको राजनीतिक अस्थिरता, गरिबी, र प्राकृतिक विपत्तिबारे लेखकले चिन्ता व्यक्त गरेका छन्।
लेखकले हाइटीका नागरिकहरूको साहस, धैर्यता, र आशावादी चरित्रको प्रशंसा गरेका छन्।
यतिबेला म पृथ्वीको अर्कै गोलाद्र्धमा छु । तिम्रो सम्झनाले लछप्पै भिजेको छु । थाहा छैन, अहिले तिमी कहाँ छ्यौ ? कुन अवस्थामा छ्यौ ? यो संसारमै छ्यौ कि अनन्तमा विलीन भइसक्यौ ? मेरो कल्पनामा भने तिमी आज पनि उसैगरी मुस्कुराएकी छौ, जसरी तिम्रो देशमा हिबिस्कस, बेगनबेली, अर्किडका सुन्दर फूलहरू मुस्कुराउँछन् ।


तिमीलाई याद छ नताशा, हाम्रो पहिलो भेट कहाँ भएको थियो ? त्यो नोभेम्बरको न्यानो बिहानी थियो । कलिलो घामको प्रेमिल स्पर्शमा क्यारिबियन सागरको नीलो पानी सुनौला रङमा जगमगाइरहेको थियो । किनारमा एलो एल्डरका पहेँला फूलहरू फुलेका थिए । कोस्टल ज्याक बिनका बैजनी फूलहरू पनि त्यसैगरी मुस्कुराएका थिए । तिमी रातो रङको फूलबुट्टे पहिरनमा थियौ । साँच्चै, तिमी फक्रिएको गुलमोहरजस्तै देखिएकी थियौ । त्यस दिन हाइटीको उत्तरी तटीय क्षेत्रको लावादी बिचमा एउटा कार्यक्रम थियो । हामी त्यहीँ भेटिएका थियौँ पहिलोपटक । त्यतिबेला म औधि खुसी भएको थिएँ, जति बेला तिमीले संक्षिप्त भए पनि मसँग अङ्ग्रेजी भाषामा कुरा गरेकी थियौ । नत्र तिम्रो देशमा बोलिने फ्रेन्च र क्रियोल भाषा हाम्रा लागि महाभारत नै हुन्थ्यो । त्यही दिन हो, मैले धेरै समयपछि कुनै स्थानीयसँग दोहोरो कुराकानी गर्न पाएको पनि । भाषा नबुझेर लाटोजस्तै भएर बस्नुपर्दा मेरो अत्यास त्यसै दिन मेटिएको थियो र म निकै बेरसम्म प्रशन्न भएको थिएँ ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
हिजैजस्तो मात्रै लाग्छ नताशा ! म पोर्ट–औ–प्रिन्स विमानस्थलबाट भावुक मन लिएर बिदा भएको । अमेरिकी एयरलायन्सको हाम्रो जहाज निकै माथि पुगेपछि मैले अन्तिमपटक तिम्रो देशको सुन्दर भूगोलमा नजर फिँजाएको थिएँ । त्यति बेला म अझै भावुक थिएँ । मनमा आफ्नो देश फर्किन पाउँदाको खुसी र तिमीहरूसँग छुट्टिनु पर्दाको खल्लोपन दुवै थिए तर ती निकै विरोधाभासी थिएँ । र पनि समयको बाटो त्यही थियो । म त्यसैमा समाहित भएँ । हेर त, आज दशकौँ पो बितिसकेछ । यसो सोच्छु, बढ्ने त वर्षहरू मात्र रहेछन्, मनको दूरी कहाँ बढ्दो रहेछ र नताशा !


मेरो मनमा सम्झनाहरू अनगिन्ती छन् । डो¥याउँदै मलाई तिम्रै देशमा पु¥याउँछन् । बेलाबखत फोटोहरू पनि हेर्छु । ती पलहरू अझ विशेष हुने गर्दछन् । अक्सर म फोटोहरूमा त्यहाँ हुँदाका अनुभूतिहरू मिसाउँछु । तिम्रो कला, सांस्कृतिक वैभवलाई श्रद्धाका फूल चढाउँछु । प्राकृतिक सुन्दरताको अझ बढी अनुरागी हुन्छु । कहिले क्यापहाइसन सहरबाट करिब २७ किलोमिटरको दूरीमा रहेको १९औँ शताब्दीमा निर्मित विशाल पहाडी किल्ला ‘सिटाडेल’ पुगेर सुस्ताउँछु । कहिले त्यसैको नजिकको मिलोट सहरमा रहेको तत्कालीन राजा हेनरी क्रिस्टोफको ऐतिहासिक दरबार ‘साँ–सुसी प्यालेस’का भग्नावशेषहरू हेरेर भावुक हुन्छु । कहिले पोर्ट–औ–प्रिन्सको ‘म्युजी डु पान्थोन नेसनल हाइसियन’ सङ्ग्रहालयका ऐतिहासिक कालखण्डहरूमा हराउँछु । कहिले दक्षिणी तटीय सहर ज्याकमेल नजिकैको ‘बेसिन ब्लु’का कञ्चन झरनाहरू हेरेर मोहित हुन्छु । अब त सम्झनाले नै त रहेछ नि नताशा, मैले तिम्रो देशलाई स्पर्श गर्ने !

कहिलेकाहीँ म अलि बहकिन्छु । निकै दुःखी हुन्छु ! थाहा छ किन ? तिम्रो देशमा धेरै विश्व सम्पदाहरू छन् । विशाल समुद्र छ । बहुमूल्य खनिजहरू छन् । सुन्दर पर्यटकीय स्थलहरू छन् । उर्वर जनशक्ति छ तर आज पनि त्यहाँ दरिद्रताको घनघोर अँध्यारो छ । त्यो युगौँ लामो दुर्भाग्यपूर्ण उपनिवेश र गृहयुद्धको परिणाम हो भन्ने मैले बुझेको छु, तर पनि कल्पना गर्छु ती निधिहरूको उपयोग हुन सकेको भए आज तिम्रो देश समृद्धिको कुन उचाइमा हुन्थ्यो होला ! जीवन र चेतना कति अकासिन्थ्यो होला ! अक्सर यस्ता सोचहरूले मलाई खिन्न बनाउँछन् ।

नताशा ! एक दिन म पोर्ट–औ–प्रिन्सको स्टेट युनिभर्सिटी अफ हाइटी गएको थिएँ । त्यहाँ एक जना बौद्धिक व्यक्तित्वसँग भेटेँ । भेट निकै महत्त्वपूर्ण थियो । हाम्रा बिचमा तिम्रो देशको इतिहासको बारेमा कुरा भए । उनले तिमीहरूमाथिका युगीन बर्बरताका कथाहरू भने । आँसुका कैयौँ ‘दास्तान’हरू सुनाए । उनी भन्थे, ‘सन् १६९७ देखि फ्रेन्च उपनिवेश सुरु भयो । नागरिकहरूलाई दास बनाइयो । चरम यातनाहरू दिइयो । अवर्णनीय विभेद गरियो तर ती उत्पीडनहरूले नै हाम्रो मुक्तिको बाटो खोले । सन् १७९१ देखि दास विद्रोह सुरु भयो । त्यसैको बलमा सन् १८०४ मा हामी उपनिवेशमुक्त भयौँ । त्यसपछि पनि हाम्रो नियति बदलिएन ।’

उनले भन्दै गए, ‘दुर्भाग्य ! हामी स्वतन्त्र त भयौँ । तर फ्रान्सले नै अन्तर्राष्ट्रिय मान्यता दिएन । क्षतिपूर्तिको रूपमा १५ करोड फ्राङ्क दिनुपर्ने भयो । हामी वैदेशिक ऋणमा डुब्यौँ । दाताहरूले नीतिगत हस्तक्षेप गर्दै गए । मुलुकमा निष्ठावान् राजनेता भएनन् । समृद्ध राजनीतिक प्रणाली भएन । पुनः गृहयुद्धमा धकेलियौँ । उत्तर अमेरिकी महादेशको रणनीतिक अवस्थिति पनि हाम्रो लागि अर्को अभिशाप भइदियो । विदेशीहरूलाई आफ्नो राष्ट्रिय हितको लागि जसरी भए पनि हाम्रो भूमिमा बस्नु थियो । हामीले गृहयुद्धको रूपमा उनीहरूलाई आधारभूमि दियौँ । शान्तिको बहानामा उनीहरू भित्र छिरे । आफ्नै स्वार्थको परेड खेल्दै गए । शान्ति र स्थिरताका लागि खासै योगदान गरेनन् । हाम्रो धनजनको अपूरणीय क्षति रोकिएन ।

मैले अन्तिमपटक तिम्रो देशको सुन्दर भूगोलमा नजर फिँजाएको थिएँ । त्यति बेला म अझै भावुक थिएँ । मनमा आफ्नो देश फर्किन पाउँदाको खुसी र तिमीहरूसँग छुट्टिनु पर्दाको खल्लोपन दुवै थिए तर ती निकै विरोधाभासी थिएँ ।
‘सन् १९१५ देखि सन् १९३४ सम्म अमेरिकाले कब्जा ग¥यो । ऊ फर्केपछि हामीसँग प्रशस्त अवसरहरू थिए । चुनौतीहरू पनि थिए तर तिनलाई शान्ति, स्थिरता र विकासमा रूपान्तरण गर्न सकेनौँ । वर्षौंदेखिका ‘क्रोनिक समस्याहरू’ झन् जटिल हुँदै गए, द्वन्द्व चर्किंदै गयो । हजारौँ मानिसहरू मारिए । हजारौँ बेपत्ता पारिए । हजारौँ बलात्कृत भए । हजारौँ बेसहारा भए । हजारौँ टुहुरा भए । युगौँदेखि हाम्रो नियति यस्तै छ, यहाँ भाग्यमानीले मात्र स्वाभाविक मृत्युवरण गर्न पाउँछ, नत्र, हामी कि भोकले मर्छौं, कि उपचार नपाएर मर्छौं, कि गोली खान्छौँ कि घाँटी रेटेर मारिन्छौँ ।’ त्यसभन्दा बढी उनी बोल्न सकेनन् । म पनि निःशब्द भएँ ।

आज पनि म सम्झिन्छु, कति भयावह थिए ती दिनहरू ! देशैभरि युद्ध मडारिएको हुन्थ्यो । सर्वत्र मृत्युको त्रास थियो । तैपनि तिमीहरूको दिनचर्या सामान्यजस्तै देखिन्थ्यो । अचम्म लाग्थ्यो ! यत्तिको दुस्साहस गर्न चानचुने मुटुले पुग्थ्यो ? कहाँबाट आउँथ्यो त्यत्रो हिम्मत ? कसरी जगाएर राख्थ्यौ आशाको दियो ? त्यो त्रासदीबिच के तिमीहरू कहिल्यै निदाउन सक्थ्यौ ? निदाइहाल्यौ भने पनि कस्तो सपना देख्थ्यौ ? अर्को दिन बाँचिने देख्थ्यौ कि मरिने देख्थ्यौ, नताशा ? आज पनि म चकित पर्छु ! तिमीहरूको अदम्य साहस, धैर्यता र आशावादी चरित्रप्रति नतमस्तक हुन्छु ।

नताशा ! एक वर्ष त्यहाँ राष्ट्रसङ्घीय मिसनमा रहेर काम गरेँ । मेरो भावनात्मक सामीप्य छ तिम्रो देशसँग । म नेपाल फर्केपछि पनि त्यहाँको निकै चासो राख्थेँ । सम्झिन्छु, सन् २०१० जनवरी १२ मा तिमीहरू महाविनाशकारी भूकम्पमा प¥यौ । करिब तीन लाख आफन्तहरू गुमायौ । भूकम्पलगत्तै फेरि हैजाको पनि महामारी फैलियो । त्यसले पनि दसौँ हजारको ज्यान लियो । एकातिर भीषण गृहयुद्ध, अर्कोतिर निरीह राज्य प्रणाली ! ती महाविपत्तिहरूको व्यवस्थापन कसरी ग¥यौ होला तिमीहरूले ? सोच्छु, कतिको त लासै फेला परेन होला, कति उद्धार पर्खिंदापर्खिंदै मरे होलान्, कतिले उपचार नपाएर बिते होलान्, कतिले खान नपाएर ज्यान गुमाए होलान् ? मानव सभ्यतामाथि बिरलै थोपरिने त्यस्तो भयावह सङ्कट कसरी सामना ग¥यौ होला तिमीहरूले ? कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ नताशा !

हामी मिसनको मध्यतिर थियौँ । तिमीले हाम्रै अफिसमा काम पायौ । शालीन, सुन्दर र सहृदयी थियौ । छोटै समयमा सबैसँग घुलमिल भयौ । सबैको मन जित्यौ । एक दिन त्यस्तै प्रसङ्ग चल्दै थियो, तिमी एकाएक भावुक भयौ र छातीमा भक्कानो पार्दै आफ्ना व्यथा पोख्दै गयौ ।

‘जनवरीको चिसो रातको समय थियो । बाहिर अन्धाधुन्ध गोली पड्किन थाल्यो । कसोकसो गरेर म त भाग्न सफल भएँ । तर, बाआमा र भाइलाई उनीहरूले घरभित्रै गोली हानेर मारे । थोरै पैसा र गरगहना थिए । त्यो पनि लिएर गए । बहिनीलाई बेहोस नहुन्जेलसम्म बलात्कार गरेछन् । पछि मरी होला सोचेर छोडेर गएछन् । भोलिपल्टसम्म पनि धुकधुकी त बाँकी थियो । तर, बचाउन सकिएन ।’ तिमीले आँसु पुछेर भन्दै गयौ, ‘जसरी मैले सबथोक गुमाएँ, त्यसैगरी यहाँ हजारौँ अरू पनि उजाडिएका छन् ! …कसको मुख हेरेर बाँच्ने ? केको आसले बाँच्ने ? किन बाँच्ने ? कसैलाई थाहा छैन तर पनि हामी मर्न चाहँदैनौँ, यो जीवनमोह पनि अचम्मको हुँदो रहेछ । मृत्युले भन्दा पनि यसले कैयौँ गुणा बढी पीडा दिँदो रहेछ !’ कस्तो मुटु चुँडाल्ने कुरा गरेकी थियौ त्यस दिन तिमीले ! हामी सबै रोएका थियौँ नताशा !

जब तिम्रो देशको बारेमा सोच्छु, कुपोषणले सुकेका ती बालबालिकाहरूका निर्दोष अनुहारहरू सम्झिन्छु । अस्थिपञ्जर शरीर लिएर बाँच्न सङ्घर्षरत जवान महिलाहरूका भावहीन अनुहार सम्झिन्छु । भोकले आलसतालस भएका ज्येष्ठ नागरिकहरूका लाचार जिजीविषा सम्झिन्छु । प्रचण्ड घाममा नीमको रुखमुनि बसेर हात फैलाइरहेका अशक्तहरूका असीम तिर्सना सम्झिन्छु । तिनीहरूका आँसु सम्झिन्छु । पीडा सम्झिन्छु । आक्रोशहरू सम्झिन्छु । भावविह्वल हुन्छु र सोच्छु, ‘ओहो ! एउटा जीवन बाँच्न पनि कति कठिन हुँदोरहेछ !’

साँच्चै नताशा, युद्धले जीवनलाई नै अलग ढङ्गले परिभाषित गरिदिएको थियो जस्तो लाग्छ मलाई त्यहाँ । लाग्थ्यो, त्यसमा दया, माया, करुणा केही पनि थिएन । केवल आफैँ बाँच्ने अभीप्सा थियो । बाँच्नका लागि मर्न र मार्न पनि नहिचकिचाउने संवेदनहीनता थियो । निकै दुःख लाग्थ्यो । भित्रैबाट अनुभूति हुन्थ्यो ‘जब आँखाअगाडि आफ्नै मृत्यु देखिन्छ, त्यसपछि अरू कसको मतलब हुँदो रहेछ र मान्छेलाई !’ अहिले यसो सोच्छु, हुन त जीवनको सत्य पनि त्यही नै त हो । मान्छेलाई सबैभन्दा बढी आफ्नै जीवनको त चिन्ता लाग्छ त नि !

त्यहाँका महिलाहरू सम्झेर अहिले पनि मलाई श्रद्धा लाग्छ नताशा ! भोको पेट, नाङ्गो आङ, चरम विभेद र निराशहरूका बावजुद उनीहरू सधैँ शान्त र सौम्य देखिन्थे । बाँच्नुको मूल्यमा हरेक पल मर्थे तैपनि हाँसेकै हुन्थे । न खाने कुराहरू हुन्थे, न साथमा पैसा ! धेरैजसो किशोरीहरू पेटकै लागि यौन शोषणमा पर्थे । आफ्नै देशका कुलीन वर्ग र विदेशी कर्मचारीहरूको खेलौना बन्थे । गर्भ बस्थ्यो । वैकल्पिक उपाय थिएन । बच्चा जन्माउँथे । एक्लै पाल्न बाध्य हुन्थे । शरीरमा रगत हुन्जेल लुटिँदै जान्थे । त्यसपछि पागल कुकुरझैँ लखेटिन्थे । गुमनाम मर्थे । मानवतामाथिको यत्रो अन्याय मैले कहिल्यै देखेको थिइनँ, नताशा !

समय बित्दै गयो । तिमी अचानक अफिस आउन छोड्यौ । पछि एचआईभी एड्स भएको थाहा भयो । त्यो बेला त्यो रोग महामारीकै रूपमा थियो । हामी स्तब्ध भयौँ । तर, अचम्म लागेन ! किनकि यौन शोषणको जुन दलदलमा अरू भासिएका थिए, तिम्रो नियति त्यति धेरै फरक थिएन । हामी भेट्न गयौँ । निकै गलिसकेकी रहेछौ । साह्रै दुःख लाग्यो । सुस्वास्थ्यको कामना ग¥यौँ । साथै लगेका खानेकुराहरू दियौँ । फर्किने बेलामा तिम्रा गह आँसुले डम्म भरिएका थिए । तैपनि हामीलाई मुस्कुराएर बिदा ग¥यौ तर त्यो मुस्कानमा कति पनि उल्लास थिएन, केवल पीडा थियो । मृत्युको त्रास थियो । हामी सबै मर्माहत भयौँ । गहिरो सन्नाटामा डुब्यौँ ।

खुसीको कुरा ! केही महिनापछि तिमीसँग अचानक डाउनटाउनमा भेट भयो । अलि फेरिएकी रहेछौ । उपचारको राम्रो व्यवस्था मिलेछ । त्यो दिन हामीलाई निकै नै राहत महसुस भयो ।

दुर्भाग्य ! अहिलेको अवस्था त झन् भयावह भएको रहेछ । सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको हत्या भएपछि राज्य प्रणाली धराशायी भएको रहेछ । आपराधिक समूहहरूले राजधानीको दुई तिहाइ भाग नियन्त्रण लिइसकेछन् । हत्या, हिंसा, अपहरण र अवैध असुली मामुली कुरा जस्तै हुन थालेछ । अचम्म लाग्छ ! नियतिले पनि किन सधैँ तिमीहरूलाई मात्रै निमोठ्छ ? किन जीवन यति मूल्यहीन हुन पुग्छ त्यहाँ ? चिन्ता लाग्छ । सोच्छु, यो युगीन समस्याको समाधान कसरी होला ? कहिले होला ? कसले गरिदेला ? रनभुल्ल पर्छु ।

कुल २७,७५० वर्ग किलोमिटर क्षेत्रफल भएको उत्तर अमेरिकी महादेशको तिम्रो सुन्दर पहाडी अश्वेत गणराज्य, जहाँ मनग्य उर्वर जनशक्ति छ, समुद्र छ, मलिलो जमिन छ, धर्तीको सानो स्वर्ग बनिसक्नुपथ्र्यो । दुर्भाग्य ! आज त्यो रगत र आँसुको अर्को क्यारिबियन सागर भएको छ । लाखौँलाख निर्दोषहरूको चिहान भएको छ । विश्लेषकहरू भन्छन्– यस दुर्गतिको मुख्य जिम्मेवार तिम्रा देशका शासकहरू नै हुन्, जसले सत्ता, शक्ति र निजी सम्पत्तिबाहेक अरू केही सोचेनन् । व्यक्तिगत स्वार्थप्रेरित भएर शताब्दीयौँ लामो अधिनायकवादी शासन सञ्चालन गरे ।

तिमीलाई कतिको थाहा छ, नताशा ! फ्रेन्च उपनिवेशपछिका प्रथम राष्ट्रपति ज्याँ–ज्याक डेसालिनदेखि हेनरी क्रिस्टोफ, जीन–बट्रान्ड एरिस्टाइड, रेने प्रेभेल हुँदै हालका सङ्क्रमणकालीन राष्ट्रपतीय परिषद्का अध्यक्ष फ्रिट्ज अल्फोन्स जिनसम्म कैयौँले त्यहाँ शासन गरे । कतिले आफैँलाई सम्राट् घोषणा गरे । कतिले तानाशाही शासन सञ्चालन गरे । देशले कहिले पनि प्रजातान्त्रिक एवं जनउत्तरदायी चरित्रको राजनीतिक व्यवस्था पाएन । गतिशील दृष्टिकोणसहितको प्रतिबद्ध, इमानदार र दूरदर्शी नेतृत्व पाएन । निरन्तरको विदेशी हस्तक्षेप, अत्यधिक भ्रष्टाचार, दण्डहीनता र शिक्षा, स्वास्थ्य एवम् खाद्यान्न सङ्कटले गर्दा जनआक्रोश बढ्दै गयो । र, देश अन्त्यहीन गृहयुद्धको भुमरीबाट निस्किनै सकेन ।

तिम्रो देशको सङ्कटलाई गहिरिएर हेर्दा सतहमा अरू सहायक कारणहरू पनि देखा पर्छन् । तर, यो महाविपत्तिको मूल जड देशको भ्रष्ट राजनीति र भ्रष्ट राजनीतिज्ञहरू नै हुन् भनी विश्लेषण गरिएको पाइन्छ । देख्यौ त ! सत्ता, शक्ति र स्वार्थप्रेरित राजनीतिले कसरी लाखौँलाख जीवनहरू खरानी भए ! हाम्रो देशमा पनि विगतदेखि नै त्यस्तै खाले विसङ्गतिहरू देखा पर्दै आएछन् । चिन्ता लाग्छ नताशा ! कुनै दिन हाम्रो देश अर्को हाइटी नबनोस् ।

आज विश्व एड्स दिवस ! तिम्रो पूर्ण स्वास्थ्य लाभ र कुशलताको कामना गर्छु । आज अलि भावुक भएको छु । शब्दहरू बहकिएका छन् । तर, यी तिम्रो महान् देश, महान् नागरिकहरू र तिमीप्रति समर्पित छन् । श्रद्धा, सद्भाव र सम्मानले ओतप्रोत छन् । शान्ति र समृद्धिका अभिलाषी छन् । तर, थाहा छैन नताशा ! त्यो शान्ति तिम्रो देशबाट अझै कति टाढा छ ? र पनि म हृदयदेखि कामना गर्छु– अब यो मानवताविरुद्धको अपराध यहीँ रोकियोस् । कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् । नताशाहरूले जिउँदै मर्नु नपरोस ! (रातोपाटीबाट साभार)

२२ श्रावण २०८२, बुधबार ११:२५