धुलिखेल–खावा सडकखण्ड दुई सातासम्म राति बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

जनतापत्र,सिन्धुपाल्चोक ।
अरनिको लोकमार्ग अन्तर्गत पर्ने धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका कारण केही समय रातिको सवारी आवागमन रोक लगाइने भएको छ। भक्तपुर सडक डिभिजन कार्यालयका अनुसार चैत ७ गतेदेखि २० गतेसम्म सो सडकखण्डमा राति सवारी सञ्चालनमा प्रतिबन्ध लगाइनेछ। यस अवधिमा हरेक दिन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारी साधन र यात्रुवाहक बस चल्न नपाइने व्यवस्था गरिएको छ।


सडकमा कालोपत्रे गर्ने कार्य सुरक्षित र सहज रूपमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिएका छन्। काम भइरहेको अवधिभर पास प्राप्त गरेका टिपर तथा ट्रकलाई समेत उक्त सडकखण्ड प्रयोग गर्न नदिने निर्णय गरिएको छ। सवारी चालक तथा यात्रुहरूलाई आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

२९ फाल्गुन २०८२, शुक्रबार १७:४५