धुलिखेलमा विवाद रूपान्तरण कार्यक्रमले शान्ति अभियानलाई टेवा


जनतापत्र, काभ्रे ।

प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले सञ्चालन गरेको कार्यक्रमले शान्ति अभियानलाई बल पुगेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यञ्जुले बताएका छन् ।
धुलिखेल नगरपालिका–१२ स्थित शंखेश्वर महालक्ष्मी माध्यमिक विद्यालयको सिमाना सम्बन्धी विवाद रूपान्तरण पश्चातको अवस्था विश्लेषणका लागि आयोजित केस पुनरावलोकनको क्रममा उनले सो कुरा बताएका हुन् । प्रमुख ब्यन्जुका अनुसार संस्थाले अवलम्बन गरेको कार्यशैली प्रभावकारी देखिएको छ भने आर्थिक पारदर्शिता र समुदायमा मेलमिलापको वातावरण बनाउन सफल भएको छ ।
“नगरपालिकाभित्रका विवादलाई रूपान्तरण गर्न र नागरिकमा मेलमिलापको भावना जगाउन हामी संस्थासँग हातेमालो गर्छौं,” प्रमुख ब्यञ्जुले भने, “नगरपालिकालाई केन्द्र बनाएर काम गर्नुस्, आर्थिक पक्षमा व्यवस्था हामी गर्छौं ।” संस्थाले छरिएर भन्दा नि पालिका केन्द्रीत गरेर कार्यक्रम संचालन गर्न संस्थालाई सुझाव समेत दिए । उनले संस्था र पालिका मिलेर शान्तीको क्षेत्रमा नमुना नगरपालिका वनाउन लाग्ने धारणा समेत व्यक्त गरे ।


सो क्रममा उपप्रमुख निराजन जंगमले पनि संस्थाले गरेका काम प्रशंसनीय रहेको बताए । उनले संस्थाले समुदायमा रहेका विवादलाई पटक–पटक संवाद गरी मिलाउने काम गर्दै आएको र न्यायिक समितिलाई सहयोग पु¥याएको उल्लेख गरे । अन्य संस्थाको तुलनामा यो संस्था आर्थिक हिसाबले समेत पारदर्शी रहेको उनको भनाइ थियो ।
यस्तै, वडा नं. १२ का अध्यक्ष मोहन प्रसाद लामिछानेले संस्थाको “फाटेको मन सिउने अभियान” वास्तवमै सामाजिक एकताको लागि भएको बताए । उनले शंखेश्वर महालक्ष्मी माध्यमिक विद्यालयको सिमाना विवाद समाधानमा संस्थाले महत्त्वपूर्ण योगदान पु¥याएको जनाउँदै त्यसलाई प्रशंसनीय कार्य भने ।
कार्यक्रममा संस्थाले विवाद रूपान्तरण पश्चातको अवस्था विश्लेषण गर्न भदौं २ गतेदेखि ४ गते सम्म केस पुनरावलोकन गरेको थियो । सो पुनरावलोकन टिममा संस्थाका कार्यक्रम विकास अधिकृत मिना सुयाल, क्षेत्रिय संयोजक रिता मानन्धर , राष्ट्रिय श्रोत व्यक्ती गंगा दोङ , सहजकर्ता टिका सुवेदी र सरस्वति श्रेष्ठ रहेका थिए ।

४ भाद्र २०८२, बुधबार १८:४७