/*php the_title();*/?>


कृष्ण गौतम ,लालबन्दी–१६,सर्लाही
धुरी चढेपछि बलेनीमा झर्न मिल्दैन र ? यो प्रश्न अहिलेको नेपाली राजनीतिमा घनघोर बहसको विषय बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेत गरेपछि चिया पसलदेखि तारे होटलसम्म र चौतारी देखि सिंहदरबारसम्म यो प्रश्नको चर्को प्रतिध्वनि सुनिन थालेको छ । यसले देशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ ।
यस विषयमा नेकपा एमालेले कडा प्रतिक्रिया जनाउँदै विद्या भण्डारीको पार्टी सदस्यता खारेज मात्र गरेन, उनका पक्षमा उभिने सम्भावित नेताहरूलाई चेतावनी दिन २१ सदस्यीय पदाधिकारी संख्यालाई महाधिवेशन अगावै वरिष्ठ उपाध्यक्षसहित ७ पद खारेज गरी १५ सदस्यीयमा झारेको छ । नयाँ राजनीतिक घटनाक्रम नभएसम्म यो विषयले केही दिन राजनीतिक बजारलाई तताइरहने देखिन्छ ।
यसअघि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि सक्रिय राजनीतिमा फर्किसकेका छन् । तर, उनको सक्रियताले खासै ठूलो हलचल ल्याएन, बरु उनकै पार्टी र सामाजिक सञ्जालमा मात्र सीमित रह्यो । अहिले माओवादी केन्द्रभित्र यसै विषयका कारण आन्तरिक सङ्घर्ष चुलिएको सहजै अनुमान गर्न सकिन्छ । जसले पार्टीभित्र ठूलै हलचल ल्याउने सङ्केत देखिएको छ ।
पद र प्रतिष्ठाको नेपाली सरोकार
नेपाली समाजमा पदलाई प्रतिष्ठासँग, प्रतिष्ठालाई अमरत्वसँग र देवत्व प्राप्तिको माध्यमका रूपमा बुझिन्छ । विशेषगरी नेपालका कम्युनिष्ट पार्टीहरूमा एकपटक उच्च पदमा पुगेपछि जीवनभर पद नछोड्ने प्रवृत्ति हावी छ भन्दा फरक नपर्ला ।
उदाहरणका लागि, अर्धभूमिगत अवस्थाबाट भर्खरै खुला भएका धुरन्धर कम्युनिष्ट नेता मोहनविक्रम सिंह २०३१ सालदेखि अहिले ९१ वर्षको उमेरमा पनि पार्टीको महामन्त्री नै छन् । बीचमा एक–दुई वर्ष कारबाहीमा परेको अवधि घटाउँदा पनि उनी करिब ५० वर्षदेखि निरन्तर मुख्य नेतृत्वमा छन् । आफूलाई मात्र सच्चा कम्युनिष्ट ठान्ने नारायणमान बिजुक्छे (रोहित) पनि २०३१ सालमा गठन भएको नेपाल मजदुर किसान पार्टीको आजसम्म अध्यक्ष नै छन् । २०४५ सालमा नेकपा मशालका महामन्त्रीका रूपमा पार्टी प्रमुखको यात्रा थालेका पुष्पकमल दाहाल निरन्तर ३७ वर्षदेखि पार्टी नेतृत्वमा छन् । यस्तै, २८ वर्षदेखि पार्टी महासचिव रहेका सी.पी. मैनाली वा २६ वर्षदेखि नेतृत्वमा रहेका चित्रबहादुर के.सी. लगायतको व्यवहार कुनै पनि हिसाबले जनवादी र लोकतान्त्रिक देखिँदैन । तैपनि उनीहरू आफूलाई नै क्रान्तिकारी र अब्बल प्रमाणित गर्न सधैँ लागिपरेका छन् ।
वर्तमान नेतृत्वहरूको कार्यशैली हेर्दा पद नभए प्रतिष्ठा पनि नपाइने र आफूले गरेका कर्मको फल भोग्नुपर्ने डरले उनीहरू पदमा नै रहिरहन खोजेको कुरा छर्लङ्ग छ ।
पद र मर्यादाको सही अर्थ
पद के हो त? नेपाली शब्दकोश अनुसार पद भनेको योग्यता, काम वा महत्वका आधारमा निश्चित गरिएको पदवी वा उपाधि हो । तर, शब्दकोशमा अथ्र्याइए अनुसार नेपाली समाजमा योग्यता, काम वा महत्वका आधारमा पदाधिकारी चयन भएको देखिँदैन ।
नेपालमा ूच्ष्नजत एबिअभ च्ष्नजत ःभलू (ठीक ठाउँमा ठीक मान्छे) पुग्न नसकेको कुरा सर्वविदितै छ । ठीक ठाउँमा ठीक मान्छे पुग्न नसकेपछि व्यक्ति, पद र मर्यादाको तालमेल मिल्न सक्ने कुरै भएन । पद अनुसारको मर्यादा विरलै मात्र कायम भएको पाइन्छ । पूर्व राष्ट्रपतिलाई मर्यादाका नाममा नागरिक अधिकारबाट वञ्चित गरिनु कुनै पनि हालतमा राम्रो कुरा होइन ।
मर्यादा के हो त? नेपाली शब्दकोश अनुसार मर्यादा भनेको इज्जत, प्रतिष्ठा, मान, कबुल, प्रतिज्ञा, सीमा, हद, अवधि, नैतिक बन्धन, प्रचलित नियम, सामाजिक अनुशासन, सदाचार, धर्म र सामाजिक आचरण हो । शाब्दिक अर्थअनुसार पनि प्रचलित नियम कानुनले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई राजनीतिमा सक्रिय हुन कुनै रोकतोक गर्दैन । बरु गणतन्त्रमा पूर्व राष्ट्रप्रमुख भइसकेका व्यक्ति पनि सामान्य नागरिकसरह हुन्छन् भन्ने सन्देश दिन सकिन्छ । यसले गणतान्त्रिक संस्कृतिको विकासमा समेत मद्दत पुग्न सक्छ ।
सामाजिक र राजनीतिक मर्यादाको विडम्बना
नेपालमा मर्यादाको अभ्यास पनि अचम्मको छ । सामाजिक मर्यादा जातीय वर्णानुक्रम अनुसार रहेको छ । सोहीअनुसार साइनो लगाएर सम्बोधन गरिन्छ । बाहुनलाई जन्मँदै बाजेबराजु, क्षेत्रीलाई काजी, वैश्य गरिब भए पनि साहुजी र शूद्रलाई भने बूढो नै भए पनि हेय दृष्टिले सम्बोधन गर्ने चलनलाई पनि मर्यादा नै भनिन्छ र मानिन्छ । के यस्तो विभेदकारी सामाजिक मार्यादाले सामाजिक सदभाव कायम राख्न सकिन्छ र ?
वर्गीय रूपमा पनि धनी र गरिबको मर्यादा फरक पारिएको छ । लैङ्गिक रूपमा पनि पुरुषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जामा सीमित गरिएको छ । गाउँमा बस्नेभन्दा सहरमा बस्नेको मर्यादा बढी । मजदुरी नै गरे पनि विदेशमा गर्ने र स्वदेशमा गर्नेको मर्यादा फरक । विदेशमा पनि युरोप (अमेरिकामा मजदुरी गर्नेको मर्यादा माथि र खाडी मुलुकमा मजदुरी गर्नेको मर्यादा तल । यस्ता अभ्यासहरू हाम्रो समाजमा व्याप्त छन् । यस्ता सामाजिक सरोकारका विषयमा बहस छलफल गर्ने कसैलाई चासो पनि छैन, फुर्सद पनि छैन ।
राजनीतिक मर्यादाको कुरा गर्दा मतदाताभन्दा मत माग्ने ठूलोको अभ्यास भइरहेको छ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयकले उत्पादक शक्ति, कृषक, मजदुर (जनता) लाई कुनै पनि मर्यादामा राखेको छैन । उत्पादक शक्तिले उत्पादन गर्ने हो शासन सत्ता भनेको व्यवस्थापन हो । राज्य संचालन व्यवस्थापनको लागि जनताले छानेर पठाएका प्रतिनिधिलाई नै जनप्रतिनिधि भनिएको हो । यसरी हेर्दा जनता मालिक हुन् भने प्रतिनिधि सेवक हुन् । यस्तै व्याख्या गरेर होला राणा प्रधानमन्त्री श्री देवशमशेर जबरा आफूलाई राष्ट्रको नोकर हुँ भन्दथे ।
तर, अहिले गणतान्त्रिक व्यवस्थामा जनताको घरदैलोमा गएर हात जोडी अनुनय विनय गर्दै भोट मागेर कथित जनप्रतिनिधि बनेकाहरू चाहिँ मर्यादामा माथि हुने, भोट दिने जनता चाहिँ आन्दोलन र चुनावको बेलामा मात्र महान् हुने अरू बेला कुनै मर्यादा नै नहुने बनाइएको छ । जनप्रतिनिधि कसरी मर्यादामा माथि पठाउने जनता कसरी तल यक्ष प्रश्न सवैको सामु छ ?
सभासम्मेलनमा नेताहरू अग्लो ठाउँमा बनाइएको मञ्चमा सोफामा विराजमान हुने । जनता तातो घाममा भुइँमा बस्नुपर्ने । भाषण गर्दा जनताको लागि राजनीति गरेको, जनता नै महान् भन्दा ताली बजाउने तिनै जनताको यो मर्यादा नीतिसम्मत होला त? राजनीतिमा लागेकाहरूलाई मान सम्मानको भोक यति जाग्न थाल्यो कि नियमित हुने नगरसभा, गाउँसभामा कतिपय पालिकाले आफैँ आयोजक, आफैँ अतिथि भएर ठूलै युद्ध जितेको जस्तो फूलमाला, खादा पहिरेर नगरसभा गाउँसभाको बैठकमा विराजमान हुनु कुन मर्यादाको कुरा होला ?
अचम्म लाग्दो कुरा त के छ भने प्रत्येक पार्टीका सभा सम्मेलनमा पार्टीको प्रमुख व्यक्तिलाई अतिथि भन्ने गरिन्छ । अतिथि भनेको पाहुना । अनि आफ्नो घरमा आफैँ पाहुना हुन्छ त ? पाहुना भए त्यो परिवारको सदस्य होइन, सदस्य हो भने पाहुना होइन । प्रमुख अतिथि भन्नुभन्दा प्रमुख वक्ता भनौं । अतिथिहरू भन्नुभन्दा वक्ताहरू भन्दा राम्रो होला कि? यस विषयमा छलफल चलाउन जरुरी छ ।
मर्यादाको मर्म र परिवर्तनको आवश्यकता
प्रत्येक मानिस आत्मसम्मानको भोको हुन्छ र सम्मान खोज्नु स्वाभाविक नै मानिन्छ । तर, मर्यादा र सम्मानका नाममा पूर्व विशिष्टहरूलाई दिइएको सेवा सुविधा आर्थिक रूपमा खर्चिलो त छँदै छ, सामाजिक हिसाबले पनि आफूलाई सधैँ धुरीमा रहेको ठान्ने प्रवृत्तिको विकास हुँदै गएको छ । धुरीमा पुगेकाहरूले बलेनी बिर्सेका छन् ।
धुरीमा पुगेकाहरूलाई बलेनी पनि छ भन्ने बोध गराउन पनि पूर्व विशिष्टहरू भुइँ तहमा रहेर काम गर्नुपर्छ । धुरीमा पुगेकाहरू बलेनीमा झर्न नहुने होइन । मञ्चमा बस्नेहरू मैदानमा बस्न तयार हुनुपर्छ । मञ्च खारेज गरौं, मान्छेको मर्यादा मान्छेले नै बनाएको हो मर्यादा पनि सापेक्ष हुन्छ । पद भनेको जिम्मेवारी हो । जिम्मेवारीलाई जीवनभरको मर्यादाको रुपमा बुझ्नु सान्र्दभिक होला र ? अभ्यासमा रहेको मर्यादाक्रम परिमार्जन गरौं–यही नै समयको माग हो ।
समय छँदै बल गरौं । धेरै मर्यादा खोज्दा मर्यादा नै गलोपासो नबनोस् । सम्बन्धित सबैमा चेतना भया ।
१८ श्रावण २०८२, शनिबार १९:४०