दोलखामा सोक्ला रक क्लाइम्बिङ २०८२ महोत्सव हुने

जनतापत्र, दोलखा ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ सोक्ला भ्यालीमा रक क्लाइम्बिङ महोत्सव २०८२ हुने भएको छ। सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हब’का रूपमा सोक्ला भ्यालीको प्रवद्र्धन गर्ने उद्देश्यले यही वैशाख २० गतेदेखि दुई दिने रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ को तेस्रो संस्करण आयोजना गर्न लागेको छ।
रक क्लाइम्बिङ महोत्सव नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र स्थानीय तह र विभिन्न निकायको सहकार्यमा वैशाख २० र २१ गते रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनु भएको हो ।
रक क्लाइम्बिङ महोत्सव सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको ४२० मिटरको अग्लो भीरमा साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सुरू गर्न लागिएको हो । रक क्लाइम्बिङ प्राकृतिक चट्टानमा गन्तव्यको विकास गर्न महोत्सव सहयोगी सावित हुने आयोजकले जनाएको छ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ८ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवम् सांस्कृतिक रूपमा समेत महत्वपूर्ण रहेको छ।
सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५÷२५ मिटरको दुई वटा सिंगल पिचको रक रुट तयार गरिएको छ।
रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय आदिवासी झाँकी, ताम्बा, मारुनी नाचसँगै पञ्चेबाजाको समेत प्रस्तुति रहने अध्यक्ष पाख्रिनले जानकारी दिनु भएको छ । कार्यक्रममा हिमाल आरोही, स्काउट, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँगै पर्यटक प्रहरीको समेत सहभागिता रहने छ।
प्रतियोगितामा सहभागी हुनेहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ।

१३ बैशाख २०८२, शनिबार २०:५०