/*php the_title();*/?>

जनतापत्र चौतारा ।
रामेछापको दोरम्बा सैलुङमा आयोजना गरिएको तेस्रो राष्ट्रिय दोरम्बा सैलुङ कप कराते प्रतियोगितामा सिन्धुपाल्चोकको ठुलोसिरुवारी डोजोले उल्लेखनीय उपलब्धि हात पारेको छ। पौष ४ र ५ गते सम्पन्न प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी ठुलोसिरुवारी डोजोका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन्।
प्रतियोगितामा डोजोले ७ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १५ पदक जित्दै आफ्नो सशक्त उपस्थिति जनाएको छ। उत्कृष्ट खेल कौशल र निरन्तर प्रदर्शनका कारण खेलाडी रोशन गहतराज नगद पुरस्कारसहित ‘उत्कृष्ट पुरुष खेलाडी’ घोषित भएका छन्। उनको यस सफलताले डोजो मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाको खेल क्षेत्रलाई गौरवान्वित बनाएको छ।
स्वर्ण पदक विजेतामा रोशन गहतराज, रन्जित मैनाली, अनुप चौलागाईं, पार्बती श्रेष्ठ, सन्जिता श्रेष्ठ, दिल तामाङ र आशिष तामाङ रहेका छन्। त्यसैगरी रजत पदक आशिका तामाङ, करण गिरि र करुणा श्रेष्ठले प्राप्त गरे भने कास्य पदक सृष्टि तामाङ, सन्चिता चौलागाईं, आशिष श्रेष्ठ, करुणा तामाङ र प्रेरणा तामाङले हात पारेका छन्।
डोजोको यस सफलताले जिल्लामा कराते खेलप्रति चासो र उत्साह थप बढाएको ठुलोसिरुवारी डोजोका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री गंगालाल श्रेष्ठले बताए। उनका अनुसार खेलाडीहरूको यस उपलब्धिले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप प्रेरणा मिल्नेछ।
७ पुष २०८२, सोमबार १४:४३