/*php the_title();*/?>
जनतापत्र, पाँचपोखरी ।
दिवा खाजामा विद्यार्थीले उत्पादन गरेको तरकारीको प्रयोग गरिएको छ । जिल्लामा निक्कै चर्चाको शिखरमा रहेको
पाँचपोखरी थाङपाल गाउँपालिका थाङपालकोटमास्थित थाङ्गपालभ्याली माध्यमिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेको हो ।
विद्यालयका प्रधानाध्यापक राजु तामाङले कोइका इआरसियन परियोजना अन्र्तगत सहमति संस्थाको सहयोगमा स्थापित तरकारी टनेलमा विद्यालयका इको क्लब र स्वास्थ्य क्लब बाट तरकारी लगाई विद्यालयको दिवा खाजामा प्रयोग हुँदै आएको बताउनुभयो ।
उहाँले ज्ञानलाई सिपसँग जोड्ने र सिपलाई श्रमसँग जोड्दै आत्मनिर्भर बनाउने राज्यको नीति अनुसार विद्यार्थीलाई सिपसँग जोड्ने काम गरिएको जानकारी दिनुभयो । दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएका स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रमलाई लागु गरिएको प्रधानाध्यापक तामाङको भनाइ रहेको छ ।
विद्यालयको जानकारी अनुसाु, यस कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुलाई कृषि सम्बन्धी थप ज्ञान र सीप प्रदान गरेको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । विद्यालयलाई नमूना बनाउन साथै प्राविधिक विद्यालय बनाउनका लागि गाउँपालिका, प्रदेश र संघीय सरकार सँगपनि कार्यक्रम माग गरी विद्यालयलाई व्यवहारिक र प्रयोगात्मक शिक्षा मार्फत गुणस्तरीय शिक्षा प्रदान योजना रहेको सुनाउनुभयो । ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
२३ कार्तिक २०८१, शुक्रबार १३:०७