दशैं–तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै सिन्धुपाल्चोकमा बजार अनुगमन तीव्र

जनतापत्र,सिन्धुपाल्चोक ।
ठूला चाडपर्व दशैं, तिहार र छठ नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा बजार अनुगमन तीव्र बनाइएको छ। हिजो चौताराका १९ वटा होटल र खाजाघरमा गरिएको जाँचमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गरिरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा मूल्यसूची नराख्ने, किचन अस्वच्छ हुने, दर्ता नवीकरण नगर्ने र कैयौँ व्यवसायले दर्ता नै नगरी सञ्चालन गरेको तथ्य उजागर भएको छ। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले सबै व्यवसायीलाई एक हप्ताभित्र लाइसेन्स लिन चेतावनी दिएका छन्। त्यस्तै, दर्ता नगरी सञ्चालन भइरहेको एक होटललाई तत्काल दर्ता गर्न कडा निर्देशन दिइएको छ। उपभोक्ता अधिकारकर्मी संसार श्रेष्ठका अनुसार, धेरै व्यवसायी कानुनी प्रावधानबारे अझै अनभिज्ञ छन्। यही कारणले चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, लत्ताकपडा, माछा–मासु, तरकारी र फलफूलका पसलमा समेत अनुगमन बढाइएको हो। व्यवसायीहरूले अनुगमनलाई सुधारको अवसरका रूपमा लिएको जनाएका छन्। तर अनुगमन टोलीले भने स्पष्ट पारेको छ— मूल्यसूची नदेखाउने, गुणस्तरीय वस्तु नबेच्ने, बढी मूल्य लिने वा उपभोक्ता ठग्ने व्यवसायीलाई कानुनी कारबाही गरीने समेत बताउनु भएको छ ।

१७ भाद्र २०८२, मंगलवार १९:५१