दशैँअघि नै ल्हेन्दे खोलाको बेलिब्रिज तयार हुने, सीमा व्यापार र आवतजावत सहज बन्ने अपेक्षा

जनतापत्र,रसुवा ।
नेपाल–चीन सीमा क्षेत्रमा निर्माणाधीन ल्हेन्दे खोलाको बेलिब्रिज यही दशैँअघि सम्पन्न हुने देखिएको छ। रसुवागढीमा तैनाथ सीमा सुरक्षाकर्मीका अनुसार चिनियाँ पक्षले पुललाई उच्च प्राथमिकता दिँदै कामलाई तीव्रता दिएको छ, जसको प्रत्यक्ष प्रभाव निर्माण गतिमा देखिएको छ। चिनियाँ पक्षले आफ्नो भागको संरचना पहिले नै पूरा गरिसकेको छ। नेपालतर्फ पनि पिलर राख्नेदेखि भुइँ सहतको ढलानसमेत सम्पन्न भइसकेकाले अब पुलको अन्तिम संरचना बन्ने चरण सुरु भएको छ। यससँगै दशैँअघि नै पुल सञ्चालनमा आउने विश्वास लिइएको छ। पछिल्ला दिनमा निरन्तर झरीका कारण ल्हेन्दे खोलामा पानीको बहाव बढ्दा निर्माण सामग्री ढुवानीमा अवरोध आएको थियो। केही दिनअघि मात्र खोलामाथि ह्युमपाइप राखेर अस्थायी बाटो बनाई कामलाई सहज पारिएको थियो। तर वर्षाको तीव्रताले खोलामा पानी बग्ने स्तर बढेपछि सो मार्ग पनि प्रभावित भएको फिल्ड सुपरभाइजरले जानकारी दिए। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार संघीय राजधानी काठमाडौँसँग दूरीका हिसाबले सबैभन्दा नजिकको नाका रसुवागढी भएकाले यहाँको पुल निर्माणले ठूलो महत्व राख्छ। उनका अनुसार वर्षाका कारण केही समय काम प्रभावित भए पनि हाल निर्माणको गति हेर्दा दशैँअघि नै पुल सम्पन्न भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। ल्हेन्दे खोलाको बेलिब्रिज सञ्चालनमा आएपछि रसुवागढी नाका हुँदै हुने व्यापार र आवतजावतमा थप सहजता आउनेछ। हालसम्म अस्थायी व्यवस्थामा निर्भर रहनुपर्ने बाध्यता हट्नेछ भने दुवै देशबीचको व्यापारिक गतिविधि झन् व्यवस्थित हुने अपेक्षा गरिएको छ।

१ आश्विन २०८२, बुधबार १२:४०