/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित ‘त्रिपुरासुन्दरी अध्यक्ष कप २०८२’ पुरुष फुटबल प्रतियोगिताको उपाधि सुनखानी युवा क्लबले हात पारेको छ। तौथलीस्थित जपसिले खेलमैदानमा आयोजित फाइनल खेलमा सुनखानी युवा क्लबले सिन्धुपाल्चोक फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।यो प्रतियोगिता त्रिपुरासुन्दरी–५ मा अवस्थित जपसिले खेलमैदानमा जेठ १५ गतेदेखि सुरु भएको थियो। जम्मा ९ वटा टिम सहभागी रहेका यस प्रतियोगिता तीन दिनसम्म चलेको थियो। पहिलो दिन पाँच खेल, दोस्रो दिन दुई सेमिफाइनल खेल सम्पन्न भएका थिए। तीव्र प्रतिस्पर्धात्मक खेलपछि सुनखानी युवा क्लब र सिन्धुपाल्चोक फुटबल क्लब अन्तिम खेलमा आमनेसामने भएका थिए।फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। सुनखानी क्लबले उत्कृष्ट समन्वय, आक्रमण र रक्षात्मक रणनीतिमार्फत खेलमा दबदबा कायम राख्दै ३–१ को स्पष्ट जित निकाल्यो। खेल अवधिभर सुनखानीका समर्थकहरू उत्साहपूर्वक टिमलाई हौसला दिइरहेका थिए।प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख ११ हजार १ सय १ रुपैयाँ प्रदान गरिएको छ भने उपविजेता सिन्धुपाल्चोक क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ। साथै प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।खेलकुदलाई समाजमा सकारात्मक ऊर्जा फैलाउने माध्यमको रूपमा लिनुपर्ने आवश्यकता रहेको बताउँदै त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष कप सञ्चालन गरिएको जानकारी दिनुभयो।प्रतियोगिताको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल पनि आयोजना गरिएको थियो, जसले स्थानीय तहमा आपसी सहकार्य र सौहार्दता विकासमा टेवा पुगेको छ।स्थानीय खेलप्रेमी, समुदायका प्रतिनिधि र दर्शकहरूको बाक्लो उपस्थिति तथा सक्रिय सहभागिताले प्रतियोगितालाई भव्य र सफल बनाएको आयोजक समितिको भनाइ छ।
१९ जेष्ठ २०८२, आईतवार ११:४२