/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको मेलम्ची, हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता बिहीबार विद्यालयकै प्राङ्गणमा सुरु भएको छ। शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चारवटै स्थानीय तहका १७ विद्यालय सहभागी रहेका छन्। पहिलो दिन लिग चरणका खेलहरू सुरु भएका छन्। उद्घाटन खेलमा आयोजक तेर्से माध्यमिक विद्यालयले बाल सुधार माध्यमिक विद्यालयलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

त्यसपछि भएका खेलहरूमा इचोक माविले लागर्चे माविलाई, जाल्पादेवी माविले सर्वोदय माविलाई, नवलपुर माविले धौलेश्वरी आविलाई, महेन्द्र माविले बतासे माविलाई तथा भिमेश्वरी माविले चण्डिका माविलाई पराजित गर्दै जीत निकालेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मेलम्ची नगरपालिका वडा नं। ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थितिमा मेलम्ची नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै उहाँले विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त तथा सिर्जनात्मक क्रियाकलापमा पनि उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो र आगामी दिनमा अझ राम्रो उपलब्धिका लागि शुभकामना व्यक्त गर्नुभयो। शुक्रबार लिग चरणका बाँकी खेलसँगै क्वाटरफाइनलका खेलहरू सञ्चालन हुनेछन्। शनिबार फाइनल खेल हुने कार्यक्रम रहेको छ भने विद्यालयको ३५औँ वार्षिक उत्सवको विशेष समारोह २५ गते आयोजना गरिने विद्यालयले जनाएको छ।
२३ माघ २०८२, बिहीबार १८:४६