/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक – सशस्त्र प्रहरी बल सिन्धुपाल्चोकले सोमबार राति अवैध सामान बोकेको एक गाडीलाई नियन्त्रणमा लिएको छ। बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभएको अन्दाजी मूल्य रु. ७ लाख २२ हजार १० रुपैयाँ बराबरको चिनियाँ किराना सामानसहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मध्यरातको समयमा तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर (मिनि टिपर) गाडी नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाँले जानकारी दिनुभयो। उहाँका अनुसार अवैध सामानसहित सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ६ मान्द्रामा बसोबास गर्ने अन्दाजी ३६ वर्षीय सवारी चालक शिवलाल तामाङलाई गाडीसमेत नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिएको गाडीको अन्दाजी मूल्य रु. १५ लाख रुपैयाँ रहेको छ भने बरामद गरिएको सामानको मूल्य रु. ७ लाख २२ हजार १० रुपैयाँ छ। गाडी र सामान गरी जम्मा अन्दाजी रु. २२ लाख २२ हजार १० रुपैयाँ बराबरको सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाडी र सामान आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ।
१ पुष २०८२, मंगलवार १२:११