/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक ।, नेपाल–चीन सीमासँग जोडिएको तातोपानी क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटना कोदारी राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–दशकिलो खण्डमा भएको हो।
प्रहरीका अनुसार बा.प. १–०३० च ३४८० नम्बरको बोलेरो गाडी सडक किनारमा पार्किङमा राखिएको कन्टेनरको टेलरसँग ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी छ। दुर्घटनामा बाह्रबिसे नगरपालिका–२ दुरुम्थली का एक युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसे ले राति दुर्घटनाको सूचना पाएपछि टोली खटाएर उद्धार तथा अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको प्रहरीले बताएको छ।
घाइते सात जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सिन्धु सदावहार अस्पताल र धुलिखेल अस्पताल पठाइएको छ।
स्थानीयवासीले लिपिङदेखि लार्चासम्म सडक किनारमा कन्टेनरहरू अव्यवस्थित रूपमा पार्किङ गरिने गरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार यस्तो अवस्थाले आपत्कालीन सवारीसाधन सञ्चालनमा समेत बाधा पुग्ने र दुर्घटनाको जोखिम बढ्ने गरेको छ।
सडक सुरक्षामा ध्यान दिन र अव्यवस्थित पार्किङ हटाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग स्थानीयले उठाएका छन्।
९ फाल्गुन २०८२, शनिबार १२:३७