तपचुली कृषि सहकारीको १४औँ साधारणसभा तथा ५औँ निर्वाचन सम्पन्न

जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
तपचुली सामुदायिक कृषि सहकारी संस्था लि., मेलम्ची नगरपालिका–१ भोटेचौरको १४औँ वार्षिक साधारणसभा तथा ५औँ निर्वाचन कार्यक्रम मेलम्ची नगरपालिकाका उप–प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै उप–प्रमुख प्रधानले सहकारीले स्थापना कालका कठिनाइ पार गर्दै आज कृषकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

उहाँले नगरपालिकाले सहकारी ऐनमार्फत निष्क्रिय सहकारी मर्ज गर्ने तयारी गरेको र कृषकका लागि बिरुवा वितरणलगायत सहयोग निरन्तर रहने बताउनुभयो। साथै सेयर सदस्यले ऋण समयमै फिर्ता गर्न र बचतको संस्कार विकास गर्न आग्रह गर्नुभयो। विशिष्ट अतिथि बागमती प्रदेश कृषि सहकारी संघका सचिव मित्रलाल चौलागाईंले सहकारी आर्थिक उपार्जनको भरपर्दो माध्यम भएको बताउँदै ऋण उद्देश्यअनुसार प्रयोग गरी समयमै फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो।

संस्थाको बचत १ करोड ३५ लाख रुपैयाँभन्दा बढी, सेयर पूँजी १९ लाख रुपैयाँ र कुल ऋण लगानी १ करोड ७२ लाख रुपैयाँ रहेको जानकारी दिइयो। १ हजार २०० सदस्य रहेको संस्थाको प्रतिवेदन अध्यक्ष विष्णु ढुंगाना, कोषाध्यक्ष मदन थापा र लेखा समितिका संयोजक राजकुमार पाण्डेले प्रस्तुत गर्नुभयो।

१२ पुष २०८२, शनिबार १८:२६