डेलिभरी भ्यान भोटेकोशी नदीमा खस्दा चालक बेपत्ता

जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफीस्थित अरनिको राजमार्ग खण्डमा दूध ढुवानी गर्ने डेलिभरी भ्यान भोटेकोशी नदीमा खसेको छ ।

मिति २०८२ असोज १० गते बिहान करिब ५ः२० बजे चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलन गर्ने बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडीचौरतर्फ जाँदै गर्दा करिब ५० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त गाडी पनौती नगरपालिका–१०, पस्थली घर भएका करिब २२–२३ वर्षका नवराज खुलालले चलाइरहेका थिए । दुर्घटनामा भ्यानसहित चालक नदीमा बेपत्ता भएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटाईएको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ । गाडीमा चालक मात्र सवार रहेको बुझिएको छ ।

१० आश्विन २०८२, शुक्रबार ०७:२७