/*php the_title();*/?>

बद्रिनरसिंह केसी
विध्वंश हावी भएको ‘जेन–जी आन्दोलन’ नामक युगान्तकारी राजनीतिक आँधीपछि हाल देश ‘युद्धबिराम’ र ‘पर्ख र हेर’ को अवस्थामा पुगेको छ । कुन सरकारी भवन, कुन निजी घर, गाडी आदि संरचना ध्वस्त भए । उद्योग–व्यापार कम्पनीहरू सँगसँगै धेरै कांग्रेस र कम्युनिस्ट नेताहरूका घर गाडी खरानी पारिए । तर रास्वपा र राप्रपाका नेताहरूको घर, गाडी सबै सुरक्षित रहे । आन्दोलनले अर्बपति ‘सर्वहारा नेता’ हरूलाई साँच्चीकै सर्वहाराकरण गरेर उनीहरूको पहिचानी धरातलमा पु¥याएर छोड्न खोजेजस्तो लाग्यो । जेनजी निश्चित विचार समूह होइन मिश्रित विचारधाराको उमेर समूह हो ।
यो उमेर समूह हरेक पार्टीमा छन् । तर उनीहरू त्यहाँ निरास, असन्तुष्ट र आक्रोशित थिए । त्यसैले यो रातारात र हतारहतार गरी कुनै पक्ष वा पार्टीविशेषको तयारीले उठेको ‘आन्दोलन’ थिएन । २०४६ देखि भ्रष्टाचार, कुशासन, आर्थिक अपराध, बेरोजगारी, नयाँपुस्ता प्रतिको उपेक्षा र तिरस्कार बारूदको रूपमा जम्मा हुँदै गएको एकमुष्ठ विकृति बिष्फोट भएको विद्रोह हो । गम्भीरतापूर्वक हेक्का राखियोस्, सत्ताधारी पार्टीहरूसँग यो पुस्ता नराम्रोसँग चिढिएको छ । अहिले आन्दोलन छैन, तर स्थिति सामान्य र शान्ति पनि छैन ।
शान्तिपूर्ण, विनम्र र शालीन आवाजको कुनै सुनवाइ नभएको बाध्यात्मक परिस्थितिमा जनता जागेको रौद्ररूप हो यो आन्दोलन । जे भए पनि यो आन्दोलन विद्यमान शासकीय शैली, प्रमुख नेताहरू र तिनका सहयोगीको बिलासी र सुविधाभोगी जीवन, सत्ताको राप–ताप र सुविधाका विपरीत जनताले भोग्नुपरेको अभाव, कष्ट, कुण्ठा, उपेक्षित र तिरष्कृत जीवनका साथै मुलुकमा व्याप्त अनियन्त्रित भ्रष्टाचार, दण्डहीनता, छाडा अपराधका बिरूद्धको जनअभिव्यक्ति हो । भ्रष्टाचार, दण्डहीनता, कुशासन र अपारदर्शिताको निर्ममतापूर्वक अन्त्य, आन्दोलनको सम्झौताविहीन चाहना हो ।
देउबा, ओली र प्रचण्डहरूको सत्ता लिप्सा र शक्ति आर्जन गर्ने सुविधाभोगी क्लबजस्तो भएको यस अवस्थालाई मुक्त गरेर समुन्नतिको यात्रातर्फ लग्न सबै राष्ट्रिय शक्तिहरूको एकता अनिवार्य छ । अब पनि गणतन्त्रलाई च्यापेर सफलता खोज्नुभनेको विषवृक्ष रोपेर अमृतको फल खोज्नु जस्तै हो ।
श्रीलंका, बंगलादेश, म्यानमार, माल्दिभ्सका जनआन्दोलनमा सत्ता–नेतृत्वको भागाभाग भएको कारणबारे सत्ताधारीहरू बिल्कुल संवेदनहीन भए । सत्तामा बसेर जनताको मौन निरासा र असन्तुष्टिउपर खेलबाड गर्दै समृद्धि र सुखका झुटा गफ दिनु हुँदैन भन्ने हेक्का रहेन । सत्ताकै लागि बिहान सबेरदेखि साँझ अबेरसम्म दौड लगाइरहने, त्यसका लागि मुलुक बर्वाद भए पनि वास्ता नगर्ने, जनताले बोलेको कुरालाई झुलबाहिर लामखुट्टे कराएजस्तो मात्र ठान्ने चरित्र सामान्य मानसिकताको द्योतक होइन, लोभले अन्धो र अतिआकांक्षाले पागल बनाएको प्रतिबिम्ब हो ।
कोठामा थुनेर यातना दिनथालेपछि बिरालोले पनि यातना दिनेलाई बाघको आँट लिएर झम्टिन्छ । राज्य सञ्चालक पदाधिकारीको छाडा बोली, अराजक कार्यशैली, भ्रष्टाचार र दण्डहीनताको संरक्षणले गम्भीर दुष्परिणाम दिन्छ भन्ने जेनजी आन्दोलनको अकाट्य शिक्षा हो । मुलुकको ४० प्रतिशत जनसंख्या युवाशक्ति भएकोले वास्तविकता र भोलिलाई प्रतिनिधित्व गर्ने समुदाय पनि यही हो । हाम्रा युवाहरू व्यक्तिवादी प्रवृत्ति, भ्रष्टाचार, कुशासन, दण्डहीनताका सदैव विरोधी छन् र हुनुपर्दछ ।
हुकुमी शैलीको मूलोच्छेद गरेका युवाहरूले हैकमी शैलीलाई आत्मसात गर्न हुँदैन । यही दृढताबाट निर्णायक शक्ति र आँट बोकेर हालैको युगान्तकारी राजनीतिक र सत्ता परिवर्तन गर्न सफल भएका हुन् । ‘जेनजी’ को ब्रान्ड दिइएको नवयुवा पुस्ताले आफ्नो उमेरमा अनेकौँ अत्याचार, हन्डर र ठक्कर भोग्नुपरेको वास्तविकतालाई अबको सत्ताले हेक्का राख्नैपर्छ । २०४७ सालको जनआन्दोलन सफल पार्न पनि यस्तै पुस्ता सहभागी थिए ।
माओवादीले १० वर्षे हिंसात्मक द्वन्द्व चलाउँदा त्यसलाई सफल बनाइदिन कलिला हातहरूले हतियार उठाएको र मृत्यु वा बलिदान भोगेको १३ वर्षदेखि ३० वर्षमुनिको यही (जेन–जी) पुस्ता थियो । गाउँमा कोदालो चलाउने वा गोठालो जानेदेखि सहरका होटेल वा रेस्टुरेन्टमा सबैभन्दा उपेक्षित र कठिन काम गर्ने वा सार्वजनिक यातायातमा सहयोगी मजदूरको काम गर्ने, बालेन साहलाई निर्वाचन जिताइदिनेसम्म जेनजी पुस्ता नै हो । गतसाल फागुनमा पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा विमानस्थलमा स्वागतार्थ उपस्थित अपार जनसमूहमा जेनजी पुस्ताकै बाहुल्य थियो ।
आजको नेपाल सहज ढंगले अग्रगति लिएर होइन, घिसारिँदै, धकेलिँदै, भौँतारिँदै र लर्खराउँदै एउटा युगको समाप्ति र अर्को युगको प्राप्तिको सन्धीस्थलमा पुगेको छ । पार्टीहरूबाट पाइला–पाइलामा ज्यादति र मनपरिको कारण विद्यमान राजनीतिक संकट र अनिश्चयले गर्दा अंकको अघिपछि भए पनि २०८२ सालको अंकले २०२८ सालको अवस्थामा लगेको अर्थमा नबुझिएला भन्न सकिन्न । साख र जनविश्वास गुमाइसकेका पार्टीहरूको एकलौटी जिम्माको भरमा सुशासन पाइने विश्वास र जनताले पर्खिने धैर्यता अब रहेन ।
सबै पार्टीहरूले नेपालव्यापी यो धरातलीय वास्तविकतालाई आत्मसात नगरी सत्तामा अब उनीहरूको केही चल्दैन । पार्टीहरूको स्वार्थको सर्वोपरितामा संविधानलाई निहित स्वार्थमा अप्ठ्यारो नपारेको हदसम्म निगाहको रूपमा मानिदिएको एकथान महँगो पुस्तक बन्न पुग्यो । बरदानका रूपमा अभिशापको नियति भोगिरहेको संविधानले ३ करोड नेपाली जनतालाई समान रूपमा सुबिस्ता दिने आशा पनि जनताबाट हरायो । आफ्नो अनियन्त्रित सत्तालिप्सा, अहंकार र हठका कारण मुख्य भनिएका पार्टीका प्रमुखहरू मूलधारबाट किनार लाग्दै लाचार र विवश भइरहेका छन् ।
सत्तास्वार्थले पार्टीहरूलाई जुटायो, गठबन्धन गरायो भने बझायो, पानी बाराबारको अवस्थामा पनि पु¥यायो । सत्ताको होस् वा अन्यमा, अन्धलिप्सा वा लम्पटपना अनियन्त्रित भयो भने पागलपनमा पुग्छ, जुन पागलपन शेरबहादुर देउवा, खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्ड अझै पनि प्रदर्शित गरिरहेका छन् । २३ र २४ भदौको आन्दोलनदेखि उनीहरूका पछिल्ला वक्तव्यमा आफ्ना शासकीय दोष, कमी, कमजोरी र अयोग्यतालाई उनीहरूले स्वीकार गरेकै छैनन् । आफूलाई अझै चोखो र पानीमाथिको ओभानो देखाउने धृष्टता गरिरहेकै छन् ।
तर अब यस्तो प्रवृत्ति कतै पनि चल्दैन, न त उनीहरू नै चल्न सक्छन् । आन्दोलनकै क्रममा एक माओवादी लडाकुले भनेको, ‘लडाकुको गाँस काटेर उठाइएको २१ करोडको हिसाब त गायब भयो भयो, लडाकुका नाममा हिनामिना गरिएको ४ अर्बको मुद्दा अख्तियार भन्ने संस्थामा छ, त्यसको निष्पक्षतापूर्वक न्यायिक छानबिन हुनुपर्छ, लडाकुको नाम बेचेर खाने गद्दारहरूका पाता कसेर जेल जाकेको दृश्य हाम्रा मोबाइलले खिच्न पाउनु पर्छ…।’ १ जना माओवादी लडाकुको यो भनाइ पनि सुनेपछि यसमा धेरैतिरको आक्रोश पनि सुनियो ।
राष्ट्रिय राजनीति आज अत्यन्त अविश्वसनीय, अराजक र अस्थिर बनेर पतनोन्मुख छ । २०६२–६३ को निर्देशित आन्दोलन यताको राजनीति झन् अराजक बन्दै गएको र असफल राज्य हुन लागेको खतराजन्य बास्तविकता त विभिन्न शासकीय परिसूचकहरूले प्रमाणित गरिरहेका छन् । उकुच पल्टेर कहिल्यै निको नहुने घाइतेको जस्तो यो परिस्थितिको यथास्थितिवादी राजनीतिक उपचार सम्भव देखिँदैन । भारत निर्वासनमा एकदिन बिपीले पुष्पलाललाई भन्नुभयो, ‘प्रजातन्त्रको बाटोमा तपाईंलाई मात्र होइन, राजालाई पनि प्रजातन्त्रीकरण गर्नुपर्छ भन्नेमा मेरो जोड छ । मलाई आपत्ती रोगका प्रति छ, रोगीमाथि होइन । मेरो आपत्ती राजा अधिनायकवादी भयो भन्ने हो जुन आपत्ती तपाईंहरूको अधिनायकवादी विचारप्रति पनि त्यति नै छ । तपाईंको र राजाको अधिनायकवाद मेरा लागि उत्तिकै आपत्तिजनक छ ।’
पुष्पलालको जबाफ थियो, ‘हामी कम्युनिस्ट गणतन्त्रवादी होइनौँ भन्नु रायमाझीमार्का अर्को झुट मात्र हुन्छ । हामी पूराका पूरा गणतन्त्रवादी हौँ, तर गणतन्त्र जनमतले ल्याउँछ, जनमतले भएन भने जनक्रान्तिले ल्याउँछ । त्यस्तो गणतन्त्रमाथि सच्चा प्रजातन्त्रवादी हो भने तपाईंले पनि स्वीकार्नुपर्ने परीक्षा हुन्छ । ‘नेसन फस्र्ट’ मेरो मान्यता हो । नेपालीका लागि आउने गणतन्त्रले हामीलाई नै कठपुतली बनाउन थाल्ने भयो भने त्यस्तो गणतन्त्रमा चाहिँ हामीले पहिले दुईकदम पछि सर्नुपर्छ, अनि सोच्नुपर्छ ।’ ती दुई शीर्षस्थ राजनेताहरूको उक्त ऐतिहासिक संवादको गहिराई बुझ्न वर्तमान कांग्रेस र एमालेको नयाँ पुस्ता चाहँदैन भने जेनजीकै जस्तो अर्को आन्दोलनको सामना गर्न तयार रहनुपर्ने हुन सक्छ ।
साविकको भद्दा तरिकाको निषेधवादी गणतन्त्र अब चल्दैन र कांग्रेसभित्रका युवापुस्ताका लागि पनि यसले हित नगर्ने वास्तविकतालाई स्वीकार्नु पर्छ । कांग्रेसको धरातल अझै बलियो र जनाधारमा घोर निरासा भए पनि निर्णायक हैसियत रहेको भन्ने यसका बुद्धिजीवीहरूको दावी ढुक्कले मानेर बस्ने परिस्थिति बिल्कुल छैन । त्यस्तो दाबीलाई आगामी निर्वाचनमा अक्षुण्ण राख्न महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका पार्टीका सबै युवानेताहरूले निर्णायक अभियान चलाउन सफल हुन सक्छन र ? पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली र प्रचण्डहरूको सत्ता लिप्सा र शक्ति आर्जन गर्ने सुविधाभोगी क्लबजस्तो भएको यस अवस्थालाई नेपालबाट मुक्त गरेर समुन्नतिको यात्रातर्फ लग्न सबै राष्ट्रिय शक्तिहरूको एकता अनिवार्य छ । अब पनि गणतन्त्रलाई च्यापेर सफलता खोज्नु भनेको विषवृक्ष रोपेर अमृतको फल खोज्नु जस्तै बौलठ्ठीहठ मात्र ठहरिनेछ ।(सौर्यअनलाइनबाट साभार)
८ आश्विन २०८२, बुधबार ११:०४