/*php the_title();*/?>

आइसिँ तामाङ ,बाह्रबिसे सिन्धुपाल्चोक ।
जेन्जीमा भएको प्रदर्शनका क्रममा घाइते भएका बाह्रबिसे नगरपालिका–६ का ४५ वर्षीय श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका श्रेष्ठलाई प्रारम्भमा स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो। तर, अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ लगिएकोमा सोमबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनामा अन्य तीन जना समेत गम्भीर घाइते भएका छन्। घाइते हुनेहरुमा १७ वर्षीय नुर्बु तामाङ, सोही उमेरका सूर्य राई र २५ वर्षीय मदन कार्की रहेका छन्। तामाङ, राई र कार्कीलाई गोली लागेको पुष्टि भएको छ। उनीहरुको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था अझै पनि गम्भीर रहेको परिवारजनले बताएका छन्।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली चल्न पुगेको दाबी गरेका छन्। उनीहरुले अनावश्यक बल प्रयोग नगरी घटनालाई नियन्त्रणमा लिन सकिने भए पनि अत्यधिक बल प्रयोग भएको भन्दै विरोध जनाएका छन्।
घटनापछि क्षेत्रको वातावरण तनावग्रस्त बनेको छ। स्थानीयबासीले मृतकलाई न्याय दिलाउन माग गर्दै प्रदर्शनलाई अझ चर्काउने चेतावनी दिएका छन्। अर्कोतर्फ, प्रशासनले भने घटनाबारे अनुसन्धान थालिएको र दोषीलाई कारबाही गर्ने आश्वासन दिएको छ।
२४ भाद्र २०८२, मंगलवार ०९:२७