जेनजी पुस्ताको ठुलो बलिदान र अध्यात्म


धर्म र अध्यात्म ह्रास हुँदै जाँदा राजनीतिसमेत दुषित भई सर्वत्र बढेको भ्रष्टाचार नियन्त्रण गर्ने मागसहित जेनजी पुस्ता आन्दोलनमा होमियो । आन्दोलनमा होमिएको जेनजी पुस्ताको भावनाको प्रतिनिधित्व गर्ने अन्तरिम सरकार निर्माण भई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा अग्रसर छ ।

रामचन्द्र शर्मा

मानवताको साझा भविष्य अध्यात्ममा खेलवाड नहोस् । आफू स्वयंको अधिकतम अध्ययन हो अध्यात्म । अध्यात्म त्यो विज्ञान हो जसले कर्मको माध्यमबाट कर्तालाई जान्ने र सुधार्ने ज्ञान र विधि दिन्छ । दुःख लिएर जन्मने मानव जीवनको उद्देश्य मुक्ति हो । मुक्तिको साधन आत्मज्ञान हो, जो लिएरै जन्मन्छ मानव ।

मानव र अन्य प्राणीको शारीरिक वनावट समान देखिए तापनि चैतन्यता मानिसमा मात्र भएकाले मुक्ति (राग, द्वेष, मोहजस्ता मनोविकार र अन्यायलगायतका दुःख कष्टबाट मुक्त) प्राप्त गर्न सक्छ । त्यो चैतन्यतालाई वेद, उपनिषद् र गीतामा ब्रह्म, आत्मा र सत्य र वुद्ध शिक्षामा साक्षी भाव र सत्य भनिएको छ । शरीर, संसार जगत र प्रकृति जड तत्व हो । शरीरमा उत्पन्न हुने म र मेरो भाव अहंकार हो जुन जडअन्तर्गत पर्दछ । सारा काम गर्ने कर्ता अहं हो । अहंको घर र गति मन हो । मनलाई प्रकाश आत्माबाट मिल्छ । आत्माको ज्ञानको प्रकाशले कर्ता अहं सुध्रिएर राम्रो कर्म गरी मुक्ति पाउँछ ।

अध्यात्म अहंलाई आत्मामा प्रतिष्ठित गर्ने विज्ञान हो । सबै कुरा प्रकृति हो, म पनि प्रकृतिभन्दा भिन्न होइन भन्ने बोध गरी आफूलाई प्रकृतिस्थ गर्नु अहं आत्मामा प्रतिष्ठित हुनु हो । सदा अस्तित्वमान प्रकृति जन्मदैन नासिँदैन । अहं आत्मामा प्रतिष्ठित भएपछि असल धार्मिक व्यक्तित्व निर्माण भई निष्काम कर्म गर्छ मानिस । निष्काम कर्मले समाज, राष्ट्र र विश्वलाई समेत शान्ति र समृद्धिको गन्तव्यमा पुर्याउने हुँदा अध्यात्म मानवताको साझा भबिष्य हो ।

धर्म र अध्यात्म ह्रास हुँदै जाँदा राजनीतिसमेत दुषित भई सर्वत्र बढेको भ्रष्टाचार नियन्त्रण गर्ने मागसहित जेनजी पुस्ता आन्दोलनमा होमियो । आन्दोलनमा होमिएको जेनजी पुस्ताको भावनाको प्रतिनिधित्व गर्ने अन्तरिम सरकार निर्माण भई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा अग्रसर छ । अध्यात्मको अनुशरणले मुलुकको वर्तमान विषम परिस्थितिलाई किनारा लगाउँदै विगतका आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झनै उन्नत र सुदृढ गर्ने छ ।

मानवअधिकार तथा राजनीतिमासमेत आवद्ध रही जिल्लामा कानुन व्यवसाय गर्दा पंक्तिकारले निष्ठाको राजनीतिमा जोड दियो । तापनि राजनीतिक प्रदूषण फैलिएकाले दलीय राजनीति परित्याग गर्दै अध्यात्मले मात्र निष्ठाको राजनीति स्थापित गर्ने बुझेर अध्यात्मको क्षेत्रमा आवद्ध भयो । कोभिडपछि अध्यात्ममा जोडिँदै जीवन विज्ञानको प्रशिक्षक, विपश्यना र अन्य ध्यानको पनि अनुभव लिँदै अहिले बिहानमा ४ घण्टा साधना र बाँकी दिनभर स्वाध्यायमा समय खर्चिएको छु । अध्यात्मको कखरा पढ्दै गर्दा आध्यात्मिक ग्रन्थ रचना गर्ने नेपाल अध्यात्मको खेलवाड गर्ने भूमि बन्न थालेको महसुस भएको छ ।

निःशुल्क विपश्यना ध्यान शिविर सञ्चालनको परिपाटी स्थापित गरेका आचार्य सत्यनारायण गोयन्काले अध्यात्ममा व्यावसायिक वुद्धि जोडियो भने आध्यात्म रहँदैन भन्दछन् । आचार्य प्रशान्तले एक सन्दर्भमा अध्यात्म खतरनाक पनि छ भनेका छन् । सन्दर्भ हो, आत्मा अवलोकनको शक्ति कसरी बढाउने भन्ने प्रश्नको जबाफ दिने क्रम । जान्नु जानकारी मात्र होइन ठुलो जिम्मेवारी हो । जति जानेको छ उति उत्तरदायित्व बढ्छ, बहकिन मिल्दैन । अवलोकनको शक्ति अवलोकित तथ्यमा जिएर मात्र बढ्ने भन्दै अवलोकित तथ्यमा नजिउने हो भने अध्यात्म खतरनाक पनि हुन सक्ने उदाहरण दिएका छन् ।

पानीको गिलासमा माखो परेको देखियो भने ज्ञानको विपरीत गएर जानाजान त्यो पानी पिउने होइन । नदेखेर वा थाहा नपाएर पिएको माखो परेको पानीले असर नगर्न वा कम गर्न सक्छ । तर ज्ञानको विपरीत माखो परेको पानी पिउनेको वर्तमान र भविष्य दुवै बिग्रिन्छ । धर्तिको अदालतले बालक, वृद्ध, पागल, नशामा बेहोस् भएकालाई सजाय माफी वा कम गर्छ तर जाने बुझेकालाई पुरै सजाय गर्छ भने माथिको अदालतले त झन् के छुट देला भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

योगी विकासानन्दले अध्यात्म धन्दा बनाइएको, ध्यान साधना गर्ने गराउनेमा अहंकार बढ्दै गएको र गुरुडम हावी भएको खुलासा गरेका छन् द जोगिनी सो को आठौँ अंकमा । कृष्णमूर्तिको भनाई उद्धृत गर्दै उनले कोही खुसी हुन रक्सी पिउन जान्छन्, तिमी ध्यान गर्न जान्छौँ, ऊ रक्सी पिएर मात्तिन्छ तिमी ध्यानमा मात्तिन्छौ, ध्यानको नशा छुटेपछि तिमी जस्ताकोतस्तै रहन्छौँ, भन त भट्टीमा भेटिने रक्सी पिउने मानिस र ध्यान केन्द्रमा भेटिने मानिसमा के फरक छ ?

रक्स्याहालाई आफ्नो दयनीयता थाहा हुन्छ तर अहंकारी ध्यानीलाई आफ्नै दयनीयता पनि थाहा हुँदैन भन्ने उल्लेख गरेका छन् । त्यसमाथि कुन गुरु ठुलो भन्ने गुरुडमले अहंकार बढाउँदै विभिन्न समुदायमा विभाजित गरेको तथ्य उजागर गर्दै आफू भारत पुनाको ओशो आश्रममा छँदा सुनेको ओशोको प्रवचनमा १ जना पत्रकारले तपाईंको नाममा जम्मा भएको अर्बौंको धनराशि र समुदाय तपाईंपछि के हुन्छ भनि ओशोलाई प्रश्न गर्दा ‘इट सुड बि डिस्पोज्ड’ भनेर जबाफ दिएको दाबी गरेका छन् ।

कहिले मक्का मदिना कहिले हिन्दु मठमन्दिरहरूमा जाने गुरुनानकलाई एक प्रशासकले तिमी मुसलमान हौ कि हिन्दू भनी सोध्दा दुबै होइन इन्सान हुँ म भनेर जबाफ दिएको प्रसंग उदाहरण दिँदै विकासानन्दले अध्यात्म मुक्तिको दिशामा उन्मुख हुनुपर्ने, मुक्तिको दिशामा जान नकारात्मक कुरा छोडेर मात्र हुँदैन आफ्नै सकारात्मक कुरा पनि छोड्नुपर्ने नत्र तिनै आफ्ना सकारात्मक कुरा र विचारमा टेकेर आफैँलाई अहंकारी बनाइदिने रहस्य उजागर गरेका छन् ।जीवन विज्ञान संस्थाका संरक्षक एलपी भानु शर्माले पछिल्ला वर्षहरूमा वेदान्त, भागवतगीता, अष्टावक्र गीता, वुद्ध शिक्षा, जिद्दु कृष्णमूर्ति, रजनीश ओशोको ज्ञान ध्यानमा मिसावट गरी अध्यात्ममा व्यावसायिक बुद्धि जोड्दै जीवन विज्ञान धाम निर्माणमा जुटेको देखिन्छ । राम्रो नगरे नराम्रो रहिरहन्छ भनेर शान्ति र समृद्धिको होम डेलिभरी गर्न संस्था गठन भएको हो, लेख्न जान्नेले यो कुरा प्रचारमा ल्याउन सहयोग गर्नुपर्छ भनेकाले मैले जीवन विज्ञानका कार्यक्रममा केन्द्रित भएर लेखहरू लेख्दै गुरुदक्षिणाको रूपमा उहाँलाई सेयर गर्थे ।

जीवन विज्ञान मानिसलाई भगवान् बनाउने, समयलाई भगवान् मान्ने र कामलाई राम बनाउने अरूभन्दा भिन्न आधुनिक आध्यात्मिक संस्था हो भन्ने दाबी गर्ने उहाँले मैले पेस गरेको कामलाई ध्यान बनाउने योजना तिरस्कार गरेपछि विपश्यना केन्द्र र आचार्य प्रशान्तको अद्वैत फाउन्डेसनका अनलाइन प्रशिक्षणमार्फत ज्ञान लिँदै साधना र स्वाध्यायमा डुब्ने अवसर पाएँ ।

अध्यात्मको अध्ययनमा गहिरिँदै जाँदा ऋषिहरू र बुद्धले लामो र कष्टपूर्ण साधना गरेर प्राप्त गरेको धर्म तथा अध्यात्मको ज्ञान र विधि मानव कल्याणको खातिर निःशुल्क उजागर गरिदिएकोमा लोकधर्मीहरूले मिसावट गरी धन्दा बनाइदिँदा धर्म र अध्यात्ममा ह्रास आई बेथिति बढेको बोध गरी धर्म र अध्यात्मको उद्धारमा केन्द्रित हुन थाले मेरा लेखहरू । यस्तै क्रममा एलपी भानु शर्माले मलाई गत २० भदौदेखि सुरू भएको लय विज्ञानमा सहभागी हुन भन्नु भएकोमा मेरो बुबाको श्राद्ध पर्ने अवगत गराउँदा बुबाको तिथिमा बिदा लिनुहोला भन्ने प्रतिक्रिया पठाउनुभयो म्यासेन्जरमा ।

पढ्दा तत्क्षण मन अमिलो भए पनि यो प्रतिक्रियाको रूपमा अहंकार पोखिएको हो गुरुको, उहाँले पराई ठाने पनि मैले सदा आदर गर्दै शुद्ध अध्यात्मको सम्बद्र्धनमा निरन्तर खटिनुपर्छ निश्चय गरी उपेक्षा गरे । अनि उहाँले मप्रति गरेका अरू व्यवहार सम्झेँ । पोखरामा भएको केन्द्रीय परिषद्को साधारणसभामा तयारीका साथ जान अनुमति माग्दा पछि खबर गर्छु भनेर नगरेको । लुम्बिनीको कार्यक्रममा आयोजकले स्थानीय बासिन्दाबाट खानाको राम्रो प्रबन्ध गर्न लागेकोमा भानु शर्माले रद्द गरी आफूले गराउने गरेको काठमाडौँको आनन्द इभेन्टलाई जिम्मा दिएको । कमसल खानाका कारण डायरिया भएकी एक महिला भैरहवा एयरपोर्टमा भेटिएकी र लुम्बिनीको ध्यान हलमा चमत्कार गर्न भानु गुरुले मात्र सक्नुहुन्छ भनेर स्वामी आनन्द अरुणले बोलेको स्मरण गरेँ ।

अष्टावक्र गीता ११औँ अध्याय सातौँ श्लोकले ‘आब्रह्मस्तम्बपर्यन्तमहवेति निश्चयी । निर्विकल्पः शुचिः शान्तः प्राप्ताप्राप्तविनिर्वृतः ।। अर्थात् ब्रह्मादेखि लिएर पातसम्म म नै हुँ । यो जान्नेवाला सबै विकल्पबाट मुक्त, शुद्ध र खानेपाउने चिन्ताबाट मुक्त हुँदै आनन्द प्राप्त गर्दछ’ भनेको छ । यो श्लोकको मर्म विपरीत जीवन विज्ञानमा जटावाला नरिवल देखाउँदै व्यक्ति, प्रकृति र आत्मालाई फरक फरक देखाइन्छ । यो प्रकृति भन्दा म विशेष हुँ भन्ने अहंको खेल हो । यही खेलको प्रयोग गरी म र मेरोको अहं भाव, जीवन विज्ञान धाम र माया (म र धाम बीचको सम्बन्ध) ३ वटा फरक कुरा देखाइएको छ ।

वास्तवमा यी ३ वटा एउटै जड तत्व हो, अहंकारले नभएको फरक देखाएको हो । किनकि अहं स्वयं झुठो हुन्छ र झुठ नै कल्पना गर्छ । यो अहंलाई प्रकृतिस्थ हुन रोक्ने कुरा हो जो अध्यात्मको विपरीत छ । ऋषिहरूले सामान्य कुटीमा बसेर भित्री र बाहिरी आकाश चहारेर अध्यात्म रचेका हुन् । आश्रम निर्माणमा अध्यात्म जोड्ने र सेवा गर्ने उद्देश्य देखाएर संस्था दर्ता गरी धन्दा चलाउनु अध्यात्म र कानुन दुवैको दुरुपयोग हो ।

सकारात्मक र आफूले रोजेको विषयमा मन एकाग्र गर्नु ध्यानको धारणा बनाएको जीवन विज्ञानको ध्यानको सूत्र छ अ क्यू (अहिले अप्रतिक्रियात्मक अध्ययन) तर के अध्ययन गर्ने भन्ने निश्चित गर्दैन । राग द्वेषको उत्पत्तिको प्रकृया साक्षी भावले विशेष अवलोकन गर्न ऋग्वेदको यो ‘विश्वाति विपश्यति भूवन’ भन्ने रिचा र भागवत्गीता १५औँ अध्यायको १०औँ श्लोक ‘उत्क्रामन्तं स्थितं वापि भुंजानं वा गुणान्वितम् । विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः’ र वुद्धको विपश्यना ध्यानको चर्चासम्म हुँदैन ।

आध्यात्मिक ग्रन्थ वेदान्तले अहं आत्मामा मिलन गराउनु योग हो भन्दै दिएको यी मार्गदर्शनभन्दा बाहिर गएर कल्पनामा ध्यान गराएर नाचगान र सकारात्मक कुराले सहभागीलाई प्रसन्न बनाउँछ जीवन विज्ञानले । जीवन विज्ञान धाम पनि प्रसन्नताकै लागि बनाउँदै छ । अध्यात्मका जानकारले प्रसन्नतामा तनाव हुन्छ, तनाव अहंसँग जोडिएको हुन्छ, लाज शब्द पराइपनको अभिव्यक्ति हो त्यसको सम्बन्ध पनि अहंसँग हुन्छ भन्छन् । त्यसैले अष्टावक्र गीता आठौँ अध्याय दोस्रो श्लोकले प्रसन्न नहुनु मुक्ति हो भन्ने कुराको विपरित गएर जीवन विज्ञानले मुक्तिको बाटो देखाउन दरबार छोडेका वुद्ध, अमेरिकन थियोसोफिकल सोसाइटीले खडा गरेको विश्व गुरुको सिंहासन त्यागेका जिद्दु कृष्णमूर्ति र आफ्नो नाममा खडा भएको समुदाय र ठुलो धनराशि इट सुड बि डिस्पोज्ड भन्ने रजनिश ओशोको नाम भजाएर जीवन विज्ञान धाम बनाउनु कदापि उचित होइन । मानिसलाई क्षणिक सुखको बन्धनमा पारेर दीर्घकालीन मुक्तिको लाभ लिन वञ्चित गरी अध्यात्मको ओज घटाउने कृयाकलाप मात्र हो यो ।

आश्रमका अग्ला पर्खालभित्र बलात्कारका घटना घटाउने आशाराम बापु जस्ताका कुकृत्यका घटना देखेकोले आश्रमभन्दा ठुलो कुरा अध्यात्मको सन्देश घर घर पुर्याउनु हो, आश्रम बनाउन लाग्ने संसाधन भारत र संसारभर अध्यात्मको सन्देश बाड्न अद्वैत फाउन्डेसन सञ्चालनमा उपयोग गरेको हुँ भन्छन् आचार्य प्रशान्त ।

जेनजी पुस्ताको ठुलो बलिदानले ठुलै अवसर र चुनौती सिर्जना गरेको छ । यस्तो विषम परिस्थितिको सही व्यवस्थापन अध्यात्मबाट मात्र संभव छ । आफू पपुलर हुन स्वजागरणको नारा लगाएको जीवन विज्ञानको पहलमा सरकारी निकायमा समेत सुरु गरिएको स्वजागरण ध्यान गीता पाठ गर्नेले गीताको मर्म विपरीतको व्यवहार गरे जस्तै हो । अहंलाई आत्मामा जोडनु सच्चा ध्यान हो जो मौन रही मनलाई म को हुँ भनी आत्मानुसन्धानमा लगाउदा घटित हुन्छ । उच्चपदस्थ सरकारी कर्मचारीले अफिस आउँदा बाटोमा लाग्ने समयमा सहजै गर्न सक्छ । यो महर्षि रमणको आत्मस्थ हुने सरल विधि हो, जुन आफूलाई सहज हुने जुनसुकै आसनमा भिडभित्र पनि गर्न सकिन्छ । वुद्धको विपश्यना ध्यानको विधि पनि सरल र आफू स्वयंतिर फर्किन ज्यादै प्रभावकारी छ ।

ध्यानमा गहिरिँदै जाँदा क्रोधित वा प्रसन्न नहुने, कुनै कुरा त्याग्ने वा ग्रहण गर्ने आदत छुटेर दुःख सुखभन्दा माथिको मुक्तिको अवस्थामा रही आनन्दित भइन्छ । आफू आनन्दमा पुगेसँगै अरूप्रति दया र करुणा जाग्दछ र निष्काम कर्म गराउँछ । निष्काम कर्मले उन्नति र प्रगतिको दिशामा उन्मुख गराउँदै शान्ति र समृद्धिको गन्तव्यमा पुर्याउँछ । त्यसैले आध्यात्मिक संस्था र व्यक्तित्वले अध्यात्ममा व्यावसायिक वुद्धि जोड्दै खेलवाड गर्ने होइन नेपाली जनजनमा अध्यात्मको सन्देश पुर्याउन जुम र सामाजिक संजालसमेत उपयोग गरेर देश निर्माणमा जुट्नु वाञ्छनीय देखिन्छ । (सौर्य अनलाइनबाट साभार)

२१ कार्तिक २०८२, बिहीबार ११:१९