/*php the_title();*/?>
नेपालको पछिल्लो राजनीतिक मोड, जेनजी आन्दोलनपश्चात देखिएको अवस्था, केवल सरकार फेरबदल वा संसद् विघटनको मामुली कुरा होइन, बरु सत्ता र नागरिकबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्ने ऐतिहासिक घडी हो ।

आरपी गैरे
अन्ततः जनदबाबको सामुअघि नतमस्तक हुन बाध्य सत्ता संरचनाले आफूलाई जोगाउनका लागि अन्तरिम सरकार गठन गर्नुपर्यो र नेतृत्वको जिम्मा सुशीला कार्कीलाई सुम्पियो । यो घटना केबल एउटा राजनीतिक नियुक्ति मात्र नभई दशकौँदेखि लुटिएका, उपेक्षित र दमनमा परेको जनचेतनाको बिस्फोट हो । आन्दोलनलाई दमन गरेर नियन्त्रण गर्न सकिन्छ भन्ने पुरानो अभ्यास यो पटक असफल भयो । त्यसले एक खतरनाक तर शक्तिशाली सत्य उजागर गरिदियो, जनतालाई, विशेषगरी नयाँ पुस्तालाई, लामो समयसम्म मौन गराइराख्न सकिँदैन ।
राजनीतिक परिवर्तनपश्चात देखिएको अवस्था बहुआयामिक छ । सडकमा रक्तपात, बलिदान र आक्रोशको घाउ ताजा छ । सत्ताबाट तस्करी गरेर बाँचिरहेका पुराना दलहरू शिथिल बनेका छन् । उनीहरूको प्रचार, नारा र विचारलाई आजको पुस्ताले ठाडो चुनौती दिएको छ । संसद् भत्किएको छ, सरकार अन्तरिम अवस्थामा छ, तर मुलुकको भविष्य यहीँबाट नयाँ दिशा लिन सक्छ वा फेरि अन्धकारतिर धकेलिन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ ।
अन्तरिम सरकार बने पनि नागरिकको शंका मेटिएको छैन । सडकमा उत्रिएका युवाहरूलाई केबल नेतृत्व फेरिएको देखेर सन्तुष्टि छैन । उनीहरूलाई संरचनात्मक सुधार चाहिएको छ –न्याय प्रणालीमा विश्वास पुनस्र्थापित होस्, शिक्षा र स्वास्थ्यलाई पहुँचयोग्य बनाइयोस्, भ्रष्टाचारलाई दण्डित गरियोस् र अवसर सबैलाई बराबरी वितरण होस् । यदि अन्तरिम सरकारले यी मुद्दा सम्बोधन गर्न सकेन भने आन्दोलन फेरि पनि भड्किन सक्छ ।
तर परिवर्तनसँगै अवसर पनि जन्मिएको छ । दशकौँसम्म पुराना पार्टीहरूले कब्जा गरेको राजनीतिमा पहिलोपटक युवा चेतनाले गहिरो धक्का दिएको छ । यसले विश्वभर सन्देश पठाएको छ कि नेपालको नयाँ पुस्ता केबल ‘भोट बैंक’ होइन, बरु ‘निर्णायक शक्ति’ हो । उनीहरूको उठानले अन्य मुलुकका युवाहरूलाई पनि प्रेरित गर्न सक्छ ।
तर, खतरा त्यति नै ठुलो छ – यदि नेतृत्व फेरि पुरानै ढर्रामा गयो भने जनतामा निराशा अझ प्रचण्ड विस्फोटको रूप लिन सक्छ । आज इतिहासले नेपाललाई एउटा अवसर दिएको छ, जहाँ जनचेतना र संस्थागत सुधारबीच सन्तुलन खोज्न सकिन्छ ।
यो परिवर्तनपछिको अवस्था केबल अस्थायी अन्तरिम सरकारको सवाल होइन, बरु नयाँ नेपाल जन्मिने कि पुरानै घाउ बल्झिने भन्ने निर्णायक क्षण हो । अबको राजनीति केबल दलको भागबन्डाको विषय बनेर रोकियो भने देश फेरि संकटतिर धकेलिनेछ । तर, यदि जनताको आक्रोशलाई नयाँ संवैधानिक अभ्यास, न्यायिक सुधार र पारदर्शी शासनमा परिणत गर्न सकियो भने, यो आन्दोलन नेपालको भविष्यको सबैभन्दा ठुलो वरदान बन्न सक्छ ।
नेपालको पछिल्लो अध्याय, विशेषगरी जेनजी आन्दोलन र त्यसपछि देखिएको राजनीतिक परिदृश्य, केवल शासन परिवर्तनको कुरा मात्र होइन – यो पुस्तागत विद्रोह र संरचनागत असफलताको खुला प्रमाण हो । सोमबार र मंगलबारका घटनाले देशको राजनीतिक नांगोपनलाई उजागर गरिदियो । सत्ताको उन्मादमा अन्धा बनेका दल र सरकारको प्राथमिकता नागरिकको जीवन होइन, आफ्नो शक्ति सुरक्षित राख्नु मात्र रह्यो । यही कारण शान्तिपूर्ण प्रदर्शनलाई गोली र लाठीको भाषा बोलियो, रगत बगाइयो, दर्जनौँभन्दा बढी युवा सहिद भए । कैयौँ घाइते अझै अस्पतालमा छन् ।
तर रक्तपातले आन्दोलनलाई दबाएन, बरु त्यसलाई ग्रामीण सडकसम्म पुर्याइदियो । काठमाडौँको चोकमा उठेको आवाज अहिले गाउँको चौतारीमा प्रतिध्वनित भइरहेको छ । पहिले सहरको मात्र मुद्दा भन्ने गरी उपेक्षित गरिएका मागहरू आज गाउँलेहरूको रगत र पसिनासँग मिसिएका छन् । असन्तुष्टि अब कुनै निश्चित घेराभन्दा बाहिर निस्किएको छ – यसले खेतबारीमा काम गर्ने किसानलाई, विद्यालयमा पढ्ने विद्यार्थीलाई, र परदेशिएका युवाको परिवारलाई पनि छोएको छ । राज्यको विश्वास गहिरो संकटमा परेको छ । यो आन्दोलनले दीर्घकालीन रूपमा ३ वटा प्रभाव अवश्य छोड्नेछ भन्ने अनुमान गर्न गाह्रो छैन ।
पहिलो, दलप्रतिको भरोसा झन् कमजोर हुँदै जानेछ । जसरी राणा, पञ्चायत र बहुदलीय कालखण्डले आफ्ना सीमाहरू पार गरेर पतन बेहोरे, वर्तमान दलतन्त्र पनि त्यही बाटोतर्फ अघि बढिरहेको छ । दोस्रो, जेनजी पुस्ताको चेतनाले नयाँ राजनीतिक विकल्प जन्माउनेछ । यो पुस्ता केबल सडकमा नाराबाजी गर्न सीमित छैन, उनीहरू डिजिटल प्लेटफर्ममा संगठित, अन्तर्राष्ट्रिय नेटवर्कमा जडित र निरन्तर संवादमा रहने क्षमता भएका छन् ।
तेस्रो, ग्रामीण तहमा फैलिएको असन्तुष्टि अब कुनै दल वा नेताको नियन्त्रणमा रहने छैन । यसले दीर्घकालीन रूपमा शक्ति केन्द्रित राजधानीको सन्तुलन तोड्नेछ र स्थानीय चेतनालाई राष्ट्रिय एजेन्डा बनाउन बाध्य पार्नेछ । तर, अवसर पनि त्यत्तिकै ठुलो छ ।
यदि अन्तरिम सरकारले आफ्ना पहिलो निर्णयमै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्यो, जनताको मागलाई संस्थागत सुधारमा परिणत गर्यो र न्यायिक निष्पक्षता देखाउन सफल भयो भने, यो आन्दोलनले नयाँ युगको ढोका खोल्न सक्छ । तर यदि फेरि पुरानै ढर्रामा, पुरानै अनुहारहरूको खेल चलाइयो भने, यो पुस्ताले अझ कठोर, अझ गहिरो विद्रोहको बाटो रोज्नेछ – जसको परिणाम अझै भयावह हुनसक्छ ।
राजधानीदेखि गाउँसम्म फैलिएको आक्रोश आज नेपालका सत्ताधारी वर्गका लागि चेतावनी बनेको छ । इतिहासले यसअघि पनि पटकपटक चेतावनी दिएको थियो, तर सत्ता सुनसान खेलमै रमाइरह्यो । अबको अवस्था भने भिन्न छ – सत्ताको गल्ती अब सजिलै माफ हुने छैन, र मौन बस्ने पुस्ता अब मौन बस्नेवाला छैन ।
यसपटकको उथलपुथल कुनै दलको आन्तरिक कलह वा नेतृत्वको स्वार्थी द्वन्द्व मात्र होइन, यो पुस्तागत विद्रोह हो, जसलाई रोक्ने शक्ति न त दलसँग छ, न त राज्य संयन्त्रसँग । सत्ताले आफ्नै हैसियत गुमाइसकेको छ, प्रहरी प्रशासन हतोत्साहित देखिन्छ, सेनासमेत मौन अवलोकनकर्ताजस्तै मात्र बाँकी छ । यस्तो अवस्थामा आन्दोलनकारी जेनजी पुस्ताले संयमता गुमाउने हो भने मुलुक अर्को भयावह दुर्घटनामा धकेलिने निश्चित छ ।
यस आन्दोलनको तरंग नेपालमै सीमित छैन । विश्वका शक्ति केन्द्रहरूले यसलाई सूक्ष्म दृष्टिले नियालिरहेका छन् । किनभने यो केबल राजनीतिक आन्दोलन होइन, यो पुस्तागत चेतनाको बिस्फोट हो । सामाजिक सञ्जाल, प्रविधि र वैश्विक चेतनाले जोडिएको यो पुस्ता केबल नेपालको सन्दर्भमा मात्र सीमित छैन, विश्वकै भविष्यको संकेत हो । जुन शक्ति वा नेतृत्वले उनीहरूको आवाजलाई बेवास्ता गर्छ, तिनको अस्तित्व दीर्घकालीन हुन सक्दैन भन्ने कठोर सत्य नेपालका घटनाले देखाइदिएको छ ।
नेपालले संसारलाई एउटा ठुलो शिक्षा दिएको छ, युवापुस्तालाई दमन गरेर शान्त राख्न सकिँदैन । हरेक गोली, हरेक लाठी प्रहारले उनीहरूलाई अझ बलियो, अझ दृढ बनाउँछ । तर उनीहरूको ऊर्जा नियन्त्रण बाहिर गयो भने, त्यो देशलाई भस्म पार्ने ज्वालामा परिणत हुन्छ । त्यसैले संवाद, समावेशिता र सहभागिता नै यो संकटको एक मात्र निकास हो ।
राजनीतिक दलहरूले यो सन्देश बुझ्नैपर्छ – जेनजी पुस्ता केवल सडकमा उभिने नाराबाज समूह होइन । उनीहरू शिक्षित छन्, प्रविधिमा पारंगत छन्, वैकल्पिक सोचसहित सज्जित छन् । उनीहरूले आफूलाई सत्ता संरचनामा देख्न चाहन्छन्, केवल दर्शकको हैसियतमा होइन । दलहरूले यदि अझै पनि उनीहरूको आवाजलाई उपेक्षा गरे भने, दल स्वयं इतिहासको पाना मात्रै बन्नेछन् । नेपालको राजनीति फेरि पनि एउटा निर्णायक मोडमा आइपुगेको छ, तर यसपटकको यात्रा अघिल्लाभन्दा फरक छ । विगतमा परिवर्तनका आन्दोलनहरू प्रायः दलहरूले आफ्नो अस्तित्व सुरक्षित गर्न, नयाँ शक्ति समात्न वा पुरानो सत्ता उल्ट्याउन चलाएका थिए । तर अहिले उठेको जेनजी पुस्ताको आन्दोलन भने मौलिक छ, यो युवाको भविष्यसँग गाँसिएको छ, जसले व्यक्तिगत आकांक्षा मात्र होइन, मुलुककै दीर्घकालीन आधारभूत स्वरूपलाई प्रश्न गरेको छ ।
विगत केही दशकको इतिहासले देखाएको छ, जब–जब युवाहरूलाई निराश बनाइयो, जब–जब उनीहरूको आशालाई लत्याइयो, मुलुक संकटमा पर्यो । २०४६ सालमा युवाहरूले लोकतन्त्रको झण्डा उठाए, तर त्यसलाई दलहरूले आफ्नो भागबन्डा र स्वार्थको खेल बनाइदिए । २०६२÷०६३ को जनआन्दोलनमा फेरि युवा सडकमा उत्रिए, सहिद भए, बलिदान दिए, तर परिणाम स्वरूप देश दलहरूको भ्रष्टाचार र नेतृत्वविहीनतामा अल्झियो । आज फेरि त्यही इतिहास पुनः दोहरिएको छ, तर फरक यही हो कि अहिलेको पुस्ता अघिल्लाभन्दा बढी सचेत, बढी प्रविधिसम्पन्न र बढी अन्तर्राष्ट्रिय चेतनासँग जडित छ ।
राजनीतिक परिवर्तन पछिको अवस्था अस्थिर, संवेदनशील र जोखिमपूर्ण छ । सत्ताले आफ्नो नैतिक बल गुमाइसकेको छ, प्रहरी र प्रशासन निष्क्रिय छन्, सेनासमेत मौन छ । यसबीच आन्दोलनकारी युवाहरूले संयमता गुमाए भने, हिंसा र अराजकता देशलाई भयानक दुर्घटनामा धकेल्नेछ । सरकारी संरचना जलाउने, नेताहरूलाई आक्रमण गर्ने वा अराजक गतिविधिमा मुछिने खतराले आन्दोलनको नैतिकता कमजोर पार्न सक्छ । अनि फेरि पुराना शक्तिहरू ‘व्यवस्था बचाउन’ को नाममा दमनकारी भूमिकामा फर्कन सक्छन् ।
तर संकटसँगै अवसर पनि छ । यदि यही युवापुस्ताले आफ्नो आक्रोशलाई नियन्त्रण गरेर आन्दोलनलाई सकारात्मक दिशातर्फ मोड्यो भने, मुलुकमा दीर्घकालीन परिवर्तनको जग बस्न सक्छ । संवाद, समावेशिता र सहभागितामार्फतै यस आन्दोलनले न्यायसंगत, पारदर्शी र उत्तरदायी राज्य संरचनाको खाका कोर्न सक्छ । यो आन्दोलन केबल सरकार बदल्ने कुरा होइन, यसले संविधान, नीति, प्रशासनिक संरचना र न्याय प्रणालीलाई नै पुनर्संरचना गर्ने सम्भावना बोकेको छ ।
राजनीतिक दलहरूले बुझ्नुपर्ने कुरा यही हो, युवा केबल नारा चिच्याउने वा भोट हाल्ने साधन होइनन् । उनीहरू सचेत नागरिक हुन्, जसले निर्णय लिन सक्छन्, सत्ता उल्ट्याउन सक्छन्, र नयाँ संरचना बनाउन सक्छन् । आजको जेन्जी पुस्ताले स्पष्ट सन्देश दिएको छ – अब दमनले होइन, संवादले मात्र व्यवस्था टिक्छ । (सौर्य अनलाइनबाट साभार)
३० भाद्र २०८२, सोमबार १२:३१