/*php the_title();*/?>
नेपालको उर्वर राजनीतिक भूमिले युगौँदेखि परिवर्तनका अनगिन्ती कथाहरू भन्दै आएको छ, जसको केन्द्रमा सधैँ युवाशक्तिको निर्णायक भूमिका रहिआएको छ । २००७ सालको प्रजातान्त्रिक क्रान्तिदेखि २०४६ र २०६२–०६३ सालको जनआन्दोलनसम्म, युवाहरूले नै समाजको मुहार फेर्न अग्रमोर्चा सम्हालेका थिए । तर, पछिल्लो समयमा देखापरेको जेनजी पुस्ताको आन्दोलनले नेपाली राजनीतिक क्षितिजमा एउटा नयाँ तरंग ल्याएको छ ।

विनोद पौडेल
यो आन्दोलन केबल आक्रोशको क्षणिक बिस्फोट थियो कि, यसको जरा दशकौँ लामो असन्तुष्टि, गहिरो निराशा र सम्भावित बाह्य प्रभावमा जेलिएको थियो ? यो बुझ्न नेपालको जटिल राजनीतिक पृष्ठभूमि, परम्परागत दलहरूको असफलता, जेनजी आन्दोलनको स्वरूप, यसका प्रमुख घटनाक्रम र त्यसपछिका प्रभावहरूको गहन विश्लेषण आवश्यक छ ।
जेनजी आन्दोलनलाई सतही रूपमा बुझ्नु नेपाली राजनीतिको मर्मलाई बुझ्न नसक्नु हो । यो कुनै ‘आकस्मिक’ घटना थिएन, बरु दशकौँदेखि थुप्रिएको जनताको पीडा, राजनीतिक बेथिति र सुशासनको अभावको चरम अभिव्यक्ति थियो । २०६२÷०६३ सालको जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग प्रशस्त गरे पनि, त्यसपछिका वर्षहरूमा राजनीतिक दलहरूले देशलाई स्थिरता र समृद्धिको दिशामा डोर्याउन सकेनन् । बारम्बार सरकार परिवर्तन, सत्ता गठबन्धनको खिचातानी र नेताहरूको व्यक्तिगत स्वार्थमा आधारित राजनीतिले आमनागरिकमा चरम निराशा पैदा गर्यो ।
आगामी निर्वाचनमा जेनजी पुस्ताको प्रभाव अझ प्रस्ट देखिनेछ । यदि परम्परागत दलहरूले आफ्नो कार्यशैलीमा सुधार ल्याउन सकेनन् भने, वैकल्पिक शक्तिहरू थप बलियो भएर आउनेछन् र नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु हुनेछ ।
जेनजी पुस्ता, जसले इन्टरनेट र विश्वव्यापी सूचनाको पहुँच पाएको छ, विश्वका उत्कृष्ट शासन प्रणाली र विकासका मोडेलहरूबारे जानकार छ । जब उनीहरूले आफ्नो देशमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक अस्थिरता देखे, उनीहरूको धैर्यको बाँध टुट्यो । शीर्ष नेताहरूमाथि लागेका भ्रष्टाचारका आरोप, सत्ता टिकाउन गरिने अनावश्यक सम्झौताहरू, अस्थिर राजनीतिक चरित्र र एकलौटी शासनको प्रवृत्तिले युवाहरूलाई निराश बनायो, ललिता निवास, यति होल्डिङ्स, नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता अनगिन्ती काण्डहरूमा नेताहरूको प्रत्यक्ष वा परोक्ष संलग्नताको आशंकाले जनविश्वास पूर्णरूपमा गुमायो ।
देशभित्र रोजगारीको अवसर नहुँदा लाखौँ युवाहरू हरेक वर्ष विदेश पलायन हुन बाध्य छन् । शिक्षामा पहुँच भए पनि त्यसअनुसारको काम नपाउनुले यो पुस्तामा आक्रोश र विद्रोहको भावना जगायो । उनीहरूलाई लाग्यो, पुराना दलहरूले अब देशलाई सही दिशामा डोर्याउन सक्दैनन् । यही पृष्ठभूमिमा सामाजिक सञ्जालमा ‘नो नट अगेन’ र ‘नेप्पो बेबी’ जस्ता ह्यासट्यागहरूले युवाहरूलाई एकजुट बनायो र आन्दोलनको बिउ रोपियो ।
जेनजी आन्दोलनको प्रारम्भिक स्वरूप शान्तिपूर्ण विरोध र सामाजिक सञ्जालमा अभिव्यक्त असन्तुष्टिमा सीमित थियो । प्रारम्भमा माइतीघर मण्डला, भद्रकालीजस्ता स्थानमा सीमित रहेको विरोध प्रदर्शनले बिस्तारै काठमाडौँका प्रमुख राजनीतिक केन्द्रहरूलाई लक्षित गर्न थाल्यो भने सिंगो मुलुकभरी नै यसको झिल्को सल्कियो । खासगरी, नयाँ बानेश्वरस्थित संसद् भवनको अगाडि प्रदर्शनकारीहरूको भिड बढ्न थाल्यो ।
संसद भवन, जहाँ देशका नीति नियम बन्छन्, त्यहीँबाट राजनीतिक बेथिति मौलाएको भन्दै युवाहरूले संसदलाई नै घेरा हाल्न पुगे । उनीहरूले संसद् भवन अगाडि नाराबाजी गरे, आफ्ना माग राखे र नेताहरूलाई जनताको आवाज सुन्न बाध्य पार्ने प्रयास गरे । संसद् भवन अगाडिको प्रदर्शनले एउटा बिन्दुमा अप्रत्यासित र दुःखद् मोड लियो । शान्तिपूर्ण भनिएको आन्दोलनमा ‘घुसपैठ’ भयो वा भिडको मनोविज्ञान नियन्त्रणबाहिर गयो, जे भए पनि यसले हिंसात्मक रूप धारण गर्यो । आन्दोलनकारीहरूले संसद् भवनको गेट भत्काउने प्रयास गरे, सुरक्षाकर्मीहरूसँग झडप भयो । यस क्रममा ढुंगामुढा, तोडफोड र आगजनीका घटनाहरू भए ।
संसद् भवनजस्तो संवेदनशील राष्ट्रिय सम्पत्तिमाथि भएको यो आक्रमणले देशभित्र र बाहिर व्यापक चासो र चिन्ता व्यक्त गर्यो ।यसको लगत्तै, आन्दोलनकारीहरूको एक समूहले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई पनि लक्षित गर्यो । सिंहदरबार नेपाल सरकारको मुख्य प्रशासनिक भवन हो, जहाँ विभिन्न मन्त्रालय र सरकारी कार्यालयहरू छन् । प्रदर्शनकारीहरूले सिंहदरबार परिसरमा प्रवेश गरेर त्यहाँ रहेका केही भवनहरूमा आगजनी गरे । यो कार्यले देशको प्रशासनिक मेरुदण्डमाथि नै आक्रमण भएको सन्देश दियो । सिंहदरबारमा आगजनी हुनु भनेको सरकारको उपस्थिति र राज्यको शक्तिलाई नै चुनौती दिनु थियो ।
सिंहदरबार मात्र होइन, न्यायालय, राष्ट्रपति भवन, प्रहरी कार्यालयहरू, राजनीतिक नेताहरूका निजी निवासहरू र व्यापारिक प्रतिष्ठानहरूमा समेत तोडफोड तथा आगजनीका घटनाहरू भए । यसो हुनुमा पहिलो दिनको आन्दोलनमा निकै युवाले ज्यान गुमाउनुलाई मानिन्छ । पहिलो दिनमा सरकारको तर्फबाट गोली नचलेको भए, प्रदर्शनकारीको ज्यान नगएको भए दोस्रो दिनको आन्दोलनले प्रवेश पाउँदैन थियो । दोस्रो दिनको घटनाले भने माथि उल्लिखित क्षति बेहोर्नुपर्ने पनि थिएन । जे नहुनुपर्ने थियो त्यही भयो त्यसलाई दुर्भाग्य मानौँ ।
जेनजी आन्दोलनले एउटा बिन्दुमा उग्र रूप लियो, जुन नेपाली समाजका लागि अप्रत्यासित थियो । ‘शान्तिपूर्ण’ भनिएको प्रदर्शन एकाएक हिंसात्मक गतिविधिमा परिणत भयो । नेपालका प्रमाणित नक्सालगायत महŒवपूर्ण अभिलेख तथा प्रमाणका कागजपत्र राखिएका ठाउँहरू खोजी खोजी जलाइएको दृश्यले धेरैलाई स्तब्ध बनायो र आन्दोलनको उद्देश्यमाथि गम्भीर प्रश्न उठायो । यसले नेपाली समाजमा गहिरो घाउ छोड्यो र राष्ट्रिय सम्पत्तिको ठुलो क्षति भयो । यस हिंसात्मक घटनाले आन्दोलनको शुद्धतामाथि प्रश्नचिह्न खडा गर्यो र यसमा ‘घुसपैठ’ भएको आशंकालाई बल दियो ।
जेनजी आन्दोलनलाई केबल ‘क्षणिक आवेग’ वा ‘लहड’ मात्र मान्नु यसको जटिलतालाई बेवास्ता गर्नु हो । यसको जगमा दशकौँदेखिको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक बेथितिले गाडेको थियो । युवाहरूको आक्रोश र परिवर्तनको चाहना स्वभाविक थियो । पछिल्लो समय नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसमेत गरेको हुँदा यसको आक्रोश पनि छँदै थियो । जुन कुरामा सरकारले आगोमा घिउ थपेजस्तो भयो ।
फलस्वरूपः वैकल्पिक रूपमा सञ्चालन भएका अन्य सामाजिक सञ्जालमै यसलाई संगठित र विस्तार गर्ने माध्यमको रूपमा काम गर्यो । कुनै एक निश्चित नेता वा दलले यसलाई नेतृत्व गरेको थिएन, बरु यो स्वतःस्फूर्त रूपमा उठेको जनआक्रोश थियो । तथापि, आन्दोलनमा देखिएको हिंसात्मक प्रवृत्ति र नेपालको राष्ट्रिय पहिचानमाथि प्रहार गर्नेजस्ता कार्यहरूले ‘बाह्य शक्तिको संलग्नता’ को आशंकालाई बलियो बनायो ।
नेपालको भूराजनीतिक संवेदनशीलताका कारण विदेशी शक्तिहरूको सधैँ चासो रहँदै आएको छ । कतिपय विश्लेषकहरूले देशमा अस्थिरता सिर्जना गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरूले यस आन्दोलनको दुरुपयोग गरेको हुन सक्ने टिप्पणी गरेका छन् । राष्ट्रिय सम्पत्ति माथिको आक्रमण र राष्ट्रिय प्रतीक जलाउने जस्ता कार्यहरूले आन्दोलनको मूल भावनालाई विकृत बनाएको र यसमा बाह्य एजेन्टहरूको हात रहेको सम्भावनालाई नकार्न सकिँदैन । यद्यपि, यसको ठोस प्रमाण अझै सार्वजनिक भएको छैन र धेरैजसो आरोपहरू अनुमानमा आधारित छन् ।
जेनजी आन्दोलनले नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूको उदयका लागि एउटा बलियो जग तयार गरेको छ । यसले परम्परागत राजनीतिको विकल्प खोजिरहेका जनतालाई आशाको दियो बालेको छ । वर्तमान सरकारमा, सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति युवा पुस्ताले ठुलो आशा राखेको छ, विशेषगरी सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा ।तर, नयाँ नेतृत्वसँग अनुभवको कमी र पुराना दलहरूको निरन्तर दबाबजस्ता चुनौतीहरू छन् ।
आगामी निर्वाचनमा जेनजी पुस्ताको प्रभाव अझ प्रस्ट देखिनेछ । यदि परम्परागत दलहरूले आफ्नो कार्यशैलीमा सुधार ल्याउन सकेनन् भने, वैकल्पिक शक्तिहरू थप बलियो भएर आउनेछन् र नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु हुनेछ । नेपालको भविष्य युवाहरूको सक्रिय सहभागिता, जिम्मेवार राजनीतिक नेतृत्व र इमानदार शासनमा निर्भर गर्दछ ।
यदि राजनीतिक शक्तिहरूले जनताको आवाजलाई सही रूपमा सम्बोधन गर्न सकेनन् र हिंसात्मक घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सकेनन् भने, अझ सशक्त र निर्णायक आन्दोलनको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । यसले देशलाई कुन दिशामा लैजान्छ, त्यो वर्तमानका नेताहरूको दूरदृष्टि र इमानदारीमा निर्भर हुनेछ ।(सौर्यअनलाइनबाट साभार)
७ आश्विन २०८२, मंगलवार १२:३९