जेनजी आन्दोलनको उकाली: सत्ता र विपक्ष दुवै तनावमा

टिका सुवेदी ।, सिन्धुपाल्चोक — जेनजी आन्दोलन दोस्रो दिन झन् चर्किँदा देशभर प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको तनाव नयाँ उचाइमा पुगेको छ। प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीहरूको आवासदेखि पार्टी कार्यालयसम्म तोडफोड र आगजनीका घटना भइरहेका छन्।

राजनीतिक शक्ति सन्तुलन हल्लिएको छ। एमाले र कांग्रेसभित्र असहजता स्पष्ट देखिन थालेको छ। केही नेताहरू सामाजिक सञ्जालमार्फत आफ्ना तर्क राख्दै स्थिति सामान्य पार्न खोजिरहेका छन् भने केहीलाई आफ्नै समर्थकहरूबाटै कठोर आलोचना भोग्नुपरेको छ। हिजो आदरको पात्र ठानिएका नेताहरू आज आक्रोशित भाषाको निशानामा परेका छन्।

माओवादी केन्द्र सुरुमा प्रतिस्पर्धी दलहरूलाई लक्ष्य बनाएको आगलागीलाई चुपचाप नियालिरहेको देखिए पनि आफ्नै नेतामाथि आक्रमण भएपछि चिन्ता प्रकट गर्न बाध्य भएको छ। कतिपय नेताहरू खुलै आमसभा र र्‍यालीमा सहभागी बनेर जेनजी आन्दोलनलाई समर्थन जनाइरहेका छन् भने कतिपय एमाले र कांग्रेसमाथि राजनीतिक रिस पोखिरहेका छन्।

रास्वपा भने सडकको उष्णता अनुभव गर्दै छ। आफ्नै संरचना ध्वस्त हुँदा पनि आन्दोलनले दिएको राजनीतिक अवसरलाई सदुपयोग गर्न खोजिरहेको देखिन्छ।

आन्दोलन कुन दिशातर्फ मोडिन्छ, यसको अन्तिम स्वरूप के हुन्छ भन्ने स्पष्ट छैन। तर एक कुरा प्रष्ट छ — स्थिति अब सहज नियन्त्रणको दायराभित्र छैन।

२४ भाद्र २०८२, मंगलवार १४:४३